काठमाडौं। नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण गर्न इच्छुक देखिएका कम्पनीको आर्थिक मूल्यांकन सुरु भएको छ। सिग्नेचर ब्रिज निर्माणका लागि प्राविधिक रूपमा उपयुक्त भएका अनक कन्ट्रक्सन र तुँदी कन्ट्रक्सनको अर्थिक मूल्यांकन सुरु भएको हो।
पुल महाशाखाले आह्वान गरेको ठेक्का प्रक्रियामा उक्त दुई कम्पनीको मात्रै आवेदन परेको थियो। दुवै कम्पनी प्राविधिक रूपमा सिग्नेचर ब्रिज निर्माणका लागि योग्य देखिएपछि आर्थिक प्रस्ताव माग गरिएको महाशाखाले जनाएको छ।
करिब १५ दिन पहिला माग भएको आर्थिक प्रस्तावमा कम्पनीले आफ्नो लागत रकम पेस गरी सकेका छन्। महाशाखाका एक कर्मचारीका अनुसार महाशाखाले कम्पनीको लागत अध्ययन गरेर सडक विभागमा फाइल पठाएको छ। विभागले अध्ययन गरेपछि कुन कम्पनीसँग सम्झौता हुन्छ भन्ने विषय टुंगो लाग्छ।
क्यापिटल नेपालसँग महाशाखाका एक कर्मचारी भन्छन्, ‘आर्थिक पक्षमा मूल्यांकन हुँदैछ हप्ता १० दिनमा फाइनल हुन्छ होला। त्यसपछि आशयपत्र निकाल्नुपर्छ।’ २०७९ मंसिर २० मा दोस्रोपटक आह्वान भएको ठेक्कामा अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सन सहभागी भएका थिए।
कात्तिक २ मा पहिलोपटक नारायणीमा सिग्नेचर ब्रिज निर्माणका लागि ठेक्का आह्वान भएको थियो। तर, उक्त समयमा कुनै पनि आवेदन नपरेपछि महाशाखाले पुनः मंसिर २० मा दोस्रोपटक आह्वान गरेको थियो।
सरकारले पाँचवटा आयोजनाभन्दा बढीमा एउटा कम्पनीले एकैपटक काम गर्न नपाउने नियम बनाएको छ। त्यसको प्रभावले सिग्नेचर ब्रिज निर्माणमा व्यवसायी सहभागी नभएको अनुमान महाशाखाका कर्मचारीको छ। साथै नेपालमै पहिलोपटक बन्न लागेको सिग्नेचर ब्रिज नयाँ डिजाइनको पुल भएकाले पनि जोखिम उठाउन नचाहेको हुनसक्ने अनुमान कर्मचारीहरु गर्छन्।
नेपालमा हालसम्म सिग्नेचर ब्रिज निर्माण नभएपनि १८/२० वटा निर्माण कम्पनीसँग सिग्नेचर ब्रिज निर्माण गर्न सक्ने क्षमता रहेको बताइन्छ। नारायाणीको सिग्नेचर ब्रिजमा मात्रै होइन सरकारले निर्माण व्यवसायीका लागि नियममा कडाई गरेसँगै अन्य आयोजनाका ठेक्का आह्वानमा पनि २/३ वटा निर्माण कम्पनीको मात्रै आवेदन पर्ने गरेको छ।
२ अर्ब लागत अनुमान
नारायणीमा सिग्नेचर ब्रिज निर्माण गर्न करिब २ अर्ब रूपैयाँ लाग्ने पुल महाशाखाले जनाएको छ। सामान्यतया निर्माण हुने मोटरेबल पुलभन्दा सिग्नेचर ब्रिजको लागत दुई गुण बढी हुने इन्जिनियरहरू बताउँछन्। महाशाखाले अनुमान गरेको करिब २ अर्ब रुपैयाँ लागत निर्माण सम्झौता गर्ने समयसम्म निर्माण कम्पनी बीचको प्रस्पिर्धाले घट्न सम्भावना रहन्छ।
त्यस्तै पुलको लम्बाइ ४ सय २० मिटर हुने महाशाखाले जनाएको छ। हाल सञ्चालनमा रहेको पुलको लम्बाइ पनि ४ सय २० मिटर नै छ। ४० वर्षअघि बनेका पुल जीर्ण बन्दै गएपछि सडक विभागले नयाँ पुल निर्माण गर्ने योजना अघि सारेको हो।
पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण गर्न ठेक्का आह्वान गरेको पुल महाशाखाले हालसम्म पनि पुल बन्ने निश्चित स्थान भने तय गरेको छैन। अहिले रहेको पुलनजिकै सिग्नेचर ब्रिज बनाउने तयारीमा महाशाखा छ।
स्वदेशी निर्माण व्यवसायीमात्रै सहभागी हुन मिल्ने गरी ठेक्का आह्वान भएको थियो। तर, नेपाली निर्माण व्यवसायीसँग सिग्नेचर ब्रिज निर्माणको अनुभव भने छैन। जसका कारण निर्माण जिम्मेवारी लिने कम्पनीले अन्तर्राष्ट्रिय रूपमा सिग्नेचर ब्रिजसम्बन्धी दक्षता भएको प्राविधिकको सहकार्यमा ब्रिजको डिजाइन बनाउनुपर्ने महाशाखाले जनाएको छ।
‘ब्रिजको डिजाइन बनाउन नेपाली वा विदेशी जो भए पनि अन्तर्राष्ट्रिय एक्स्पर्ट हुनुपर्छ।’ महाशाखाका एक अधिकारी भन्छन्, ‘निर्माण कम्पनीले तयार गरेको डिजाइन विभाग वा महाशाखाले चेक गरेपछि मात्रै निर्माण सुरु हुने हो।’
दुई लेनमा निर्माण भएको पूर्व–पश्चिम राजमार्ग सरकारले ‘एसियन हाइवे’ का रूपमा विकास गर्न चार लेनमा विस्तार गर्दैछ। तर, त्यही राजमार्गमा बन्ने सिग्नेचर ब्रिज भने दुई लेनको बनाउने तयारीमा पुल महाशाखा देखिन्छ।
‘पुरानो दुई लेन र नयाँ बन्ने दुई लेन गरेर चार लेन हुन्छ, त्यस्तै जग्गा प्राप्तिको समस्याले पनि तत्काललाई चार लेनको सिग्नेचर ब्रिज निर्माण नहुने भएको हो।’ चार लेनको सडकमा दुई लेनको पुल निर्माण गर्नुको कारणबारे एक अधिकारी भन्छन्, ‘तर, फेरि चार लेनको सिग्नेचर ब्रिज बनाएर पछिसम्ममा छ लेनको पुल तयार हुन्छ।’
देशमै पहिलोपटक बनाउन लागिएको सिग्नेचर ब्रिजले नारायणीको धार्मिक तथा पर्यटकीय क्षेत्र देवघाटको समेत पर्यटक आकर्षण थप बढाउने महाशाखाले जनाएको छ। नारायणी नदीसँगै सरकारले देशभरि १२ वटा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना अगाडि सारेको छ। जसमध्ये अधिकांश पुल पूर्व–पश्चिम राजमार्गमा निर्माण हुनेछन्।