काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ। महासंघ वरिष्ठ उपाध्यक्षका लागि हालसम्म तीनजनाले उम्मेदवार बन्ने घोषणा गरेका छन्।
निर्वाचन मिति तय भएसँगै नेतृत्वका लागि दौडधुप सुरु गरेका तीनैजना अहिलेका उपाध्यक्षमध्ये वरिष्ठ उपाध्यक्षका लागि वस्तुगततर्फका अञ्जन श्रेष्ठ र एसोसिएटका उपाध्यक्ष रामचन्द्र संघईले निर्वाचनका लागि आफ्नो टिम बनाएका छन्।
जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठ भने उम्मेदवार बन्ने/नबन्ने अझै निश्चित हुन सकेको छैन। दिनेशले आफू उम्मेदवार नभएर तीनमध्ये एकलाई समर्थन गर्ने सम्भावना रहेको बताइएको छ।
दिनेशले उम्मेदवारी घोषणा नगर्दा पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले भने आफ्नो टिम बनाएर निर्वाचनमा लागेका छन्।
नयाँ बनेको गठनबन्धनअनुसार अञ्जनको टिममा जिल्लानगरबाट उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगततर्फ मनिषलाल प्रधान र एसोसिएटमा ज्याेत्सना श्रेष्ठ निश्चित भएका छन्। संघईको टिममा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगतमा सन्दीप गाडिया र एसोसिएटमा भरतराज आचार्य निश्चित भएका छन्।
यता, उमेशलालले वस्तुगतमा हेमराज ढकालबाहेक जिल्लानगर र एसोसिएटको टिम बनाउन सकेका छैनन्। श्रेष्ठले अहिले बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरविरुद्ध भएको आन्दोलनमा सहभागी भइरहेकाले आफ्नो टिमको घोषणा गर्न ढिलाइ भएको बताए।
‘म अहिले उद्योगी-व्यवसायीको तत्कालीन समस्या समाधान गर्न दौडधुपमा लागेको छु,’ पूर्वउपाध्यक्ष उमेशलालले भने, ‘मेरो टिम तयार छ, केही दिनमा सार्वजनिक गर्ने छु।’
महासंघको ५७औं साधारणसभा चैत २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ। साधारणसभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनेछन्। एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र अन्य कार्यकारणी पदका लागि निर्वाचन हुँदैछ।
वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने भएपछि अध्यक्षबाहेकको टिमका लागि निर्वाचन हुनेछ।
वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने विजयी हुने व्यवस्था छ। जिल्ला नगर, एसोसिएट र वस्तुगतको मतलाई १ सय प्रतिशत हुने गरी विभाजन गरिएको छ। जिल्ला नगरतर्फ ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगतलाई २० प्रतिशत मतभार मानिने छ।