काठमाडौं। सार्वजनिक–निजी साझेदारीमा निर्माण हुन लागेको तामाकोसी–५ जलविद्युत आयोजनाको विकासकर्ता तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले निर्धारण गरेको अनुमानित लागत (स्टिमेट कस्ट) भन्दा ३१ प्रतिशत बढी रकमको बोलपत्र परेको छ।
निर्माण व्यवसायीबाट कम्पनीले तय गरेको अनुमानित लागतभन्दा बढी मूल्य परेपछि रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ। सबैभन्दा कम दर प्रस्ताव गर्ने चीनको सिनो हाइड्रो कर्पोरेसन लिमिटेडको प्रस्ताव तामाकोसीले निर्धारण गरेको अनुमानित लागतभन्दा ३१ प्रतिशत बढी छ।
तामाकोसी जलविद्युतले १० अर्ब ५४ करोड रुपैयाँको स्टिमेट लागत तयार पारे पनि सबैभन्दा कम दर प्रस्ताव गर्ने सिनोको १३ अर्ब ८५ करोड ७६ लाख १३ हजार २ सय ९ रुपैयाँ छ।
यस्तै चाइना गुेजुवा ग्रुप कम्पनी लिमिटेडले सबैभन्दा बढी १९ अर्ब ७२ करोड १२ लाख ३४ हजार ४ सय ६१ रुपैयाँ प्रस्ताव गरेको छ।
तामाकोसी आयोजना बनाउन सिनोको ३ अर्ब ३१ करोड रुपैयाँ बढी मूल्यको प्रस्ताव परेको छ भने चाइना गेजुवाको प्रस्ताव ९ अर्ब रुपैयाँ बढी छ।
अनुमानित लागतभन्दा बढी मूल्य आएपछि बोलपत्र रद्द गरेर द्रुतमार्गबाट पुनः बोलपत्र आह्वान गर्नुपने छ। सार्वजनिक खरिद ऐनमा आर्थिक एवं प्राविधिकरूपमा प्रभावग्राही कम मूल्य अंकित बोलपत्रदाता छनौट गर्नुपर्ने व्यवस्था छ।
सबैभन्दा कम मूल्य कबोल गर्ने कम्पनीले ठेक्का पाउने छ। तामाकोसी–५ मा कम दर प्रस्ताव गरे पनि कम्पनीले तय गरेको अनुमानित लागतभन्दा धेरै बढी छ। कम्पनीले साउन ९ मा आयोजनाको सिभिल र हाइड्रो मेकानिकलतर्फको ठेक्का निकालेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले प्राप्त बोलपत्रहरूको मूल्यांकन भइरहेको जानकारी दिए।
आयोजनाको बोलपत्रमा चार कम्पनीले भाग लिएका थिए। बोलपत्र पेस गर्नेमध्ये सिनो र गेजुवामात्र प्राविधिकरूपमा छनौट भए। तामाकोसी जलविद्युतले गत फागुन १६ मा दुई कम्पनीको आर्थिक प्रस्ताव खोलेको थियो।
निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले चार वर्षमा आयोजना पूरा गर्नुपर्ने छ। तामाकोसी जलविद्युत दुई प्याकेजमा निर्माण गर्न लागिएको छ।
पहिलो प्याकेजको ठेक्का आह्वान भएको छ। यस्तै दोस्रो प्याकेजको बोलपत्र आह्वान तयारी हँुदैछ। दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रशारणलाइन निर्माण रहेको छ।
९९.८ मेगावाटको यो आयोजना माथिल्लो तामाकोसी जलविद्युतको ‘क्यासकेड’ हो। माथिल्लो तामाकोसीको ‘टेलरेस’ बाट आउने पानी सिधै आठ किलोमिटर लामो सुरुङमा लैजान सकिने छ।
आयोजनाको बाँध र बालुवा छान्ने पोखरी पनि बनाउनुपर्दैन। माथिल्लो तामाकोसीको विद्युत गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरीदोभान पुर्याइने छ। आयोजना सञ्चालन माथिल्लो तामाकोसीमा निर्भर रहने छ।
सञ्चय कोषले तामाकोसी–५ मा ११ अर्ब ३३ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ। सञ्चय कोषले ऋण दिँदा बाँकी ४ अर्ब रुपैयाँ नेपाल विद्युत प्राधिकरणले लगानी गर्ने छ।
तामाकोसी–५ मा २५ मेगावाट क्षमताका चार युनिट रहनेछन्। आयोजनाले वार्षिक ५४ करोड युनिट ऊर्जा उत्पादन गर्ने छ। आयोजनाले स्थानीय प्रभावित एवं सर्वसाधारणलाई साधारण सेयर बिक्री गर्ने छ।
आयोजनामा सञ्चय कोषले ७० प्रतिशत अर्थात ११ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गर्ने विषयमा २०७८ साउन १४ गते समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो।
वित्तीयरूपमा आकर्षक मानिएको आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ देखिएको छ। २०८४ भित्र आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य छ।