दाङ। दाङका दशवटै पालिकामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेको हो।
आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पुर्याउने उद्देश्यले कार्यक्रम लागू भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बिमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए। चार वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बिमा गर्नेको सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ।
प्रमुख वलीका अनुसार जिल्लाका दशवटै पालिकामा ३२ हजार आठ सय बढीले बीमा गरेका छन्। हालसम्म १६ हजार नौ सय ३३ महिला र १५ हजार ८ सय ६७ पुरुषले बिमा गरेका हुन् । सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा १५ हजार ५ सय ९१ बिमित छन्।
तुलसीपुर उपमहानगरपालिकामा ७ हजार ७ सय ३८, लमही नगरपालिकामा १ हजार ७ सय ६७, बबई गाउँपालिकामा १ हजार ४ सय ३९, बङ्गलाचुली गाउँपालिकामा छ सय ७५, दङ्गीशरण गाउँपालिकामा ८ सय ९७, गढवा गाउँपालिकामा ७ सय ७९, राजपुर गाउँपालिकामा पाँच सय ३३, राप्ती गाउँपालिकामा एक हजार चार सय ४३ र शान्तिनगरमा एक हजार ४० बिमित रहेका प्रमुख वलीले जानकारी दिए।
उनका अनुसार हालसम्म बिमा गर्नेमध्ये सामान्य परिवारका १७ हजार ८ सय ३३, ज्येष्ठ नागरिक १० हजार २ सय ३६, अति अशक्त १ हजार ३ सय ५२, महिला स्वास्थ्य स्वयम्सेविका एक हजार १ सय ९१, एचआईभी सङ्क्रमित दुई सय २८, एमडिआर टिभी १० र लेप्रोसी रोगका चार जना छन्।
“आर्थिक रूपमा समस्यामा परेका परिवारलाई उपचार सेवा लिन सहजताका लागि बिमा कार्यक्रम ल्याइएको भए पनि चेतनाको अभावका कारण बीमा गर्नेको सङ्ख्या बढ्न सकेको छैन”, प्रमुख वलीले भने।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्युजा र बङ्गलाचुली अस्पतालले बिमा गरेबापत उपचारका लागि रकम उपलब्ध गराउँदै आएका छन्। रासस