काठमाडौं। निजी लगानीमा नेपालमा पहिलोपटक सिसाको पुल (स्काइ वाक) निर्माण हुने भएको छ।बन्दीपुर स्काइवाक एन्ड बन्जिजम्पले सिसाको पुल बनाउन लागेको हो। यो बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको सहायक कम्पनी हो। ।
सिसाको पुल बनाउन १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए।
यो अनुमानित लागत हो। लागत योभन्दा बढी पनि हुन सक्ने सम्भावना छ। सिसाको पुल बनाउन अहिले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम भइरहेको छ।
डिपिआर तयारपछि आयोजनाको काम सुरु हुने अध्यक्ष शर्माले बताए। डिपिआरपछि मात्र सिसाको पुलको लागत यकिन हुने उनको भनाइ छ।
सिसाको पुल उत्तरी छिमेकी चीन र रुसमा मात्र भएको उनले बताए। स्काइवाकमा नेपाल एसबिआई बैंक र एनएमबी बैंकको लगानी हुनसक्ने उनको भनाइ छ।
स्वदेशी तथा विदेशी पर्यटक लक्ष्य गरी सिसाको पुल पूर्वाधार तयार पारिएको हो। बन्दीपुर केबुलकार चढेर माथिल्लो भागमा पुगेपछि सिसाको पुलबाट घना जंगललगायत अन्य मनमोहक दृष्यावलोकन गर्न सकिने छ।
बैंकसँग प्रारम्भिक छलफलमात्र भएको शर्माले बताए। निर्माणाधीन बन्दीपुर कुेबलकारको माथिल्लो तहमा रहने १७ तले पाँचतारे होटलको सभाहल पछाडिको भागमा भीरमा सिसाको पुल बन्ने छ। पुलको लम्बाइ ६५ मिटर हुनेछ।
सिसाको पुल जमिनको सतहबाट ३ सय मिटरमाथि निर्माण हुनेछ। पुलमुनि खोप्चा घना जंगल छ। भीरबाट सिधै सिसाको पुलमा हिँड्न मिल्ने छ। पुलबाट पर्यटकले आनन्द लिन सक्ने शर्माको भनाइ छ।
डिपिआर तयारपछि आवश्यक स्वीकृति लिएर पूर्वाधार निर्माणको काम सुरु हुने उनले जानकारी दिए। काम सुरु गरेको एक वर्षमा सिसाको पुल बनाइसक्ने लक्ष्य कम्पनीको छ।
पूर्वाधार निर्माणको काम सुरु गर्न अझै केही समय लाग्ने अध्यक्ष शर्माले बताए। यस्तै बैंकसँग ऋण लिने काम डिपिआरपछि मात्र अघि बढ्ने भएको छ।
शर्माको अगुवाइमा बन्दीपुरमा साढे २ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटलसहित केबुलकार निर्माण पनि भइरहेको छ। केबुलकारको काम अन्तिम चरणमा पुगेको छ।
बन्दीपुरमा केबुलकार, होटसँगै सिसाको पुल परियोजना रहेको छ। शर्माको अगुवाइमा तनहुँ खैरेनी नजिकै बुढीमाई छिन्केश्वरीमा पनि केबुलकार सञ्चालन गर्ने तयारी भइरहेको छ।
यसको डिपिआर तयार भइसकेको छ भने वातवरणीय प्रभाव मूल्यांकन (इआइए) को काम जारी रहेको शर्माले बताए।