एजेन्सी। चीन अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो। दोस्रो ठूलो अर्थतन्त्र चीनमा सञ्चालित बैंकका ‘ब्रान्ड’ मूल्य उच्च छ। तीमध्ये चारवटा बैंकको ब्रान्ड मूल्य संसारकै महँगोमा पर्छ।
महँगो ब्रान्ड मूल्य भएका संसारका १० बैंकमध्ये चीनका मात्रै पाँचवटा छन्। बाँकी पाँच बैंक अमेरिकाका छन्। महँगो ब्रान्ड मूल्यका बैंकमा पहिलोदेखि चौथोसम्म चिनियाँको वर्चश्व छ।
संसारको सबैभन्दा बढी ब्रान्ड मूल्य भएको बैंक ‘इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना’ (आइसिबिसी) हो। आइसिबिसीको ब्रान्ड मूल्य ६९ अर्ब ५० करोड अमेरिकी डलरबराबर पुगेको छ।
यस्तै दोस्रो स्थानमा चाइना कन्स्ट्रक्सन बैंक छ। उसको ब्रान्ड मूल्य ६२ अर्ब ७० करोड डलर पुगेको छ।
तेस्रो स्थानमा रहेको एग्रिकल्चर बैंक अफ चाइनाको ब्रान्ड मूल्य ५७ अर्ब ७० करोड र चौथो स्थानको बैंक अफ चाइनाको ब्रान्ड मूल्य ४७ अर्ब ३० करोड डलर पुगेको छ।
सन् २०१९ देखि आइसिबिसी पहिलो, चाइना कन्स्ट्रक्सन दोस्रो, एग्रिकल्चर तेस्रो र बैंक अफ चाइना चौथो स्थानमा छन्। आइसिबिसीपछि तीन स्थान पनि चिनियाँ बैंकले ओगटेका छन्। ती सबै सरकारी स्वामित्वका बैंक हुन्।
उता, पाँचौंदेखि नवौं स्थानसम्म अमेरिकी बैंक छन्। ब्रान्ड मूल्यका आधारमा पाँचौं स्थानमा बैंक अफ अमेरिका छ। उसको ब्रान्ड मूल्य ३८ अर्ब ६ करोड डलरबराबर छ।
छैठौं स्थानको वेल्स फार्गो बैंकको ब्रान्ड मूल्य ३३ अर्ब, सातौं स्थानको जेपी मोर्गान बैंकको ब्रान्ड मूल्य ३१ अर्ब ८० करोड, आठौं स्थानको सिटी बैंकको ब्रान्ड मूल्य ३० अर्ब ६० करोड र नवौं स्थानको चेज बैंकको ब्रान्ड मूल्य ३१ अर्ब ३० करोड डलरबराबर छ।
तर, १०औं स्थानमा चीनकै चाइना मर्चेन्ट बैंक छ। उसको ब्रान्ड मूल्य २४ अर्ब ५० करोड डलरबराबर छ। चाइना मर्चेन्ट २०२१ देखि लगातार १०औं स्थानमा छ।
चीनका पाँच बैंकको ब्रान्ड मूल्य २ खर्ब ६२ अर्ब डलरबराबर छ। यस्तै अमेरिकाको बैंकहरूको भने १ खर्ब ६५ अर्ब डलरमात्र छ।
चिनियाँ बैंकहरूसँग सेवाका लागि ठूलो बजार छ। जसले उनीहरूको ब्रान्ड मूल्य उठाउन मद्दत गर्दछ। उदाहरणका लागि आइसिबिसीले ५० करोडभन्दा बढी व्यक्तिका साथै लाखौं व्यापारिक ग्राहकलाई सेवा दिन्छ।
यसको सम्पत्ति सन् २०२२ डिसेम्बरमा ५५ खर्ब र आम्दानी १ खर्ब ४३ अर्ब डलर छ। आइसिबिसी संसारको सबैभन्दा ठूलो बैंक हो। बैंक स्थापना ३९ वर्षअघि १९८४ मा भएको थियो।
हालका वर्षमा धेरै विवादबीच अमेरिकाको वेल्स फारगो आठौंबाट छैठौंमा पुगेको छ। विवादबीच पनि ठूला
संस्थाले पुनः आफ्नो हिस्सा बढाउन सक्छन भन्ने देखाएको छ।
(भिजुअल क्यापटलिस्टको सहयोगमा)