काठमाडौं। अर्थतन्त्रको चक्र खल्बलिएसँगै उधारो नउठेपछि धमाधम 'बैंक ग्यारेन्टी क्लेम' (दाबी) बढ्न थालेको छ। १४ महिनादेखि अर्थतन्त्रमा समस्या पैदा भएको र उधारो उठ्न छाडेपछि व्यवसायीले धमाधम बैंक ग्यारेन्टी दाबी गरेर नगद झिक्न थालेका छन्।
सामान्यतया उद्योगी-व्यवसायीले आफूमातहतका व्यवसायीलाई बैंक ग्यारेन्टी लिएर सामान उधारोमा दिन्थे। उधारो लैजाने पार्टीले एउटै बैंक ग्यारेन्टीबाट लामो समयसम्म कारोबार गर्थे।
तर, १४ महिनादेखि अर्थतन्त्रमा समस्या देखिएको र त्यसको केही समयलगत्तै उधारो उठ्न छाडेपछि उधारो दिने उद्योगी/व्यवसायीले धमाधम बैंक ग्यारेन्टी क्लेम गरिरहेको बैंकहरूले बताएका छन्।
एउटा व्यवसायीले बैंक ग्यारेन्टी दिएर सुरुमा एक/दुई ट्रक सामान उधारोमा लैजान्थे। दुई महिनापछि पार्टीले उक्त सामान बेचेर पुरानो उधारो चुक्ता गरेर सोही बैंक ग्यारेन्टीमै नयाँ सामान उधारोमा पाउँथे।
त्यसैगरी, अर्थतन्त्रको चक्र निर्माण भएको थियो। तर, अहिले त्यो चक्र बिग्रिएपछि उधारो लैजाने पार्टीले तिर्न सकेन र उधारो दिने पार्टीले धमाधम बैंक ग्यारेन्टी क्लेम गरिरहेका छन्।
एक बैंकरका अनुसार अहिले बैंकमा बैंक ग्यारेन्टी दाबी गरिपाउँ भन्नेहरू बढिरहेका छन्। नेपाल राष्ट्र बैंकको नियमअनुसार पार्टीले बैंक ग्यारेन्टी दाबी गरेको एक साताभित्र उसलाई रकम उपलब्ध गराइसक्नुपर्छ।
उधारो दिनेले ग्यारेन्टी क्लेम गरेपछि उक्त रकम ऋणमा परिणत हुन्छ। केन्द्रीय बैंकको नियमअनुसार तीन महिनाभित्र उक्त रकम बैंकलाई भुक्तानी नगरेको अवस्थामा सतप्रतिशत 'प्रोभिजन' गर्नुपर्ने हुन्छ।
अहिले अर्थतन्त्र समस्यामा भएका बेला बैंक ग्यारेन्टी लैजानेले ऋण तिर्न सक्ने अवस्था छैन। यस्तो बेला बैंकको ऋण पनि बढ्ने र प्रोभिजन (खराब कर्जावापत व्यवस्था) पनि वृद्धि हुने देखिन्छ।
उधारो दिने पार्टी र लिनेबीच पनि व्यावसायिक सम्बन्धमा ठूलो दरार पैदा भइरहेको छ। वर्षौंदेखिको व्यावसायिक सम्बन्ध बिग्रिने वातावरण पनि बन्दै गएको छ।
उधारो दिने पार्टीले अन्तिम विकल्पका रूपमा बैंक ग्यारेन्टी क्लेम गर्न थालेका हुन्। ‘आफूले आर्थिक व्यवस्थापन गरिरहँदासम्म बैंक ग्यारन्टी क्लेम गर्दैनन्,’ एक उद्योगीले भने, ‘आफ्नै इज्जत धरापमा पर्न थालेपछि व्यावसायिक सम्बन्ध हेरेर पनि भएन।’
नेपाल बैंकर्स संघका अनुसार बैंक ग्यारेन्टी क्लेम गरेर उधारो उठाउने कार्यले तीव्रता पाएको छ। यसरी बैंक ग्यारेन्टी दाबी गर्नेबित्तिकै उधारो लिनेहरूमा थप दबाब आउँछ। किनभने, तीन महिनाभित्र बैंक ग्यारेन्टीबापतको रकम बैंकलाई भुक्तानी नगर्ने बित्तिकै सतप्रतिशत प्रोभिजन गर्नुपर्छ । उसै पनि आर्थिक अवस्था दयनीय बनिरहेका बेला थप ब्याज महँगो हुने बित्तिकै उनीहरू झन् अप्ठ्यारो स्थितिमा पुग्ने बैंकहरू बताउँछन्।
धेरैजसो व्यवसायीले बैंक ग्यारेन्टी लिएरमात्रै उधारो दिएका हुन्छन्। थोरैमात्रै व्यक्तिगत सम्बन्धका आधारमा उधारो जाने गर्छ। त्यसो हुँदा उधारो दिने पार्टीले बैंक ग्यारेन्टी क्लेम गरेर भए पनि आफ्नो उधारो उठाउँछ।
व्यवसायीका अनुसार निर्माण व्यवसायीको सबैभन्दा बढी बैंक ग्यारेन्टी क्लेममार्फत नगद उठाउने कार्य भइरहेको छ। अहिले हरेक बैंकमा ४० वटासम्म बैंक ग्यारेन्टी क्लेमका फाइल आउने गरेका छन्।