काठमाडौं। संगठित ठगी आरोपमा जेल चलान भएका व्यवसायी इच्छाराज तामाङले ऋण नतिरेपछि कर्मचारी सञ्चय कोषले सुन्धारास्थित तामाङको ‘सिटिसी मल’ लिलाम गर्न अदालतको आदेश कुरेर बसेको छ।
सञ्चय कोषले २०७८ चैत १८ गते काठमाडौं सुन्धारास्थित सिभिल ट्रेड सेन्टर (सिटिसी मल) लिलामीका लागि भनेर दोस्रोपटक ३५ दिने सूचना निकालेको थियो।
सिटिसी मल बनाउँदा लिएको ऋण नतिरेपछि सञ्चय कोषले २०७८ मंसिर ६ गते पहिलोपटक ३५ दिने सूचना प्रकाशित गरी तिर्न आउन भनेको थियो। कोषले ३५ दिनसम्म ऋण चुक्ता नभए धितो लिलामी गर्ने जानकारी सोही सूचनामार्फत गराएको थियो।
तर, लिलामी रोक्न तामाङले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। अदालतले तामाङको पक्षमा अन्तरिम आदेश दिँदै तत्काल लिलामी प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो। अदालतको आदेशअनुसार अहिले लिलामी प्रक्रिया रोकिएको छ।
उच्च अदालत पाटनबाट किनारा नलागेसम्म सिटिसी मल लिलामी प्रक्रिया स्थगित भएको कोषका प्रशासक जितेन्द्र धितालले बताए। ‘सिटिसी मलसँग हामीले लिने पैसा अब धेरै बाँकी छैन। २२ करोड रुपैयाँमात्रै हो,’ धितालले क्यापिटल नेपालसँग भने।
सिटिसी मलले सञ्चय कोषबाट ९६ करोड रुपैयाँ ऋण लगेको थियो। पछि उसले घटाउँदै २२ करोडमा आएको उनले जानकारी दिए।
‘त्यहाँ कबुल गरिएका पसलका मूल्य हेर्दा पनि ऋणभन्दा बढी नै सम्पत्ति हुने देखिन्छ। त्यसैले त्यहाँको ऋण असुली गर्न समस्या देखिँदैन। अदालतको ग्रिन सिग्नल कुरेका छौं,’ प्रशासक धितालले भने।
उनका अनुसार तामाङले सञ्चालन गरेको सिभिल सहकारीमा पैसा जम्मा गर्नेहरूको एउटा समूह छ। उनीहरूले पनि आफ्नो पैसाका लागि लफडा झिकिरहेका छन्। अर्को कुरा, तामाङले आफैं मुद्दा हालेका छन् र पसल–कबल लिएर बसेकाको पनि मुद्दा छ। तामाङले ऋण नबुझाएपछि कोषले अहिले सिटिसी मलको मूल्यांकन ८१ करोड रुपैयाँबराबर गरेको छ।
घरजग्गा व्यवसाय गर्न स्थापना भएको सिभिल स्टेटले कोषबाट ऋण लिएको थियो। तामाङ र उनका साझेदारले सुन्धारामा रहेको ६ रोपनी जग्गा र त्यसमा बनाएका १ सय ३२ एकाई पसल तथा कबल लिलामी गर्ने तयारीमा सञ्चय कोष छ।
सिभिल सहकारीमा बचतकर्ताको रकम ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले अध्यक्ष तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
सहकारी विभागको आग्रहअनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तामाङसहित १२ जनालाई असोज १८ मा काठमाडौंबाट पक्राउ गरेको थियो।
तामाङसहित १२ जनालाई सहकारी ऐन २०७४ को दफा १२२ विरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेको थियो।
सिभिल सहकारीका पूर्वअध्यक्षसमेत रहेका तामाङले सहकारीको ठूलो बचत हिस्सा आफूले स्थापना गरेका अन्य २२ कम्पनीमा लगानी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।