काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा विद्युतकाे तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने काम गर्न थालेको लामो समय भइसकेको छ। तर, प्राधिकरणले सडक विभागको अनुमति नपाउँदा तार 'अन्डरग्राउन्ड'का काम लगभग ठप्प अवस्थामा छ।
विद्युत् प्राधिकरणले पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रमा तार 'अन्डरग्राउन्ड'का लागि बोलपत्र आह्वान गरेर काम थालेको थियो। सबैभन्दा पहिले काम सुरु गरेको क्षेत्रमा पनि काम सम्पन्न त भएको छैन नै तार अन्डरग्राउन्ड गर्ने काम नै हाल आशिंक रूपमा बाहेक कार्यान्वयनमा आउन सकेको छैन।
प्राधिकरणका अनुसार अहिलेसम्म सबैभन्दा बढी तार अन्डरग्राउन्डको काम महाराजगन्ज क्षेत्रमा भएको छ। महाराजगन्ज वितरण केन्द्रमा लगभग ७० प्रतिशतभन्दा बढी तार अन्डरग्राउन्डको काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ। यस वितरण केन्द्रअन्तर्गतको रिङरोड पर्ने क्षेत्रहरूमा विशेष गरी तार अन्डरग्राउन्डको काम सुरु हुन सकेको छैन।
त्यस्तै रत्नपार्क वितरण केन्द्रअन्तर्गतको न्युरोड, पुतलीसडक, बानेश्वर, कोटेश्वरलगायतका ठाउँमा पनि विद्युत अन्डरग्राउन्डको कामले गति लिन सकेको छैन। रत्नपार्क क्षेत्रअन्तर्गतका यी क्षेत्रमा लगभग ४५ प्रतिशत तार अन्डरग्राउन्ड भएको छ भने ६० प्रतिशत बाँकी छ।
तेस्रो आयोजना काठमाडौंका कुलेश्वर, कोटेश्वर, जोरपाटी लगायतका ठाउँमा लगभग भने ४० प्रतिशत मात्र काम भएको छ। यस अन्तर्गतका केही सासाना ठाउँहरू तथा नगरपालिकाका केही क्षेत्रहरूमा आंशिक रूपमा काम जारी भए पनि पूर्णरूपमा भने काम सञ्चालन हुन सकेको छैन। कम्पनीले एउटा साइटको एकैपटक पूर्ण अनुमति नपाई काम सुरु गर्न नमान्ने भएकाले यसमा पूर्णरूपमा काम हुन नसकेको प्राधिकरणले जनाएको छ।
यी ठाउँलगायत ललितपुर, भक्तपुर, भरतपुर र पोखरामा पनि तार अन्डरग्राउन्डको काम जारी छ। यी क्षेत्रमा विशेषगरी ठेकेदारले गरेको ढिलाइका कारण केही समय अघिदेखि तार अन्डग्राउन्डको कामले गति लिन नसकेको पनि अहिले अधिकांश क्षेत्रमा कामले गति लिएको प्राधिकरणका सूचना अधिकारी भोलानाथ शर्माले जानकारी दिए।
सडक विभागको अनुमतिको पर्खाइमा प्राधिकरण
विद्युत् प्राधिकरणले तार अन्डरग्राउन्डका लागि सडक विभागसँग अनुमति माग्ने गर्छ। सडक विभागले काम सञ्चालन गर्न अनुमति दिएका ठाउँहरूमा मात्र प्राधिकरणले आयोजनाको काम अगाडि बढाउँछ। उपत्यकाका थुप्रै ठाउँमा तार अन्डरग्राउन्डको काम सञ्चालन गर्न प्राधिकरणले सडक विभागको अनुमति कुरिरहेको छ।
पहिलो आयोजनाको रुपमा रहेको महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने रिङरोडमा प्राधिकरणले तार अन्डरग्राउन्डको काम सञ्चालनको अनुमति कुरेको लामो समय भइसकेको छ। रिङरोडमा सडक विस्तार विषय सर्वेक्षणको चरणमा रहेकाले प्राधिकरणले यो क्षेत्रमा काम अगाडि बढाउन अनुमति पाएको छैन।
‘महाराजगन्जमा यतिबेलासम्म तार अन्डरग्राउन्डको काम सम्पन्न भइसक्नुपर्ने हो,’ शर्माले क्यापिटल नेपालसँग भने, ‘तर रिङरोड विस्तारले समयमा अनुमति नपाउँदा यो क्षेत्रमा लगभग ३० प्रतिशत काम अझै बाँकी छ।’ शर्माका अनुसार शीतलनिवासदेखि बालुवाटारसम्ममा काम अगाडि बढाउने अनुमति नपाउँदा प्राधिकरणले यो क्षेत्रमा तार अन्डरग्राउन्डको काम सञ्चालन गर्न सकेको छैन।
