काठमाडौं। संसारका सर्वाधिक धनाढ्यमध्ये पर्ने अमेरिकाका इलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा ‘स्याटेलाइट’ (भूउपग्रह) मार्फत इन्टरनेट सेवा उपलब्ध गराउने छलफल गरेसँगै यसबाट नेपाललाई हुने फाइदा÷बेफाइदाबारे चर्चा सुरु भएको छ।
सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला विद्युतीय कार उत्पादन गर्दै आएका मस्कको लगानी रहेको स्टारलिंकले स्याटेलाइटबाट इन्टरनेट सेवा दिन चासो देखाएपछि इन्टरनेट सेवा प्रदायक र प्रयोगकर्तालाई हुनसक्ने फाइदा/बेफाइदाबारे चर्चा सुरु भएको हो।
नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा स्पेस एक्सका अधिकारीहरूले अनलाइनमार्फत नेपाली दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग अनौपचारिक छलफल गरे पनि कसरी, कुन एजेन्टबाट र कस्ता सम्झौताका आधारमा सेवा उपलब्ध गराउने भन्ने खुलेको छैन।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी यस्ता विषय थाहा नभए पनि कसैलाई कुनै पनि नकारात्मक असर नपर्ने किसिमले सम्झौता गरेर इन्टरनेट सेवा प्राप्त गर्न सके नेपाललाई फाइदा पुग्ने बताउँछन्।
‘स्टारलिंकले यो इन्टरनेट सेवा उसको कुनै एजेन्टमार्फत उपलब्ध गराउने हो वा प्राधिकरणलाई दिएर निःशुल्क उपलब्ध गराउने भन्ने विषय खुलेको छैन,’ प्रवक्त अधिकारीले क्यापिटल नेपालसँग भने, ‘तर, यो स्याटेलाइट पृथ्वीको तल्लो तहमा रहने भएकाले इन्टरनेट तीव्र गतिमा चल्छ भने यसले इन्टरनेट कनेक्टिभिटी पहुँचमा पनि हामीलाई सहयोग गर्छ।’
अरूको तुलनामा स्याटेलाइट नजिक र तल रहने भएकाले यसको ब्यान्डविथ राम्रो हुने उनले बताए। ‘यो इन्टरनेट ल्याउने विषयमा कमर्सिय टर्म केही छ वा छैन भन्नेबारे हामीलाई थाहा भएन,’ अधिकारीले भने, ‘तर, यो निःशुल्क ल्याएर सोझै प्राधिकरणलाई प्रदान गरी सञ्चालनमा ल्याउन सकेको खण्डमा यसले कनेक्टिभिटी र डेभलेपमेन्टमा महत्वपूर्ण सहयोग गर्छ।’
नेपालमा स्टारलिंकले प्रदान गर्ने भनेको इन्टरनेट सेवा व्यक्तिगतरूपमा प्रदान गरिने खालको नहुने पनि अधिकारी बताउँछन्।
‘मैले बुझेसम्म उसले व्यक्तिगतरूपमा त्यो इन्टरनेट दिने होइन, यो स्याटेलाइटबाट इन्टरनेट कनेक्टिभिटीसम्म पु¥याइदिने किसिमको हो,’ उनले भने, ‘त्यसलाई नै हामीले ब्ल्याकहल भन्छौं। जस्तो, मोबाइल सर्भिसलाई ब्ल्याकहलसम्म जोड्ने बाटो हुन्छ यो पनि त्यस्तै हो। त्यसैले उसले ग्राहकको लेभलमा इन्टरनेट दिँदैन।’
उनका अनुसार यसका लागि स्टारलिंकले कुनै एउटा अपरेटर वा सबै अपरेटरलाई दिनुपर्ने हुन्छ।
‘हाम्रो देशमा नेपाल टेलिकम र एनसेलबीच इन्टरनेट सेवाको प्रतिस्पर्धा भएजस्तै यसले आएर त्यसैगरी प्रतिस्पर्धा गर्ने किसिमको सेवा प्रदायकजस्तो यो होइन। अहिले हामीले फाइबरबाट भारतमार्फत जसरी जोड्छौं वा स्याटेलाइटमार्फत इन्टरनेटमा जसरी जोड्छौं, त्यो जोड्ने बाटो चाहिँ यसले दिने हो,’ अधिकारीले थपे, ‘यो उपलब्ध भएको खण्डमा नेपाल टेलिकम, एनसेलजस्ता सेवा प्रदायकले यही स्याटेलाइटबाट सेवा प्रदान गर्न सक्नेछन्।’
