काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड अग्रज निर्माण व्यवसायी जिप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ।
एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ आयोजना गर्दै महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिएका आफ्ना महासंघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई सम्मान गरेको हो । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शेर्पालाई अवार्ड प्रदान गरेका हुन्।
एघारौं एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्सनले पनि दुई महत्वपूर्ण विधामा अवार्ड जितेको छ। विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा कालिकाले अवार्ड हात पारेको हो।
बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरेबापत जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड जित्यो।
ए क्लासतर्फ उत्कृष्ट काम गरेको विधा तर्फ भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालि भक्तपुरले गोल्ड, सामानान्तर निर्माण सेवाले सिल्भर र कन्काई इन्टरनेसनल बिल्डर्स प्रालिले ब्रोन्ज अवार्ड जितेका छन्।
बी क्लासतर्फ यही विधामा सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिले गोल्ड अवार्ड जित्दा एसएल कन्स्ट्रक्सन प्रालिले सिल्भर अवार्ड हात पार्यो।
सी क्लासतर्फ यही विधामा नेसनल कन्स्ट्रक्सन प्रालि कञ्चनपुरले गोल्ड र शिवालय बिल्र्डस प्रालि काभ्रेले सिल्भर अवार्ड जित्यो । कोशी प्रदेशबाट क्लास डीतर्फ झापाको उद्देश्य निर्माण सेवाले उत्कष्ट अवार्ड जित्यो । क्लास डीमा बागमती प्रदेशबाट तेज कन्स्ट्रक्सनले अवार्ड जित्दा गण्डकी प्रदेशबाट जिएस इन्जिनियरिङले अवार्ड जित्न सफल भयो।
त्यस्तै कर्णाली प्रदेशबाट उत्तम निर्माण सेवा सुर्खेतले अवार्ड हात पा¥यो । उत्कृष्ट जिल्ला निर्माण व्यवसायी संघहरू मध्येमा तराईबाट कैलालीले अवार्ड जित्दा पहाड र हिमालबाट क्रमशः कास्की र सिन्धुपाल्चोकले अवार्ड जिते । उत्कृष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड बागमती प्रदेश महासंघले जित्यो।
उत्कृष्ट महिला निर्माण व्यवसायीमा एस एल कन्स्ट्रक्सनकी गीता शाहीले अवार्ड जितिन् भने उत्कृष्ट सर्भिस प्रमोसन कन्सल्टिङ कम्पनीको अवार्ड आर्किटेक्ट कोल्याबोरेट नेपाल प्रालिले जित्यो ।
त्यस्तै कन्स्ट्रक्सन सेक्टर एक्सिलेन्स इन्जिनियर अवार्ड इन्जिनियर नरेन्द्रकुमार देवलाई प्रदान गरियो। एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ अन्तर्गत नै महासंघले भौतिक पूर्वाधारको समाचारलाई उच्च प्राथमिकता दिने विभिन्न संचार माध्यमहरूलाई अवार्ड प्रदान गरेको छ।