काठमाडौं। डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। एसाेसिएसनको शुक्रबारको चितवनमा सम्पन्न १७ औं वार्षिक साधारणसभाले उपाध्यक्षमा बोधराज देवकोटालाई निर्वाचित गरेको छ।
देवकोटा महालक्ष्मी विकास बैंकका सिइओ हुन्। यस्तै सचिवमा सिन्धु विकास बैंकका सिइओ रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सिइओ नरेशसिंह बोहरा निर्विरोध चयन भएको एसोसिएसनले जनाएको छ।
एसोसिएसनका सदस्यहरूमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका सिइओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सिइओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका सिइओ डा.इन्द्र कट्टेल निर्विरोध निर्वाचित भएका छन्।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैको सहयोगबाट विकास बैंकहरूको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए। आजका विकास बैंकहरू व्यवसायका दृष्टिकोणबाट हिजोका वाणिज्य बैंकहरू जस्तै हुन्।९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरूको उपलब्धि हो’, उनले भने।
नवनियुक्त कार्यसमितिका पदाधिकारीहरूको शपथ ग्रहणसमेत सम्पन्न भइसकेको छ । सभामा अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड-१९, रुस–युक्रेन युद्ध, बढ्दो मुद्रास्फीतिलगायतका कारणले अहिले बैंकिङ क्षेत्रलाई निकै नै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताए ।
सबै सदस्य बैंकहरूलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन उनले अनुरोध गरे ।