काठमाडौं। नेपाली बजारमा एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले इन्डोनेसियन ब्रान्ड जेसिस्ट्सको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।
सोमबार एक कार्यक्रकाबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा स्कुटर सार्वजनिक गरिएको हो।
स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले विद्युत् खपत बढाउन विद्युतीय साधनलाई प्राथमिकता दिनुपर्ने बताए। ‘खरिदपछि मर्मत खर्च कम लाग्ने र इन्धनको मूल्य जोगिने भएकाले विद्युतीय सवारी लाभदायक छ,’ घिसिङले भने ‘त्यसैले विद्युतीय सवारीलाई प्रवर्द्धन गरिने कार्यक्रममा म सधैं उत्साहका साथ संलग्न रहने गरेको छु।’
सार्वजनिक भएको स्कुटर रातो, सेतो र कालो गरी ३ वटा रङमा उपलब्ध छ। यस स्कुटरमा ५ किलोवाटको मोटर जडान गरिएको छ भनने यसमा ड्राइभ बेल्ट समेत उपलब्ध छ। जेसिस्ट्सको इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट, २० एएचको लिथियम आयोन ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज दिन्छ। यसलाई ९० मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
यसमा रहेको ब्याट्रीमा ३ वर्षको ग्यारेन्टी उपलब्ध रहेको छ भने यसलाई चार्ज गर्न १.३ युनिट विद्युत् आवश्यक पर्छ। अन्य स्कुटरमा नभएको मोनोसक यसमा रहेको कारण ग्राभेल सडक तथा खाल्डाखुल्डी भएको सडकमा समेत लचकतापूर्ण तरिकाले चलाउन सकिने रहेको कम्पनीको दाबी छ।
यो स्कुटरमा एलइडी टेलल्याम्प, बेल्ट ड्राइभ, डबल डिस्क ब्रेक, रियर मोनोसक, डिजिटल ड्यासबोर्ड, पन्च फुट रेस्ट आदि छन्।
राइड बाई वायर इलेक्ट्रिक थ्रोटल, बीएलडीसी मोटर, एयरकुल्ड सिस्टम, पुली बेल्ट ट्रान्समिसन, २ हजार वाट रेट भएको पावर आउटपुट र ५ हजार वाट पिक पावर, ६.७ हर्स पावर, अधिकतम ३० एनएमको टर्क र ७६ किलोमिटरको अधिकतम गति आदि यसका विशेषता छन्।
इसमा इको, अर्बान र स्पोर्ट गरी तीन मोड छन् भने ५ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ। सिंगल ब्याट्रीयुक्त स्कुटरको मूल्य ३ लाख ५० हजार र डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ।