सर्लाही। बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागाईले च्याउखेती सुरु गरेको १० वर्ष भयो। विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनले तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौं ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएको बताए ।
काठमाडौं उपत्यकामा च्याउ र गोलभेँडाको राम्रो मागदेखि पनि तत्कालीन समयमा १ लाख लगानीमा उनले ध्रुव कृषि फर्म प्रालि दर्ता गरी च्याउखेती सुरु गरेका हुन्।
“जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौं लैजाँदै गरेको देखेँ तब यो सोच पलाएको थियो”, उनले भने, “त्यसपछि यो खेतीमा राम्रो सम्भावना छ देखेरै विदेशको जागिर छाडेर यसैमा सक्रिय भएको हुँ ।”
१ लाख रूपैयाँ लगानीमा १ सय ५० पोका च्याउबाट सुरु भएको व्यवसायमा हालसम्म ११ करोड रूपैयाँ भइसकेको छ भने १७ जनाले रोजगारी पनि पाएका छन् । उनले हाल अहिले एक बिघा जमिनमा ठूला आठवटा अत्याधुनिक टनेल बनाएका छन् । फर्ममा उत्पादित च्याउको थोक बिक्रीबाट वार्षिक १० करोड रूपैयाँसम्म कारोबार गरेको उनको भनाइ छ।
व्यवसायमा आमा, बुबा, श्रीमती र छोराको राम्रो साथ पाउनु भएका उनले कोरोना महामारीको समयमा विद्युत् सर्ट भएर फर्ममा आगलागी भइ क्षति हुँदा करिब ९ करोड ऋण लागेको बताए।
कक्षा १२ सम्मको अध्यायन गर्नुभएका चौलागाईं बिहानदेखि रातिसम्म फर्ममा कर्माचारीसँगै खटिनुहुन्छ। “च्याउबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पुर्याउनुपर्छ”, उनले भने, “फर्ममा कन्या र गोब्रे च्याउ उत्पादन भइरहेको छ।”
हाल फर्ममा कन्या, गोब्रे, सिताके, ज्ञानडोर्न र पत्याको लगायतका च्याउका जातको बिउ उत्पादन गर्नुका साथै कम्पोष्ट बनाउने पनि काम भइरहेको जानकारी दिए । यहाँ उत्पादन हुने च्याउ स्थानीय बजारका साथै मकवानपुर, चितवन र काठमाडौँलगायतका बजारमा पुग्ने गरेको चौलागाईंको भनाइ छ । उनले च्याउ हाल प्रतिकिलो ३ सय ५० रूपैयाँका दरले बिक्री गर्दै आएको छ।
सात जनालाई आवासीय जागिर
चौलागाईले प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम लिभएका छन् । उनले तनहुँका दुई जना र बुटवलका पाँच जना गरी सात जनालाई आवासीय जागिर पनि दिएका छन् ।
फर्म हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्ने, बिउ उत्पादन गर्ने लगायतका काम गर्नुपर्छ। यो बाहेक आवश्यकता अनुसार अन्य काम गर्न स्थानीय १० जनालाई पनि फार्ममा राखेका छन्। आफू, श्रीमती, छोरा र आमाबुबाका साथै १७ जना मजदुर गरी २३ जनाले निरन्तर फर्ममा काम गरिरहेका छन्।
उनी यतिबेला उत्पादन वृद्धि गर्दै बजारीकरण बढाउने प्रयासमा छन् । सुरुमा बागमती नगरपालिकाले १० लाख रूपैयाँ अनुदान दिएको र त्यसपछि कही कतैबाट आफूले सहयोग नपाएको चौलागाईले सुनाए। रासस