जब रात छिप्पिँदै जान्छ, ठमेल बिस्तारै तात्दै जान्छ। यही ठमेलको मध्यभागमा एउटा यस्तो ‘क्लब’ छ, जहाँ हरेक रात युवापुस्ता ‘डिजे म्युजिक’ को तालमा तातिरहेका हुन्छन्।
र, यो क्रम बिहान सखारैसम्म चलिरहन्छ। ‘फ्यान्सी ड्रेस’ मा सजिएर आउने हजारौं युवायुवती एकैसाथ त्यही क्लबभित्र डिजे म्युजिकमा झुमिरहेका भेटिन्छन्।
‘क्लब कल्चर’ को परिभाषा नै बदल्न सफल ठमेलको त्यो क्लब हो– ‘एलओडी’ अर्थात ‘लर्ड अफ द ड्रिंक्स’। पछिल्लोपटक एलओडी नपुग्ने युवायुवती सायदै होलान्।
उच्च सुरक्षा र उत्कृष्ट व्यवस्थापनसहित एउटै हलभित्र हजारौं तन्नेरीलाई एकसाथ डिजे म्युजिकको तालमा झुमाउँदै ‘फुड एन्ड बेभेरज’ ‘सर्भ’ गरिरहेको एलओडी नेपालको एकमात्र यस्तो क्लब हो, जुन संसारका उत्कृष्ट ५२औं क्लबमा पर्छ।
एलओडीलाई त्यो मुकाममा पुर्याउने को होलान्? स्वयं एलओडी पुग्नेलाई पनि थाहा हुँदैन। ती मध्येका एक हुन्– रविन श्रेष्ठ।
उनै रविन र केही साथी मिलेर चार वर्षअघि सुरु गरेको एलओडीले गत वर्ष सन् २०२२ मा यस्तो सम्मान पायो, जसले सर्वोच्च शिखर सगरमाथा र बुद्धको देश भनेर चिनिँदै आएको नेपालको परिचय ‘बदलिदियो’ भन्दा अतिशयोक्ति नहोला।
नेपाल घुम्न आउने अधिकांश पर्यटक विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनी पुग्नु अस्वाभाविक होइन। दशकौंदेखि सगरमाथा र बुद्धको देशको परिचय बोकेको नेपालले २०२२ बाट अर्को एउटा भिन्नै र नौलो परिचय पायो। र, त्यो परिचय दिलाउने अरू केही होइन, उनै रविन सहित टिमको हो एलओडी।
बेलायतको ‘क्लब डिजे म्यागजिन’ ले २०२२ का लागि छनौट गरेका सय उत्कृष्ट क्लबका प्रतिस्पर्धामा एलओडी ५२औं स्थानमा पर्न सफल भएसँगै यसको चर्चा एक्कासि संसारभरि फैलिन पुग्यो।
विश्वका ५ सय क्लब सहभागी भएकामा नेपालको एलओडी ५२औं स्थानमा परेको थियो। जसका कारण विदेशबाट नेपाल आउने युवायुवतीदेखि वृद्धवृद्धाको समेत मुख्य गन्तव्यमा एलओडी परिसकेको छ।
यो अवस्थामा आउन टिमवर्कले ठूलो काम गरेको छ। सायद,सबैको साथ नभएको भए सफलता मिल्दैन थियो होला। टिम स्पिरिट एउटै भएमा जस्तोसुकै प्रोजेक्ट सफल बनाउन सकिन्छ भन्ने उदाहरण हो ‘एलओडी’ रविनले भने।
एलओडी काठमाडौंको प्रमुख पर्यटन गन्तव्य ठमेलमा चार वर्षअघि स्थापना भएको थियो। एलओडी युवा पुस्तामात्र होइन, सबै उमेर समूहकै रोजाइमा परिसकेको छ। अहिले हरेक रात युवापुस्ता दिनभरिको थकाइ मेट्न एलओडी पुग्छन्, जहाँ संगीतमा झुम्दै मन बहलाउनुको मजा नै बेग्लै हुने गर्छ। नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको क्लब एलओडीमा नेपालीसहित विदेशी पर्यटक पनि दिल खोलेर नाचिरहेका हुन्छन्।
एलओडी सञ्चालकमध्ये रविनको काँधमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी पनि छ। त्यसैले उनी दिनको १२ देखि १५ घन्टा एलओडीमै बिताउँछन्।
एलओडीलाई विश्वका उत्कृष्ट क्लबको सूचीमा पु¥याउन रविन र उनका साथीहरूले कम्ती पापड बेलेका छैनन्। एलओडी खुल्नुअघि काठमाडौंमा थुप्र्रै क्लब र लाउन्ज चलिरहेका थिए।
