काठमाडाैं। कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन्।
शनिबार सम्पन्न १९औं साधारणसभामा उनी कुल खसेको ४ सय ६८ मतमा २ सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २ सय ९ मत प्राप्त गरिन्।
संघ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहेर काम गरिसकेका छन्।
“संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व संघप्रति बढ्दो छ। आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु”, नवनिर्वाचित अध्यक्ष निरौलाले भने, “मैले घोषणा गरेका अधिकांश काम गर्नेछु ।
कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।” उपाध्यक्षमा कविता गेलालले १ सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले १ सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए।
यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले २ सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भए। सदस्यमा शीतल केसी सर्वाधिक ३ सय २ मत ल्याएर विजयी भए।
अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भएका। झन्डै ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ मतमात्र खसेको थियो ।