काठमाडौं। संघीय राजधानीको प्रमुख पर्यटन गन्तव्य ठमेल छेउमै निर्माणाधीन चारतारे होटलसहितको ‘बाराही प्लाजा’ को लगानी बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
कम्पलेक्ससहित चारतारे स्तरको होटल सञ्चालन गर्न मुलुककै दोस्रो ठूलो पर्यटन गन्तव्य पोखराको बाराही ग्रुपले निर्माण गरिरहेको बाराही प्लाजाको निर्माण अवधि लम्बिँदा लगानीसमेत बढेको हो।
बाराही ग्रुपका सञ्चालक विप्लव पौडेलले ८० करोड लागत अनुमान गरी निर्माण सुरु गरिए पनि कोरोना महामारी र जारी आर्थिक मन्दीका कारण ढिलाइ हुँदा अस्वाभाविक लागत बढेको जानकारी दिए।
‘कोरोनाका कारण दुई वर्षभन्दा बढी समय निर्माण कार्य रोकियो,’ सञ्चालक पौडेलले क्यापिटल नेपालसँग भने, ‘त्यसपछि जारी आर्थिक मन्दीका कारण निर्माणजन्यसहित होटलका लागि आवश्यक सम्पूर्ण सामग्रीको मूल्यवृद्धिको प्रत्यक्ष असर भोग्नुपर्यो।’
२०८० वैशाखभित्रै होटल तथा कम्प्लेक्स सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी तीव्र गतिमा थालिएको उनले जानकारी दिए। अहिले होटलमा चाहिने सामानको मूल्यसमेत अधिकरूपमा बढेको र चीनले भर्खरैमात्र हवाई सञ्जाल खोलेका कारण अब भने केही सहज हुने उनको अनुमान छ।
बाराही प्लाजाको तीन तलासम्म सपिङ मल र चारदेखि नौ तलासम्म होटल सञ्चालन हुने कम्पनीले जनाएको छ। बाराही हस्पिटालिटीद्वारा सञ्चालन हुने होटलको नाम भने ‘होटल बाराही काठमाडौं’ राखिएको छ।
होलटमा आठ सुइट र ७२ डिलक्स गरी ८० कोठा हुनेछन्। कफी सप, रेस्टुरेन्ट र बारसँगै आठौं तल्लामा भने स्विमिङ पुल रहने सञ्चालक पौडेलले जानकारी दिए।
ठमेलको बाराही होटलले क्षेत्रीय विविधता दिने अपेक्षा छ। सपिङमलले आम्दानीमा विविधिकरण गर्ने कम्पनीको भनाइ छ। यसपछि बाराही ग्रुपको पोखरा, चितवन र काठमाडौंमा समेत बलियो उपस्थिति हुनेछ।
काठमाडौंमा पहिलो होटलका रूपमा सञ्चालनमा ल्याउन लागेको होटलले अहिले कर्मचारी माग गरेको छ।
सन् १९७८ मा पोखरामा स्थापना भएको होटल बाराही २०१४ मा प्रालिमा रूपान्तरण भएको थियोे। होटलमा हरिप्रसाद पौडेललगायत परिवारको स्वामित्व छ।
ग्रुपले पोखरा लेकसाइडमा होटल बाराही र सराङकोटमा सराङकोट माउन्टेन रिसोर्ट एन्ड स्पा, चितवन मेघौलीमा बाराही जंगल लजलगायत उच्चस्तरीय होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ। बाराही ग्रुपले नै अहिले पोखरामा पाँचतारे होटल पनि निर्माण गरिरहेको छ।