काठमाडौं। नेपालसँग हवाई सम्झौताका लागि अमेरिकाले चासो नदेखाएको पाइएको छ। नेपालले हवाई सम्झौताका लागि आवश्यक मस्यौदा अमेरिकी नागरिक उड्डयन क्षेत्रको नियामक निकाय ‘फेडेरल एभिएसन एडमिनिस्ट्रेसन’ (एफएए) लाई पठाए पनि उताबाट कुनै जवाफ नआएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
हवाई सम्झौताका लागि आवश्यक मस्यौदा गत कात्तिकमै अमेरिका पठाइए पनि हालसम्म कुनै प्रतिक्रिया नआएकाले तत्कालै सम्झौतापत्रमा हस्ताक्षर हुने सम्भावना न्यून रहेको सहसचिव लामिछानेको भनाइ छ।
‘हामीले पत्राचार गरे पनि अमेरिकाबाट कुनै प्रतिक्रिया आएको छैन,’ सहसचिव लामिछानेले क्यापिटल नेपालसँग भने, ‘अबको नयाँ प्रक्रिया कुटनीतिक पहलमार्फत हुनेछ।‘
गत जुलाई (असार–साउन) मा दक्षिण कोरियामा सम्पन्न एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन नियामक निकायका प्रमुखहरूको सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरण र अमेरिकाको एफएएबीच हवाई सम्झौताका लागि प्रारम्भिक सम्झौता भएको थियो।
प्रारम्भिक सम्झौता गर्दा देखि नै पर्यटन मन्त्रालय भने नागरिक उड्डयन प्राधिकरणसँग बिच्किएको थियो। खासगरी हवाई सम्झौता गर्न यसअघि मन्त्रालयको नागरिक उड्डयन महाशाखाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोमा पछिल्लो समय प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी आफैं अग्रसर भएको भन्दै मन्त्रालयका केही अधिकारीले त्यही बेला असन्तुष्टि जनाएका थिए।
मन्त्रालयका अधिकारीहरू असन्तुष्ट हुदाहुँदै गत कात्तिकमा मन्त्रिपरिषदले अमेरिकासँग हवाई सम्झौताका लागि स्वीकृति दिएको थियो। तर, मन्त्रिपरिषद फेरबदल भएसँगै अहिले हवाई सम्झौताको विषय सेलाएको छ।
हुन त अहिले पनि कहिलेकाहीँ चार्टर उडानमार्फत केही जहाज अमेरिकाबाट नेपाल आउने गरेका छन्। तर, नेपाली वायुसेवाका जहाज भने जान पाउँदैनन्।
दुईपक्षीय सम्झौता भएको भए नेपालबाट अमेरिका सिधा उडान गर्न पाइन्थ्यो। हाल अमेरिकामा जान विभिन्न देशमा यात्रुले लामो समय ‘ट्रान्जिट’ बस्नुपर्ने बाध्यता झेल्दै आएका छन्। त्यतिमात्र नभई, सिधा उडान नभएको मौका पारी सीमित एयरलाइन्सले मात्र उडान गर्दा हवाई भाडासमेत महँगो तिर्दै आएका छन्।
सम्झौता भए अमेरिकी वायुसेवा कम्पनीहरू पनि सोझै नेपाल आउन पाउँछन्। अहिले पनि अमेरिकी जहाजहरू भारतसम्म आइरहेका छन्। हवाई सेवा सम्झौता भए उनीहरूले भारतबाट नेपाल आएर यात्रु लिएर जान सक्नेछन्।
नेपालले हाल ४० देश र युरोपेली युनियन (ईयु) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ। तीमध्ये २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। सरकारले पछिल्लोपटक अस्ट्रेलियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको थियो।
अमेरिकासँगको हवाई सम्झौतापछि अमेरिकाको युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, नेपालका तर्फबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले उडान गर्नसक्ने जनाइएको छ।
हाल नेपालमा टर्किस एयरलाइन्स, कतार एयरवेज, सिंगापुर एयरलाइन्स, एरोथाइ एयरलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन्।