काठमाडौं। मुलुकको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण हाल ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) जडान गर्ने तयारीमा छ।
भ्वाइस, एसएमएस र डेटाको ट्राफिक मनिटरिङ, फ्रड डिटेक्सन र सेवा गुणस्तर जाँच गर्न भन्दै सामग्रीसमेत ल्याइसकेको प्राधिकरणले हाल जडानका लागि दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलसँग सहकार्य गर्ने तयारी गरिरहेको छ।
तर, अतिसंवेदनशील मानिने टेरामक्स प्रविधि नियामक निकायका रूपमा रहेको प्राधिकरणले राख्न नहुने तर्क दूरसञ्चार कम्पनीहरूको छ।
टेरामक्स यस्तो प्रविधि हो, जसमा सेवा प्रदायक कम्पनीका ग्राहकको सबै किसिमको रेकर्ड, एक व्यक्तिले अर्को व्यक्तिलाई लेखेको म्यासेजको रेकर्ड, कसले कसलाई कल गर्यो र के भन्यो भन्ने जस्ता सबै रेकर्ड रहन्छ।
प्राधिकरणले पनि यो टेरामक्स प्रविधि जडान गरेपछि सबै सेवा प्रदायकका सिस्टमको रेकर्डदेखि ती सेवा प्रदायकका ग्राहकका सम्पूर्ण किसिमका रेकर्ड राख्नसक्ने छ।
तर, नियामक निकायले ग्राहकका सबै रेकर्ड राख भनेर भन्ने र समय–समयमा रेकर्ड राखेको/नराखेको अनुगमन गर्ने काम गर्नुपर्नेमा आफैंले सबै रेकर्ड राख्न लागेको भन्दै दूरसञ्चार कम्पनी अर्थात सेवा प्रदायकले प्राधिरणको कदमप्रति असहमति जनाएका हुन्।
‘बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले पनि बैंकका ग्राहकको रेकर्ड आफैंले राख्दैन। उसले सबै बैंकलाई ग्राहकको रेकर्ड राख्न निर्देशन दिन्छ र बेलाबेला राखे/नराखेको अनुगमन गर्छ,’ सम्बद्ध स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘तर, प्राधिकरणले भने सबै सेवा प्रदायकका ग्राहकको रेकर्ड आफैंले राख्न टेरामक्स जडान गर्न खोज्नु डरलाग्दो विषय हो।’
स्रोतका अनुसार प्राधिकरणले सेवा प्रदायकलाई सबै किसिमको रेकर्ड उचित किसिमले राख्न लगाएर अनुगमन गर्नुपर्ने ठाउँमा उल्टो नियामक आफैंले रेकर्ड राख्न खोज्नु उचित कदम होइन।
‘राष्ट्र बैंकको कुरा गर्ने हो भने उसलाई अन्य बैंक नियमन गर्न ग्राहकको कुनै पनि जानकारी आवश्यक पर्दैन तर नियामकको काम उसले गरिरहेको छ,’ स्रोतले भन्यो, ‘तर, दूरसञ्चारका हकमा भने उसले यस्ता कुरामा ध्यान दिने हो कि के हो भन्ने कुरामा विचार पुर्याउनुपर्ने छ।’
राष्ट्र बैंकले बेला–बेला गएर रेकर्ड राखेको छ वा छैन भनेर हेर्ने, देखाऊ भनेर देखाउन लगाउने र माग्ने गरेजस्तै दूरसञ्चार प्राधिकरणले पनि टेलिकम कम्पनीमा ध्यान दिनुभन्दा बाहिरी कुरामा ध्यान दिन खोजेको स्रोतको दाबी छ।
त्यस्तै अन्तर्राष्ट्रिय अभ्यासमा हेर्ने हो भने टेरामक्स प्रविधि कठोर शासन व्यवस्था भएका केही सीमित देशमा मात्र प्रयोगमा रहेको पाइन्छ।
‘टेरामक्स प्रविधि चीन, उत्तर कोरिया, बंगलादेशलगायत केही देशले मात्र चलाइरहेका छन्। त्यस्ता देशले प्रयोग गरिरहेको प्रविधि नेपाल ल्याएर चलाउन थाल्नु आफैंमा शंकाष्पद विषय हो,’ स्रोतले भन्यो, ‘टेरामक्स राखेपछि फोनकल, म्यासेजलगायत सबै कुराको पूर्णजानकारी यो सिस्टम ल्याउनेको हातमा रहने भएकाले अहिलेसम्म नरहेको यो विषयबारे एकपटक सोच्नुपर्छ।’
तर, प्राधिकरण भने ट्राफिक मनिटरिङ, फ्रड डिटेक्सन र सेवा गुणस्तर जाँच गर्नका लागि टेरामक्स जडान गर्न लागिएको बताउँछ।
