काठमाडौं। पेट्रोल/डिजेल र एलपी ग्यास खपत घट्दा हवाई इन्धनको माग बढेको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० को सात महिना अवधिमा पेट्रोल÷डिजेलसहित एलपी ग्यास खपत घट्दा हवाई इन्धन माग भने १९.२४ प्रतिशतले बढेको हो।
नेपाल आयल निगमको तथ्यांकअनुसार २०७९/८० साउनदेखि माघसम्ममा १० करोड २९ लाख ४८ हजार २ सय किलोलिटर खपत भएको छ। २०७८/७९ को सोही अवधिमा ८ करोड ६३ लाख ४० हजार किलोलिटर हवाई इन्धन खपत भएको देखिन्छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले इन्धनका अन्य वस्तु खपत घट्दा हवाई इन्धनको प्रयोग भने बढेको बताए। कोभिडका कारण गत वर्ष धेरै मुलुकमा हवाई उडान नभएका कारण इन्धन खपत घटेको र यो वर्ष सहज भएकाले माग बढेको हुनसक्ने उनको भनाइ छ।
डिजेल, पेट्रोल र एलपी ग्यासमा आर्थिक मन्दीको असर देखिए पनि हवाई इन्धनमा भने उत्साहजनकरूपमा प्रयोग भएको देखिन्छ।
निगमका अनुसार गत वर्ष सात महिनामा डिजेल ९५ करोड २५ लाख ९३ हजार लिटर खपत भएको देखिन्छ भने यो वर्ष सोही अवधिमा ६९ करोड ९२ लाख ५५ हजारमा सीमित भएको छ। यो भनेको गत वर्ष सात महिनाको तुलनामा २६.५९ प्रतिशतले कमी हो।
पेट्रोल ४१ करोड ९८ लाख ५२ हजार लिटर खपत भएकोमा यो वर्ष सोही अवधिमा ३८ करोड ६१ लाख ८४ हजार लिटर प्रयोग भएको पाइन्छ। यो भनेको ८.०२ प्रतिशतले कमी हो।
एलपी ग्यास ३० करोड ९९ लाख १४ हजार १ सय ४२ सिलिन्डर प्रयोग भएकोमा यो वर्ष सोही अवधिमा २९ करोड ४२ लाख २७ हजार ८ सय ८० सिलिन्डर खपत भएको पाइन्छ। यो ५.०६ प्रतिशतले कम हो।
मट्टितेलको प्रयोगमा त झनै कमी आएको देखिन्छ। गत वर्ष सात महिना अवधिमा ९ करोड ५५ लाख २० हजार लिटर खपत भएकोमा यो वर्ष घटेर ६ करोड ७१ लाख ४७ लिटरमा खुम्चिएको छ। यो ३६.४४ प्रतिशतले कमी हो।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले इन्धन खपत घट्नुमा आर्थिक मन्दी प्रमुख कारक रहेको बताउँछन्।
गत वर्ष तुलनामा यो वर्ष विकास निर्माण गतिविधि सुस्ताएका कारण इन्धन खपत घटेको उनको भनाइ छ। इन्धन खपत घट्दा पम्पहरूको व्यापारमा समेत कमी आएको बताए।
निगमका प्रवक्ता उपाध्याय भने पछिल्लो समय विद्युतीय सवारी साधनसँगै विद्युतीय चुल्हो प्रयोग गर्नेको संख्या बढेकाले इन्धन खपत घटेको हुनसक्ने अनुमान गरिएको बताउँछन्।
’आर्थिक मन्दीको असरसँगै विद्युतीय सवारी साधनको प्रभाव पनि परेको हुनसक्छ,’ प्रवक्ता उपाध्यायले क्यापिटल नेपालसँग भने।