काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। आइतबार एकै दिन सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम राखेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ निर्धारण भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य आइतबार तोलामा १३ सय ४५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ चुलिएपछि यसको असर स्थानीय बजारमा परेका हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स १ हजार ९ सय ९० डलर पुगेको छ। छिट्टै २ हजार डलर कट्ने अनुमान सुन व्यापारीले गरेका छन्।
अमेरिका र युरोपमा धमाधम ठूला बैंक समस्यामा परेपछि यसको असर सुनको मूल्यमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। उनका अनुसार बैंकहरु सङ्टमा पुगेपछि सुनको मूल्य अन्तर्राष्ट्रिय स्तरबाटै बढेर आएको हो।
‘अमेरिकाका ३ वटा बैंक बन्द भएको एक सातापछि फेरी स्वीजरल्याण्डको ठूलो बैंक क्रेडिट स्वीस पनि सङ्कटमा पुगेको समाचार आएको छ। बैंकहरु समस्यामा पर्न थालेपछि लगानीकर्ताहरुले सुनलाई सुरक्षित ठानेर लगानी बढाउँदा भाउ आकासिएको उनको भनाई छ।
सुरक्षित ठाउँमा लगानी गर्नेको सङ्ख्या बढ्दा सुनको माग बढेको हो’ शाक्य भन्छन्, ‘माग बढेपछि मूल्य बढ्नु स्वभाविक हो, यो मूल्य अझै बढ्ने सम्भावना देखिन्छ।’
केही समयअघि मात्र अमेरिकामा सिल्भर हेरिटेज बैंक बन्द भएको थियो। यस्तै अघिल्लो साता अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक बन्द भइसकेका छन्।
साथै स्वीजरल्याण्डको क्रडिट स्वीस बैंक पनि जोखिममा रहेको बताएइको छ। क्रेडिट स्वीस समस्यामा परेपछि अहिले स्वीट्जरल्याण्डको युबिएस बैंकले टेकओभर गर्नका लागि वार्ता भइरहेको छ। युबिएसले क्रेडिट स्वीसलाई टेकओभर गर्न ६ अर्ब डलर ग्यारेन्टी स्वीस सरकारबाट खोजेको छ।