काठमाडौं। केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्ने चिनियाँ प्राविधिकको टोली स्वदेश फर्किएको छ। माघको पहिलो साता नयाँ वर्ष मनाउन चीन गएको प्राविधिक टोली फागुन २४ गते नेपाल फर्किएको रेल विभागले जनाएको छ।
विभागका महानिर्देशक (डिजी) रोहितकुमार विसुरालका अनुसार सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययनको काम प्राविधिक टोलीले फेरि फिल्डमा काम सुरु गरिसकेको छ। क्यापिटल नेपालसँग डिजी विसुरालले भने ‘एक साता भयो उनीहरु नेपाल फर्किएको, फेरि काम सुरु भइसकेको छ।’
सम्भाव्यता अध्ययनका लागि पहिलोपटक चाइना प्राविधिक टोली गत पुस १२ गते नेपाल आएको थियो। तर, चाइनाको नयाँ वर्ष परेकाले फेरि माघमा सो टोली स्वदेश फर्किको थियो।
चीनको ‘चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप’बाट ६ जनाको टोली नेपाल आएको हो। तत्कालका लागि अध्ययन कार्य ६ जनाले नै गर्ने छन्। नेपालका प्राविधिकहरु चीनले प्रयोग गर्दैन। अन्य आवश्यक सहयोग मात्रै नेपालले गर्ने छ।
साथै जुन अर्थात् असारसम्म चिनियाँ प्राविधिकको टोली यति धेरै बिदा लिएर स्वदेश नफर्किने डिजी विसुराल बताउँछन्। ‘आवश्कताअनुसार आउने जाने भइरहन्छ तर, पूरै काम रोकेर जुनसम्म सबै प्राविधिकहरु चीन नफर्किने जानकारी छ। त्यसपछिको कुरा अहिले भन्न सकिँदैन’ उनले भने।
पुसबाट सम्भाव्यता अध्ययन सुरु गरेका प्राविधिकहरुले ‘यरिएल सर्वे’को काम गर्दैछन्। अध्ययनका लागि हेलिकप्टर, ड्रोनसमेत प्रयोग हुने विभागले जनाएको छ। ६ जनाको प्राविधिक टोलीले मात्रै अध्ययनकार्य सम्भव नभए आवश्यकताअनुसार प्राविधिक थप हुने बताइएको छ। उक्त टोलीले गत पुसमा स्याफ्रुबेंसी, धुन्चे र रसुवागढीलगायत ठाउँमा ‘फिल्ड सर्भे’ गरी सकेको छ।
चाइना प्राविधिकको टोलीलले अध्ययन सुरु भएको ४२ महिना अर्थात् साढे ३ वर्षमा विस्तृत सम्भाव्यता अध्ययनको काम सम्पन्न गर्नुपर्ने विभागले जनाएको छ।
केरुङ–काठमाडौं क्षेत्रमा पहाड तथा चट्टान पर्ने भएकाले रेल सञ्चालनका लागि पुल निर्माण तथा पहाड छेड्नुपर्ने हुन्छ। २०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला नेपाल र चीनका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने समझौता भएको थियो।
यसअघि भएको प्रारम्भिक अध्ययनअनुसार केरुङ–काठमाडौं रेलमार्गको लम्बाइ ७२ किलोमिटर हुने अनुमान छ। यद्यपि सो लम्बाइ विस्तृत सम्भाव्यता अध्ययनको रिपोर्ट आएपछि परिवर्तन हुन सक्नेछ।
सो रेलमार्ग निर्माणका लागि २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने आकलन गरिएको छ। रेलमार्ग अध्ययनको सम्पूर्ण काम र लागत चीनले नै गर्ने छ। तर, विस्तृत सम्भाव्यता अध्ययन गर्दा लाग्ने खर्च भने खुलाइएको छैन। रेलमार्ग निर्माणको खर्चको विषयमा पछि छलफल हुनेछ।