तै पनि देश तथा विदेशमा एकसाथ सबैको जिब्रोमा झुन्डिने स्वादका खाना र पेय अनि उत्कृष्ट सुविधा दिन रविनहरूले धेरै मिहिनेत गरे। त्यसैको परिणाम ‘भिभिआइपी’ हरुले समेत एलओडीलाई आफ्नो गन्तव्य बनाइसकेका छन्।
एलओडीमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, भारतीय कांग्रेस आईका नेता राहुल गान्धी, पूर्वयुवराज्ञी हिमानी शाह, नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीलगायत भिभिआइपी एलओडी पुगेर कम्मर मर्काइसकेका छन्।
सबै क्षेत्रकालाई समेट्न एलओडीमा सामान्य, भिआइपी र भिभिआइपी गरी तीन वर्ग छुट्ट¥ाइएका छन्। र, त्यसका लागि भिन्नै शुल्क छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।
९ हजार वर्गफिट क्षेत्रफल ओगटेको एलओडीमा रंगीचंगी बत्तीको सौन्दर्यसँगै गुञ्जिने डिजे म्युजिकको वातावरणले धेरैलाई झुम्न बाध्य पार्छ। एलओडीमा एकपटकमा ५ हजारजना उभिएर रमाइलो गर्न सक्छन्। सामान्य अवस्थामा दैनिक १ हजार २ सयहाराहारी ग्राहक आउँछन्।
शुक्रबार छुट्टै माहौल हुन्छ किनकि शुक्रबार ४ हजारसम्म ग्राहकको भीड एलओडीमा हुन्छ। पारिवारिक माहौलमा सांगीतिक मजा दिँदै आएको एलओडी नेपालीसहित चर्चित विदेशी सेलिब्रिटी तथा गायक–गायिकाका कारण चर्चामा आउँछ।
द्वन्द्वले विदेशिएका थिए रविन
काठमाडौं गोंगबुमा जन्मिएका रविनको बाल्यकाल यतै बित्यो। उनलै बाल्यकालदेखि नै संगीत (म्युजिक) प्रति चासो थियो। स्कुल पढ्दा पनि उनी सांगीतिक कार्यक्रममा सहभागी हुन्थे।
एसएलसीपछि कलेजको पढाइ पनि उनले म्युजिकमै सुरु गरे। आरआर क्याम्पसमा मुख्य विषय म्युजिक र अंग्रेजी विषय लिएर अध्ययन गरे। पढाइमा पनि उनी अब्बल थिए। म्युजिकको लगावका कारण उनले अध्ययनलाई नै म्युजिकसँग जोडे।
परिवारको चाहना भने उनी डक्टर वा इन्जिीनयर बनुन् भन्ने थियो। तर, दबाब दिएनन्। जसका कारण आफूलाई इच्छा लागेको विषय अध्ययन गर्न पाए। म्युजिकसँगै आर्किटेक्चर (डिजाइन) मा पनि केही शोख भएकाले उनले इन्जिनियरिङ कलेजमा पनि भर्ना भने भएका थिए। तर, उनले आफ्नो इच्छा अगाडि बढाउँदै म्युजिकमै बढी केन्द्रित भए।
पढ्दापढ्दै ‘अब केही नयाँ काम गरौं’ भन्ने सोच रविनको मनमा आयो। त्यहीबेला उनको संगत बेलायती साथीहरूसँग भयो। सन् १९९८ तिरको त्यो भेटले रविनलाई व्यावसायिक यात्रामा डो¥यायो। उनले तिनै बेलायती र केही शेर्पा साथीसँग मिलेर पर्यटन (ट्रेकिङ) व्यवसायमा आबद्ध भए।
त्यहाँ काम गरिरहँदा उनले पर्यटनसम्बन्धी धेरै काम सिके। त्यो बेला उनी २०/२१ वर्षे केटौले थिए। उमेरै नयाँ–नयाँ काम गर्ने जोश र जाँगरले भरिएको थियो। त्यो बेला उनी ‘इभेन्ट’ तिर पनि धेरै नै आबद्ध हुन्थे। इभेन्टको नेतृत्व पनि उनी आफैं गर्थे।
सन् २००५ तिर जब माओवादी जनयुद्धले मुलुक अशान्त बन्दै गयो, त्यो बेला पर्यटन क्षेत्र ७५ प्रतिशतभन्दा बढीले ‘डाउन’ भयो। त्यसपछि भने रविनले थप अध्ययन गर्न विदेश जाने सोच बनाए। त्यसअघि उनी बेलायत घुम्न गएका थिए।
