काठमाडौं । विशेष अदालतले नौ सिमेन्ट उद्योगका सञ्चालकविरुद्ध परेको भ्रष्टाचार मुद्धामा सफाइ दिएको छ।विशेष अदालतका न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीलाल थारुको इजालासले शुक्रबार उनीहरू सबैलाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ सिमेन्ट उद्योगलाई खानी उत्खनन अनुमति दिँदा १ अर्ब २४ करोड ४५ लाख २६ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित २०७८ माघ १२ मा विशेष अदालतमा आरोपत्र दायर गरेको थियो।
यस्तै खानी विभागका तत्कालिन महानिर्देशक रामप्रसाद घिमिरेलाई पनि भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।
अख्तियारले हचुवाको भरमा विना अध्ययनै नौ सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको परिमाणभन्दा बढी चुनढुंगा निकालेको क्षतिपूर्ति नलिई राजस्वमा घाटा गराई भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
खानी तथा भूगर्भ विभागबाट अनुमतिपत्र लिएको भन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको दाबी अख्तियारको थियो।
अख्तियारले सिद्धार्थ मिनरलका सञ्चालक पशुपति मुरारका, सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्टका सरद गोयल, अन्नपूर्ण क्वेरिजका ऋषि अग्रवाल, उदयपुर मिनरलका प्रवलजंग पाण्डे युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्सका निपेश तायल, कञ्चन क्वेरिजका भीमबहादुर थापा र डोलमाइन्ट चुनढुंगाका मानबहादुर श्रेष्ठसहित ९ जना कर्मचारीविरुद्ध १ अर्ब २६ करोड १९ लाख रुपैंया बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
तर, अख्तियारको आरोप पुष्टि हुन नसकेपछि विभागका तत्कालीन महानिर्देशक घिमिरेलगायत नौ सिमेन्ट उद्योगका सञ्चालकले सफाइ पाएका हुन्। अख्तियारले विस्तृत अध्ययन नगरी उद्योगीमाथि मुद्दा लगाएको देखिएको छ। ा