काठमाडौं। कर्णाली प्रदेश राजधानी सुर्खेतमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र सूर्यतारा सिमेन्ट उद्योगबीच समझदारीपत्र (एमओयु) को तयारी भएको छ। एमओयुको मस्यौदा तयार भइसकेको छ।
उद्योगसँग एमओयु हुन बाँकी रहेको लगानी बोर्डका अधिकृत प्रेमप्रसाद निरौलाले बताए। एमओयु भएपछि बोर्ड र उद्योगबीच आयोजना लगानी सम्झौता (पिआइए) हुनेछ।
सूर्यतारा सिमेन्ट उद्योगले १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ क्लिंकरसहितको सिमेन्ट उत्पादन गर्न कारखाना पूर्वाधार बनाउने भएको छ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २०७८ चैत १७ मा बसेको लगानी बोर्डको ५०औं बैठकले निजी क्षेत्रबाट स्थापना भएको सूर्यतारा सिमेन्टको लगानी स्वीकृत गरेको थियो।
लगानी स्वीकृत भएको दुई वर्षभित्र पिआइए गर्नुपर्ने हुन्छ। उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयमा सूर्यतारा सिमेन्ट दर्ता भइसकेको बोर्डले जनाएको छ।
कर्णाली प्रदेशमा उत्पादन गरेर सुदूरपश्चिम क्षेत्रमा सिमेन्ट आपूर्ति गर्न सुर्खेतको पञ्चपुरी गाउँपालिका चौकुनामा कारखाना स्थापनाका लागि बोर्डले सूर्यतारालाई स्वीकृति दिएको हो।
व्यवसायी मुकुन्द तिम्सिनाको मुख्य लगानीमा सूर्यतारा सिमेन्ट उद्योग आउन लागेको हो। कर्णाली प्रदेश लक्ष्य गरी सरकारले सिमेन्ट उद्योग खोल्न सूर्यतारालाई स्वीकृति दिएको हो।
सूर्यतारा कर्णाली प्रदेशको पहिलो सिमेन्ट उद्योग बन्ने भएको छ। सुर्खेत पञ्चपुरीमा कारखाना स्थापना हुनेछ। उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने जनाएको छ।
सिमेन्ट उद्योगसम्म सडक पहँुच पुगेको छ। तर, बिजुली नपुगेको सूर्यताराका सञ्चालक सुधीरप्रसाद तिमिल्सिनाले बताए।
उनले नेपाल विद्युत प्राधिकरणबाट उद्योगसम्म बिजुली पुर्याउन पूर्वाधारको काम अघि बढिरहेको जानकारी दिए। बिजुली नहुँदा उद्योगको काम अघि बढ्न नसकेको हो।
उद्योग निर्माण, सञ्चालन एवम व्यवस्थापनको बाटो खुले पनि बिजुली आपूर्ति प्रत्याभूति नहुँदा लगानी रोकिएको अवस्था छ।
उद्योगका लागि कैलाली लम्कीचुहाबाट २६ किलोमिटर १ सय ३२ केभी प्रशारण लाइनबाट बिजुली आपूर्ति गर्नुपर्ने हुन्छ। उद्योगलाई २० मेगावाटभन्दा बढी बिजुली आवश्यक पर्ने देखिएको छ।
कारखाना पूर्वाधार निर्माण सुरु गरेको २४ महिनाभित्र सूर्यताराबाट सिमेन्ट उत्पादन थाल्ने योजना रहेको उद्योगका सञ्चालकले बताएका छन्।
सूर्यतारा सिमेन्ट उद्योग स्थापना गर्न ४० बिघा जग्गा खरिद गरिएको छ। दैनिक ३ हजार टन क्लिंकर र ३ हजार टन (६० हजार बोरा) सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य छ। उद्योगले चाहिने चुनढुंगा खानी सुर्खेत बराहतालमा लिएको छ।
सूर्यतारामा बैकहरूले ऋण लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन्। कूल लगानीमध्ये ८० प्रतिशत बैंक ऋण बाँकी संस्थापकको स्वपुँजी (इक्विटी) बाट जुटाउने गरी लगानी संरचना बनाइएको छ।
दाङ सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगको स्थापना मुकुन्द तिमिल्सिनाले गरेका हुन्। विवाद आएपछि उनले ३० प्रतिशत सेयर उद्योगपति विनोद चौधरीलाई बेचेर सम्राट सिमेन्टबाट बाहिरिएका थिए। उनी सम्राटका अध्यक्ष थिए। सम्राटले २०७४ देखि सिमेन्ट उत्पादन थालेको हो।
हालसम्म ५५ सिमेन्ट उत्पादन र २० क्लिंकर उद्योग सञ्चालनमा छन्। पछिल्ला वर्ष नेपाल कच्चा वस्तु क्लिंकरमा आत्मनिर्भर हुने बाटोमा लागेको छ। अझै केही उद्योग पाइपलाइनमा छन्।