काठमाडौं । मुलुकको बैंक तथा वित्तीय क्षेत्रले रोजगारी सिर्जनामा ठूलो योगदान गरेको छ । यो आफैंमा आकर्षक रोजगारीको गन्तव्य मात्र नभएर बैंकले उपलब्ध गराउने कर्जा प्रवाहले मुलुकमा उद्यमी र रोजगारी विकास गरिरहेको छ ।
मुलुकमा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकलाई तुलना गर्ने हो भने धेरै रोजगारी सिर्जना गर्ने बैंकमा पर्छ एनआइसी एसिया बैंक । बैंकले प्रत्यक्ष रूपमा झन्डै ५ हजार जनालाई रोजगारी उपलब्ध गराएको छ भने यसले सहरदेखि दुर्गम गाउँ–गाउँमा साना तथा मझौला उद्योग व्यवसाय (एसएमई) सञ्चालन गर्न ‘एसएमइए कर्जा’ उपलब्ध गराएर हजारौंलाई रोजगारी सिर्जनामा ठूलो सहयोग गरेको छ।
बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार २०७९ पुस मसान्तसम्ममा १५ हजार ५ सय ७५ साना तथा मझौला उद्यमीलाई ९१ अर्ब ४५ करोड रुपैयाँ एसएमई कर्जा वितरण गरिसकेको छ । यस्तो कर्जा वितरणलाई प्राथमिकतामा राखेर तीव्र रूपमा कर्जा वितरण गरिरहेको छ।
एउटा साना तथा मझौला उद्योगका लागि कर्जा प्रवाह गर्दा एकदेखि दश जना वा त्योभन्दा धेरैले रोजगारी पाउने अनुमान छ। एउटा साना तथा मझौला उद्योगलाई दिएको एसएमई कर्जाबाट औषतमा १० जनाले रोजगारी पाएको अनुमानसहित हिसाब गर्ने हो भने एनआइसी एसिया बैंकको फाइनान्सिङबाट प्रत्यक्ष रूपमा १ लाख ५५ हजारभन्दा धेरैले रोजगारी पाएको देखिन्छ।
एसएमई कर्जाले एउटा व्यक्तिको मात्र व्यवसाय सञ्चालनमा सहयोग गरेको हुँदैन। यसले त सानो सानो समुदायमा रोजगारीमा ठूलो सहयोग गरेको हुन्छ। जसले गर्दा परिवारको शिक्षा, स्वास्थ्य, आवासमा ठूलो सहयोग मिल्छ। एसएमई कर्जालाई बढीभन्दा बढी वितरण गर्न बैंकले देशभर सञ्चालनमा रहेका ३ सय ५९ शाखा कार्यालयबाट यस्तो कर्जा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।
नेपालमा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रका रुपमा घरेलु, साना तथा मझौला उद्योगहरूलाई मानिन्छ । सानो सानो लगानीमा स्थानीय स्रोत साधन, कच्चा पदार्थ प्रयोग गरेर उत्पादन बढाउने सहयोग गरिरहेका छ ।
साथै, यस्ता साना तथा मझौला उद्योगहरूमा स्थानीय व्यक्तिहरूको लगानीसँगै आफ्नै वरिपरिका सर्वसाधरणलाई रोजगारीका लागि अवसर सिर्जना हुने गर्छन् । सरकारले पनि नेपालमा रोजगारी वृद्धि गर्न साना तथा मझौला उद्योगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने नीति लिएको छ ।
‘हामीले एसएमई कर्जाको माध्यमबाट मुलुकमा आर्थिक पहुँचबाट बन्चित र बैंकिङ पहुँचमा आउन नसक्ने साना तथा मझौला उद्योग व्यवसायलाई सहयोग गरिरहेका छौं,’ एनआइस एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने, ‘हाम्रो कर्जा प्रभावबाट साना तथा मझौला उद्योगहरूमा डेढ लाखको हराहारीमा रोजगारी सिर्जना भएका छन्।’
बैंक मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूका दुर्गम गाउँमा शाखा विस्तार गरेर एसएमई ऋण प्रवाह गरिरहेको छ। साथै, कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा यस बैंकले शाखा विस्तार गरेको छ।
बैंकले नाफामात्र नभएर मुलुकको वित्तीय समावेशीकरण योगदान गर्ने उद्देश्यसहित सकेसम्म देशका सबै ठाउँमा शाखा, शाखारहित बैंकिङ, विस्तारित काउन्टर, एटीएमजस्ता सेवा विस्तार गर्दै लगेको छ।
पछिल्लो पाँच वर्षमा यस बैंकले आफ्नो सञ्जाल विस्तारमा ठूलो फड्को मारेको छ। बैंकको नेतृत्वमा न्यौपाने आइसकेपछि ग्राहकको संख्यादेखि शाखा सञ्जाल विस्तार नेतृत्वदाही भूमिकामा आएका आएको छ ।
बैंक सहरी क्षेत्र, सहरोन्मुख क्षेत्र हुँदै ग्रामीण तथा दुर्गम क्षेत्रमा विस्तार भइरहेको छ। जति धेरै शाखा सञ्जाल बिस्तार हुँदै गएका छन्, एसएमई कर्जा प्रवाहको संख्यामा मात्र वृद्धि नभएर यसले प्रभाव पार्ने दायरामा पनि विस्तार हुँदै गएको छ।
बैंकका अनुसार देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय सञ्चालन गरिरहेको छ।
ठूला कर्पोरेट कर्जामात्र नभएर बढीभन्दा बढी साना तथा मझौला उद्योग व्यवसाय गर्ने (एसएमई)हरूलाई लक्षित गरेर कर्जा वितरण गरिरहेको छ । मुलुकको आर्थिक विकासको मुख्य मेरुदण्ड नै एसएमईहरू रहेकाले उनीहरूलाई विकास गर्न आवश्यक भएको सीईओ न्यौपानेको भनाइ छ । त्यसैअनुसार बैंकले कर्जा विस्तार गरिरहेको उनले बताए ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा मा ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकका रूपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटाैं ठूलो योगदान हो।