नेपालमा पर्यटन व्यापार सुस्त भएसँगै उनी थप अध्ययन गर्न सिंगापुर गए। त्यहाँ उनले ‘टुरिज्मम एन्ड म्यानेजमेन्ट’ विषय अध्ययन थाले। तर, म्युजिक र फिल्मको ‘भूत’ ले रविनलाई सिंगापुरमा पनि छाडेन। त्यसैले त्यसबारे थप ज्ञान बढाउने उद्देश्य लिएर फिल्मसम्बन्धी अध्ययन पनि गर्न थाले।
पढाइकै सिलसिलामा तालिमका लागि विभिन्न रेस्टुरेन्टमा पनि काम गरे। उनले त्यहाँ जीवनमै पहिलोपटक रेस्टुरेन्टमा वेटरको काम गरे। तर, पछि त्यही रेस्टुरेन्टको म्यानेजर बन्न सफल भए। त्यो बेलासम्म उनले भविष्यमा रेस्टुरेन्ट व्यापार गर्छु भन्ने कल्पनासमेत गरेका थिएनन्।
पढाइ र काम गरेर पाँच वर्षभन्दा बढी सिंगापुरमा बिताए। २००६ मा सिंगापुर गएका रविन २०११ मा सबै छाडेर नेपाल फर्किए। त्यहाँ काम गरिरहँदा नेपालमा पनि त्यस्तै खालको रेस्टुरेन्ट खोल्न पाए हुन्थ्यो भन्ने हुटहुटी उनको मनमा चल्न थाल्यो। अन्तर्राष्ट्रियस्तरको रेस्टुरेन्ट चलाउनुपर्छ भन्ने सोचसाथ लाउन्ज खोल्ने सपना भने उनले बुन्न थालिसकेका थिए।
नेपाल आएपछि उनले केही समय बेलायती दूतावासमा पनि काम गरे। नेपालमा उनको त्यो पहिलो जागिर थियो। यता, रेस्टुरेन्टका लागि ठाउँ बनिरहेकाले त्यसको सदुपयोग गरे।
सिंगापुर रहँदा फिल्मसम्बन्धी अध्ययन गरेकाले फिल्म बनाउने शोखले ‘मोक्ष’ नामक फिल्म बनाए। मामासँग मिलेर बनाएका त्यो फिल्म व्यावसायिकरूपमा भने असफल भयो। र, दोस्रो फिल्म ‘मुखौटा’ बनाए।
त्यो पनि राम्रोसँग चलेन। त्यहीबीच उनले ठमेलमा ‘रिफ’ नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याए। रिफ रेस्टुरेन्ट पाँचौं तलामा भए पनि नयाँ र नौलो भएकाले धेरैले रुचाएका थिए। त्यो बेला रेस्टुरेन्ट भनेको भुइँतलामै हुनुपर्छ भन्ने सोच थियो।
तर, उनीहरूले सुरु गरेको रेस्टुरेन्ट ‘रुफटप’ मा थियो र लाइभ म्युजिक पनि चल्ने गरेको थियो। जसका कारण युवायुवतीको रोजाइमा पर्दै गयो। व्यापारले गति समाउँदै गएपछि थप लगानी विस्तार गर्ने सोच उनको टिममा आयो।
र, वल्र्ड ट्रेड सेन्टरमा कर्मा गुरुङसँग मिलेर ‘कर्मा क्लब’ खोले। कर्मा क्लबले राम्रो बजार लिँदै गएपछि पहिलेको ठाउँ सानो हुँदै गयो भन्ने महसुस गरेपछि उनीहरूले अन्तर्राष्ट्रियस्तरको क्लब खोल्ने योजना बुन्न थाले। सिंगापुरमा बस्दा क्लब तथा रेस्टुरेन्टबारे धेरै ज्ञान भएकाले पनि रविनले नै त्यसको नेतृत्व लिए।
एलओडीको डिजाइनअनुसार निर्माण हुँदै गर्दा धेरै नजिकका मान्छेले यत्रो ठूलो लगानी गरेर ‘बहुलायो’ भन्ने धेरै थिए। ‘अहिलेकै अवस्थामा धेरै लगानी गर्न उपयुक्त हुन्न भन्नेहरू अहिले हाम्रो कामको प्रशंसा गरिरहेका छन्,’ रविन भन्छन्, ‘उनीहरूलाई हामीले गलत साबित गरेर नयाँ कामबाट नेपाललाई विश्वमा चिनाउन सफल भयौं।’
सन् २०१९ फेब्रुअरी १० बाट औपचारिक सुरुवात भएको एलओडीको ‘इन्टेरियर डिजाइन’ प्रनिता श्रेष्ठले गरेकी हुन्।