तर, त्यो कसरी दिने र के दिने भन्ने कुरा पनि यसको विषयका रूपमा रहन्छ। यदि सबै सेवा प्रदायकले यसको इन्टरनेट सेवा प्रयोग गर्न पाएको खण्डमा कुनै सेवा प्रदायकलाई पनि यसले फरक नपार्ने उनले स्पष्ट पारे।
सबै सेवा प्रदायकले यसको सेवा प्राप्त गरे प्रयोगकर्तालाई इन्टरनेट सेवा प्रदान गर्न सेवा प्रदायकलाई थप सहज हुने उनको भनाइ छ। सबै सेवा प्रदायकले यसको सेवा प्राप्त गर्नु थप राम्रो विषय हुने उनले बताए।
‘यसको प्रणालीको कुरा गर्दा अहिले टेलिकमले गरेजस्तै प्रणालीमार्फत स्याटेलाइटमा यो कम्युनिकेट हुन्छ।
स्याटेलाइटमा अफ्टेसन भन्ने हुन्छ, सोहीमार्फत स्याटेलाइटमा कम्युनिकेट भएर इन्टरनेट सेवा सञ्चालन हुन्छ,’ उनले भने, ‘तर, यी कुराको कसरी, कुन माध्यमबाट अपरेट गरिन्छ र कसले कसरी प्रोभाइड गर्छ भन्ने विषय पनि महत्वपूर्ण विषय हुन्।’
उनले यसका लागि अन्य कुनै कम्पनीलाई नदिएर नियामकलाई दिएको खण्डमा नेपालका लागि सबैभन्दा राम्रो हुने बताए। इन्टरनेट सेवाका लागि कुन कम्पनीसँग सहकार्य गरेर त्यहाँसम्म जोड्ने भन्ने कुराले पनि नेपालको फाइदा/बेफाइदालाई निर्धारण गर्ने उनले बताए।
अधिकारीले कुनै कम्पनीलाई यसको जिम्मेवारी दिइयो भने नियामकलाई मान्य हुने÷नहुने विषय पनि यसमा जोडिने बताए।
केही समय अघिमात्र स्टारलिंकले स्याटेलाइटबाट इन्टरनेट सेवा दिन चासो राख्दै दूरसञ्चार प्राधिकरणसँग अनौपचारिक छलफल गरेको थियो। कम्पनीले नेपालको अनुमति प्राप्तिको प्रक्रियाबारे चासो राखेपछि प्राधिकरणले पनि नेपालजस्तो प्रविधि आफैं राख्न नसक्ने देशका लागि यो सेवा प्राप्त गर्न सके फाइदाजनक हुने बताएको थियो।
स्टारलिंकले नेपालसहित दक्षिण एसियाली देशहरू भुटान, श्रीलंका र मालदिभ्समा यो वर्ष इन्टरनेट सेवा सुरु गर्ने बताएको छ। अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, स्पेन, जर्मनी र इटालीसहित कैयौँ युरोपेली देशमा स्याटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले बंंगलादेशमा सन् २०२४ मा सेवा सुरु गर्ने योजना रहेको र पाकिस्तानमा नियामक निकायबाट स्वीकृति प्राप्त गर्न बाँकी रहेको जनाएको छ।
२०२२ फेब्रुअरीमा स्पेस एक्सले एउटै रकेटबाट स्टारलिंकका ४९ वटा स्याटेलाइट पठाएको थियो। स्टारलिंकका स्याटेलाइट एकअर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेट गति तीव्र बनाउने उद्देश्यले पृथ्वीको कक्षको तल्लो तहमा वरिपरि राखिएका छन्। विश्वभरि पहुँचका लागि तल्लो तहमा रहने स्याटेलाइटको आवश्यकता पर्छ।
स्टारलिंकले २०१८ देखि २०२२ अगस्टसम्म करिब ३ हजार स्याटेलाइट अन्तरिक्षमा राखेको अनुमान छ। दुरीका हिसाबले धेरै तल भएकाले स्टारलिंक इन्टरनेटले उच्च गतिमा सेवा दिन सक्छ।
यो प्रविधिमा स्याटेलाइटबाट सिधा सम्पर्क स्थापित हुन्छ। हिमाली क्षेत्रमा पर्वतारोहणका लागि गएका मानिसहरू हराउने, हिम पहिरोलगायत गतिविधिबारे पूर्वानुमान गर्न नसकिएको अवस्थामा यो सेवाले ग्रामीण भेगमा सर्वसाधारणले ब्रोडब्यान्ड इन्टरनेट चलाउन सहज हुनेछ।