काठमाडौं। संसारका सर्वाधिक धनाढ्यमध्ये पर्ने अमेरिकाका इलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा ‘स्याटेलाइट’ (भूउपग्रह) मार्फत इन्टरनेट सेवा उपलब्ध गराउन छलफल गरेको छ।
मस्कको स्टारलिंकले विश्वका विभिन्न देशमा स्याटेलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। सोही कम्पनीले नेपालमा सेवा दिन अनौपचारिक छलफल गरेको हो।
सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला विद्युतीय कार उत्पादन गर्दै आएका मस्कको लगानी रहेको स्टारलिंकले स्याटेलाइटबाट इन्टरनेट सेवा दिन चासो राख्दै अनौपचारिक छलफल गरेको हो।
केही समयअघि स्पेस एक्सका अधिकारीहरूले अनलाइनमार्फत नेपालको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग यसबारे छलफल गरेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए।
‘नेपालमा सेवा उपलब्ध गराउने विषयमा उनीहरूसँग अनौपचारिक रूपमा कुरा भएको हो। कुराकानीअनुसार उनीहरू नेपालमा सेवा प्रदान गर्न तयार देखिन्छन्,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘नेपालमा सेवा उपलब्ध गराउन तयार भएकै कारण उनीहरूले अनुमतिका लागि के कस्ता प्रावधान छन् भनेरसमेत हामीसँग बुझेका छन्।’
औपचारिक नभएका कारण यसबारे ठोस कुराकानी नभएको तर नेपालले यस्तो सेवा प्राप्त गर्न सके फाइदा हुने ती अधिकारीले बताए।
‘हामीजस्तो आफ्नो प्रविधि राख्न नसक्ने देशलाई अरूले राखिदिए वा उपलब्ध गराए फाइदा नै हुन्छ,’ उनले भने, ‘यो सेवा प्राप्त गर्न सके ब्रोडब्यान्ड सर्भिस, स्याटेलाइट सर्भिस लोअर बिटमा हुन्छ।
यो १ हजार २ सय किलोमिटरमाथि मात्र हुने स्याटेलाइट भएका कारण अहिले दिएको र छ्यापछ्याप्ती पाइने सेवाभन्दा गुणस्तरीय र तीव्र गतिको हुन्छ।’
छलफलका क्रममा स्पेस एक्सका अधिकारीहरूले मुख्यगरी नेपालको लाइसेन्समा भएका कानुनी प्रक्रिया र प्रावधानबारे चासो राखेका थिए।
यो सेवा नेपालले प्राप्त गर्न सके मुलुकलाई फाइदा पुग्ने भएकाले यसबारे सकारात्मक ढंगले अघि बढोस् भन्ने आफू र प्राधिकरणले चाहेको उनले स्पष्ट पारे।
स्पेस एक्सको वेबसाइटमा दक्षिण एसियाली देशहरू नेपाल, भुटान, श्रीलंका र मालदिभ्समा यो वर्ष इन्टरनेट सेवा सुरु गरिने उल्लेख छ।
त्यस्तै भारत अनि पाकिस्तानमा नियामक निकायबाट स्वीकृति प्राप्त गर्न बाँकी रहेको तथा बंंगलादेशमा सन् २०२४ मा उक्त सेवा सुरु गर्ने योजना रहेको कम्पनीले सार्वजनिक गरेको नक्सामा उल्लेख छ।
यो सेवा अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, स्पेन, जर्मनी र इटालीसहित कैयौँ युरोपेली देशमा उपलब्ध छ।
अस्ट्रेलियामा पनि यो सेवा उपलब्ध छ भने अफ्रिकाका केही देशमा स्टारलिंक इन्टरनेट उपलब्ध रहेको र बाँकी केहीमा सेवा सुरु हुने सम्भावित वर्षबारे जानकारी गराइएको छ। २०२३ भित्र नेपालमा सेवा उपलब्ध गर्ने स्पेस एक्सको वेबसाइटमा उल्लेख छ।
२०२२ फेब्रुअरीमा स्पेस एक्सले एउटै रकेटबाट स्टारलिंकका ४९ वटा स्याटेलाइट पठाएको थियो। स्टारलिंकका स्याटेलाइट एकअर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेट गति तीव्र बनाउने उद्देश्यले कक्षको तल्लो तहमा पृथ्वीको वरिपरि राखिएका छन्। विश्वभरि पहुँचका लागि तल्लो तहमा रहने स्याटेलाइटको आवश्यकता पर्छ।
स्टारलिंकले २०१८ देखि २०२२ अगस्टसम्म करिब ३ हजार स्याटेलाइट अन्तरिक्षमा राखेको अनुमान छ। दुरीका हिसाबले धेरै तल भएकाले स्टारलिंक इन्टरनेटले उच्च गतिमा सेवा दिन सक्छ। यो प्रविधिमा स्याटेलाइटबाट सिधा सम्पर्क स्थापित हुन्छ।
हिमाली क्षेत्रमा पर्वतारोहणका लागि गएका मानिसहरू हराउने, हिम पहिरो लगायतका गतिविधिबारे पूर्वानुमान गर्न नसकिएको अवस्थामा उक्त सेवाले ग्रामीण भेगमा सर्वसाधारणहरूले ब्रोडब्यान्ड इन्टरनेट चलाउन सहज हुने बताइएको छ।