काठमाडौं। ललितपुरस्थित कोहिनुर हिल हाउजिङको लिलामी प्रक्रिया अघि बढेपछि सञ्चालक सुधीर बस्नेत ऋण तिर्ने भन्दै कर्मचारी सञ्चय कोष पुगेका छन्।
ऋण नतिरी बसेका बस्नेतले लिलामी प्रक्रिया अघि बढेपछि सञ्चय कोष पुगेर तत्काल केही रकम बुझाएर बाँकी ‘सेटलमेन्ट’ गर्ने भनेका छन्।
सञ्चय कोषले उनीसँग ऋण तिर्ने योजना मागेको छ। प्रस्ताव दिने बताएका बस्नेत अहिलेसम्म ऋण तिर्ने योजना लिएर नआएको कोष प्रशासक जितेन्द्र धितालले बताए।
‘उहाँ (सुधीर बस्नेत) ले ऋण तिर्ने योजना लिएर आउँछु भन्नुभएका थियो, अहिलेसम्म आउनुभएको छैन,’ कोष प्रशासक धितालले क्यापिटल नेपालसँग भने, ‘बस्नेतको ऋण तिर्ने योजना पर्खेका छौं।’
प्रस्ताव हेरेरमात्र लिलामी गर्ने वा नगर्ने भन्ने निर्णयमा पुग्ने उनको भनाइ छ। ‘सकेसम्म कसैको सम्पत्ति लिलामी गर्ने हाम्रो योजना होइन,’ उनले भने, ‘यद्यपि, ऋण नतिरेपछि सम्पत्ति बेचेर असुल्नुपर्छ।
अहिले सम्पर्कमा आएको अवस्था र आएपछि सेटलमेन्ट योजना हेरेर विचार गर्ने छौं नभए लिलामी प्रक्रियामा जाने छ। त्यो पनि स्वीकार्य भएमात्र हुने छ।’
प्रशासक धितालका अनुसार कोहिनुर हिल्सको साँवा र ब्याजसमेत गरी कूल ऋण १ अर्ब रुपैयाँ पुगेको छ। कोहिनुरले २३ करोड ७० लाख रुपैयाँमात्र ऋण लिएको हो। उसको साँवा र ब्याजसमेत गरी १ अर्ब रुपैयाँ पुगेको कोषले जनाएको छ।
यसबाहेक नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको छुट्टै ऋण लगानी छ। केही टावर नबिल र केही टावर तथा जग्गा राष्ट्रिय वाणिज्य बैंकको नाममा छ। ऋण सेटलमेन्ट गर्न दुई बैंक र कोषसँगै आउनुपर्ने अवस्था भएको उनको भनाइ छ।
ऋण नतिरेपछि सञ्चय कोषले गत माघ २० मा बस्नेतको ललितपुरस्थित कोहिनुर हिल हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको थियो।
सञ्चय कोषले बस्नेत, उनकी श्रीमती तथा कोहिनुर हिलको नाममा रहेको चलअचल सम्पत्ति बिक्री गरेर ऋण असुली गर्न लिलामीको सूचना निकालेको थियो।
यसअघि असारमा पनि सञ्चय कोषले लिलाम बिक्री गर्न सूचना जारी गरी बोलकबोलका लागि २१ दिनको म्याद दिएको थियो। कोहिनुर हिल हाउजिङको नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस–४ रहेको १० रोपनी ९ आना २ पैसा क्षेत्रफलको जग्गा र त्यसमा निर्माणाधीन आवासीय भवनहरू खरिदका लागि कोषले शिलबन्दी आह्वान गरेको हो। कोहिनुर हिल हाउजिङ सञ्चय कोषको नाममा दृष्टिबन्धक छ।
कोषका अनुसार बस्नेतले कोहिनुरका लागि २३ करोड ७० लाख रुपैयाँ कर्जा लिएका थिए। हाउजिङ परियोजना सम्पन्न गर्न सञ्चय कोषबाट १ अर्ब १५ करोड रुपैयाँ थप ऋण स्वीकृत गरेका थिए।
त्यही बीचमा अन्य बैंकले ऋण नतिरेको भनेपछि उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो। त्यसपछि बस्नेतले कोषबाट बाँकी ऋण पाएनन्।
कोषबाट प्रस्ताव गरेको ऋण पाएपछि सबै हाउजिङ परियोजना सम्पन्न गर्ने उनको योजना त्यही कारण पूरा भएन। बैंकहरूको कालोसूचीमा परेपछि सञ्चय कोषले ऋण नदिँदा बस्नेत वित्तीय संकटमा परेका थिए।