काठमाडौं। सरकार अस्थिर हुँदा बाहिरी चक्रपथको ‘अलाइनमेन्ट’ परिवर्तन अध्ययनको काम अघि बढ्न सकको छैन। बाहिरी चक्रपथ आयोजनाले पुरानो अध्ययनअनुसार काम गर्न सहज नभएपछि चालू आर्थिक वर्षमा अलाइनमेन्ट अध्ययनको योजना अघि सारेको थियो।
तर, यो वर्ष सरकार स्थिर हुन नसक्दा अलाइनमेन्ट परिवर्तनको विषयमा सहरी विकास मन्त्रालयमा छलफल हुन नसकेको आयोजना प्रमुख जगदीश लामिछाने बताउँछन्।
‘पहिलाको अध्ययनले अहिले काम गर्न सहज नहुने देखिएपछि आयोजनाले अलाइनमेन्ट परिवर्तनको योजना बनाएको थियो,’ लामिछानेले क्यापिटल नेपालसँग भने, ‘योजना हाम्रो भए पनि निर्णय मन्त्रालयबाटै हुनुपर्छ। त्यसका लागि सरकार स्थिर हुनुपर्यो।’
बहिरी चक्रपथ निर्माणका लागि १७ वर्ष पहिला विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको थियो। तर, डिपिआरले रेखांकन गरेका अधिकांश स्थानमा सरकारी तथा व्यक्तिगत संरचना निर्माण भएकाले फेरि अध्ययन गर्नुपरेको आयोजना प्रमुख लामिछाने बताउँछन्। तै पनि चक्रपथको सम्पूर्ण डिपिआर नै परिवर्तन भने नहुने उनको भनाइ छ।
डिपिआरअनुसार बाहिरी चक्रपथको लम्बाइ ७२ किलोमिटर हुनेछ। नयाँ हुने अध्ययनले उक्त लम्बाइमा घटबढ हुनसक्छ। १७ वर्ष पहिला अध्ययन भएको डिपिआर धेरै पुरानो भएकाले आयोजनाले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन। डिपिआरले तय गरेको रेखांकनमा अहिले धेरै संरचना बनिसकेका छन्। त्यसको एक उदाहरण चोभार सुक्खा बन्दरगाह पनि हो।
उक्त बन्दरगाह बाहिरी चक्रपथको रेखांकन भएकै स्थानमा निर्माण भएको छ। बन्दरगाह २०७८ चैतबाट सञ्चालनमा आइसकेको छ। बन्दरगाहसँगै अन्य धेरै संरचना चक्रपथ आयोजना क्षेत्रमा निर्माण भएकाले बाहिरी चक्रपथ बनाउँदा क्षति धेरै हुने आयोजनाको भनाइ छ।
आयोजना स्थलमा क्षति कम गर्न चालू आर्थिक वर्ष वैकल्पिक अध्ययन गर्ने योजना रहेको आयोजना प्रमुख लामिछाने बताउँछन्। जहाँ केही खाली स्थान र भवनलगायत अन्य संरचना कम हुन्छ, त्यहीँबाट नयाँ अलाइनमेन्ट बनाउने योजना छ। यसबारे मन्त्रालयमा पुनः छलफल हुनेछ।
जसका कारण अलाइनमेन्ट अध्ययन मिति भन्न आयोजनाले सकेको छैन। ‘कहिले अध्ययन सुरु हुन्छ, कसरी अध्ययन गरेर कहिलेसम्म सकिन्छ भन्ने विषय अहिले भन्न सकिँदैन,’ आयोजना प्रमुख लामिछानेले भने।
तर, आयोजनाले भने चालू आर्थिक वर्ष अध्ययन सुरु गरेर यही वर्ष अत्य गर्ने योजना बनाएको छ। यो योजना पूरा हुने सम्भावना भने कम हुँदै गएको छ।
कूल ७२ किलोमिटर लम्बाइमध्ये चोभार–सतुङ्गल ६.६ किमी खण्डमा मात्रै १७ वर्षयता १ सय २० घर निर्माण भएको आयोजनाले जनाएको छ।
अन्य स्थानमा उक्त खण्डभन्दा बढी संरचना निर्माण भएको बताइएको छ। कस्ता–कस्ता घर, कतिवटा निर्माण भएका छन्, यकिन गर्ने र तिनीहरूको क्षति कम गरी बाहिरी चक्रपथ बनाउने योजना रहेको आयोजनाको भनाइ छ।
बाहिरी चक्रपथ अपरिहार्य रहे पनि सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न नसकेको प्रमुख लामिछाने बताउँछन्। आयोजनाको काम गर्न थोरै बजेट विनियोजन हुँदा कुनै काम गर्न नसकी आयोजनाले बजेट फिर्ता पठाउँदै आएको छ। साथै, अध्ययन भएको डिपिआरमा काम पनि हुन सकेको छैन।
डिपिआर तयार गर्दा चार मिटरको बाटो बनाउन पाउने व्यवस्था थियो। तर, अहिले ६ मिटरभन्दा कमको बाटो बनाउन नपाउने व्यवस्था छ। जसका कारण बाहिरी चक्रपथका लागि पुरानो डिपिआर परिमार्जन गर्नुपर्ने आवश्यकता छ।
वैकल्पिक अध्ययन गर्न बजेट ५० लाख
आर्थिक वर्ष २०७९/८० मा बाहिरी चक्रपथका लागि १ करोड ८० लाख ६६ हजार रुपैयाँ बजेट प्राप्त भएको छ। जसमध्ये ५० लाख रुपैयाँ वैकल्पिक अलाइनमेन्ट अध्ययन शीर्षकमा खर्च गर्ने आयोजनाले जनाएको छ।
५० लाखले अलाइनमेन्टको वैकल्पिक अध्ययनका लागि लगभग पुग्ने आयोजनाले जनाएको छ। आयोजना प्रमुख लामिछानेका अनुसार यसअघि डिपिआर तयार गर्दा धेरै अध्ययन भएकाले वैकल्पिक अध्ययन गर्न बजेट धेरै आवश्यक नपर्ने भएको हो।