‘अस्ति नेपाल टेलिकमको बिलिङको कुरा आयो, जनताको पैसा बढी काटियो, सेवा गुणस्तरीय भएन भन्ने कुरा पनि आयो,’ प्राधिकरणका उपनिर्देशक तथा सहायक प्रवक्ता अच्युतानन्द मिश्रले क्यापिटल नेपालसँग भने, ‘तर, यस्तो अवस्थामा राज्य निरीह बस्नुपर्यो, केही भन्न सकेन। त्यसैले यस्ता कुरा मनिटरिङ गर्न टेरामक्स प्रविधि जडान गर्न लागिएको हो।’
उनले टेरामक्स प्रविधिका लागि आवश्यक सामग्री आइसकेकाले अब केही समयमा नै यो प्रविधि जडान हुने बताए।
‘टेरामक्सका लागि जडानका सामान आइसकेका छन्। जडानका लागि नेपाल टेलिकम र एनसेलसँग सहकार्य भइरहेको छ,’ मिश्रले भने, ‘केही प्राशासनिक प्रक्रिया पूरा गरेपछि यो चाँडै जडान हुन्छ।’
यो प्रविधि जडान भएपछि ‘फ्रड’ पत्ता लाग्नुका साथै भ्वाइस ट्राफिकको अवस्थाबारे जाँच्ने, सेवाको गुणस्तर र कम्पनीका अन्य गतिविधिमाथि निगरानी हुने उनले स्पष्ट पारे।
टेलिकम कम्पनीले सेवाग्राहीलाई सेवा दिएवापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्वजस्ता गतिविधिमा पनि निगरानी गर्ने लक्ष्यसहित प्राधिकरणले टेरामक्स जडान गर्न लागिएको मिश्रले जानकारी दिए।
कूल २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ८ करोड १० रुपैयाँ) लागत रहेको यो योजनाका लागि आवश्यक सामग्री आपूर्ति जिम्मा पाएको लेबनानको भानराइस सोलुसन कम्पनीले पहिलो चरणमा आवश्यक सर्भर, मोबाइल र टेस्टकिट लगायत सामग्री ल्याइसकेको छ।
टेरामक्स प्रविधि काठमाडौंको चाबहिल र हेटौंडाको सेकेन्डरी डेटा सेन्टर (जिआइडिसी) मा जडान हुने प्राधिकरणले जनाएको छ। यसका लागि दुई चरणमा काम हुनेछ। जसअन्तर्गत पहिलो चरणमा आयोजनाको डिजाइन, विकास र प्रणाली जडान हुनेछ भने दोस्रो चरणअन्तर्गत जडानकर्ता कम्पनीले आगामी पाँच वर्षसम्म यो प्रणाली व्यवस्थापन गर्ने छ।
टेरामक्स प्रविधि जडानका लागि प्राधिकरणले सन् २०१७ मै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। जसमा १६ कम्पनीले आशयपत्र बुझाए पनि लेबनान, टर्की, स्विजरल्यान्ड र फ्रान्सका कम्पनी छनौटमा परेका थिए। त्यसपछि लेबनानको सोलुसनले ठेक्का पाएको थियो।
ठेक्कापछिका प्रक्रियामा प्रश्न उठेपछि सर्वोच्चमा मुद्दा परेको थियो। मुद्दाको फैसला गर्दै अदालतले सम्झौताअनुसार काम गराउन आदेश दिएपछि हाल सोहीअनुसार प्राधिकरणले टेरामक्स जडान प्रक्रिया अगाडि बढाएको हो।विशेषगरी टेरामक्सले टेलिकम कम्पनीले दिने सेवामाथि निगरानी गर्ने काम गर्छ।
टेलिकम कम्पनीमा विदेशबाट आउने अनधिकृत फोन कल बाइपासमाथि पूर्णरूपमा निगरानी राख्ने यो प्रविधिले राष्ट्रिय र अन्तर्राष्ट्रिय ‘भ्वाइस डेटा ट्राफिक भोल्युम’ परीक्षणसमेत गर्ने काम गर्छ। कल रेकर्ड (सिडिआर) विश्लेषण गर्ने, फ्रड पत्ता लगाउने र भ्वाइस ट्राफिकको अवस्था पनि यसले जाँच्न सक्छ।
टेलिकम कम्पनीमा रहेको वास्तविक समस्या पत्ता लाग्ने र राजस्व छली गरे दायरामा आउने र समस्या पत्ता लागे समाधानमा सहयोग पु¥याउने उद्देश्यले टेरामक्स जडान गर्न लागेको प्राधिकरणले बताए पनि नियामक निकायले अनावश्यक तथ्यांक राख्न खोजेको सेवा प्रदायकको दाबी छ।