शीतलनिवासदेखि बालुवाटारसम्म मात्र होइन अनुमति प्राप्त नगर्दा प्राधिकरणले नारायणगोपाल चोकदेखि गंगलाल हृदय रोग अस्पतालसम्म पनि काम अगाडि बढाउन सकेको छैन। काठमाडौंका कुलेश्वर, कोटेश्वर र जोरपाटी लगायतका क्षेत्रमा पनि पूर्णरूपमा काम अगाडि बढाउन प्राधिकरणले विभागसँग अनुमति मागेको छ। तर, यो क्षेत्रमा पनि अनुमति नपाउँदा तार अन्डरग्राउन्डको कामले गति लिन सकेको छैन।
‘यीलगायत विभिन्न चार/पाँच खण्डहरूमा हामीले काम अगाडि बढाउन विभागको अनुमति कुरिरहेका छौं, विभागबाट पनि चाँडै नै अनुमति आउने कुरा आइरहेको छ,’ शर्माले भने ‘वैशाख लागेदेखि नै पानी पर्ने मौसम सुरु हुन्छ।
हामीले त्योभन्दा अगाडि नै काम सक्काउनुपर्ने हुन्छ। त्यस कारण पनि हामी निरन्तर रूपमा काममा लागि रहेका छौं।’ उनले यसरी अनुमति नपाएर काम अगाडि बढाउन नसकेको ठाउँहरूमा अनुमति प्राप्त गरे तार अन्डग्राउन्डको काम सम्पन्न गर्न धेरै समय नलाग्ने दाबी गरे।
घरघर तार पुर्याउने कामपछि पोल हटाउन सुरु गरिने
विद्युत प्राधिकरणले अन्डग्राउन्डको कामसँगै अर्को योजनाको रुपमा तारलाई घरघर लग्ने काम पनि गरिरहेको छ। ‘अहिले हाम्रो आयोजनाले बक्ससम्मको काम गरिरहेको छ,’ शर्माले भने ‘यो सँगै अर्को आयोजनाको रुपमा तारलाई घरघर लग्ने काम पनि सुरु भइसकेको छ।’
उनले घरघर लग्ने काम सुरु भए पनि यसका लागि भने अझै केही समय लाग्न सक्ने जानकारी दिए। घरघर पुराउने योजना सम्पन्न भएपछि भने सहरको कुरुपको रुपमा रहेको विद्युतको पोलहरू हटाउने काम प्राधिकरणले गर्ने छ।
‘पोल हटाएपछि इन्टरनेट सेवा प्रदायक लगायतको तार व्यवस्थापनका लागि हामीले तीनवटा पाइप एकैपटक बिच्छाउने काम गरिरहेका छौं,’ शर्माले भने, ‘जसमा प्राधिकरणले एउटा, अन्य सरकारी कुराका लागि एउटा र अप्टिकल फाइबर राखेर लिज गर्न एउटा पाइप प्रयोग गर्ने सम्झौता भएको छ।’
उनले यसअनुसार नै विद्युत्का तारको साथमा सेवा प्रदायकको तार पनि व्यवस्थापन हुने जानकारी दिए। यो कामलाई जतिसक्दो छिटो सक्न प्राधिकरणले निरन्तर काम गरिरहेको उनको भनाइ छ। केही समय लागे पनि यो कामले सफलता पाउने उनले बताए।
गएको ७६ साल भदौ ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को तारलाई भूमिगत गर्ने कामको औपचारिक उद्घाटन गरेका थिए। त्यसपश्चात् पहिलो चरणमा रत्नपार्क, न्युरोड, असन, ठमेल, लाजिम्पाट हुँदै महाराजगन्ज र दोस्रो चरणमा बानेश्वर एयरपोर्ट हुँदै चाबहिल र तेस्रो चरणमा बौद्धसम्मका बिजुलीका तार भूमिगत गरिने योजनाअनुरूप प्राधिकरणले काम सुरु गरेको थियो।
तारको कारणले सहर कुरुप र अव्यवस्थित देखिएकाले तारलाई अन्डरग्राउन्ड गरेपछि व्यवस्थित हुने र सुन्दर सहर बनाउने योजनाअनुरुप तार अन्डरग्राउन्डको काम सुरु भएको हो। कोरोना महामारीको समयमा भएको निषेधाज्ञा लगायतका विभिन्न कारणले तार अन्डरग्राउन्ड गर्ने कामलाई असर पुर्याएको थियो। त्यसपछि सो कामले पुनः आयोजनाले तीव्रता पाए पनि हाल भने सडक अनुमति नपाउँदा सोचेअनुरुप काम अगाडि बढ्न सकेको छैन।
जमिन बाहिर तार राख्दा असुरक्षा बढेको, प्रसारण लाइनका लागि जग्गा पाउन समस्या भएको, सहरी सुन्दरता हराउँदै गएको लगायतका समस्या देखिएको भन्दै प्राधिकरणले जमिनमुनि तार राख्ने काम अगाडि बढाएको भए पनि यी र यस्ता विषय देखाएर आयोजनालाई सम्पन्न गर्न सकेको छैन।