एजेन्सी। सिलिकन भ्याली बैंक टाटपल्टिएको दुई दिनपछि क्रिप्टो उद्योगमा लगानी गर्दै आएको अमेरिकाको सिग्नेचर बैंक बन्द भएको छ। वित्तीय संकट आउने देखेपछि नियामक निकायले न्यूयोर्कमा रहेको सिग्नेचर बैंक बन्द गराएको हो।
सिग्नेचर क्रिप्टोकरेन्सी व्यवसायमा लगानी गर्ने ठुलो बैक हो। सिग्नेचर बैंकको कुल सम्पत्ति १ खर्ब १० अर्ब र निक्षेप ८८ अर्ब ६० करोड डलर छ।
सिग्नेचर बैंकका धेरै ग्राहकहरु क्रिप्टो कारोबारी थिए। सिग्नेचर बैंक बन्द हुनु भनेको डिजिटल सम्पत्तिहरूको लागि अर्को ठूलो झट्का हो।
यसअघि सिल्भरगेट क्यापिटल कर्पोरेशन बन्द भइसकेको छ। सिग्नेचर बन्द हुने तेस्रो अमेरिकी बैंक भएको छ। बन्द भएका तीनवटै बैंकले क्रिप्टोमा लगानी गरेका थिए। यि तीन बैंकहरुले डिजिटल सम्पत्तिलाई तरल बनाउन सघाइरहेका थिए।
याे पनि पढ्नुहाेस्
अमेरिकाको सिलिकन भ्याली बैंक डुब्यो, २००८ को जस्तै मन्दीमा फर्कने त्राश
यसमा मार्च ८ सम्म क्रिप्टोसम्बन्धित ग्राहक निक्षेपहरूमा साढे १६ अर्ब डलर थियो। सम्भावित वित्तीय संकट रोक्न बैंक बन्द गराएको नियामकले जनाएको छ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै बैंक बन्दको घोषणा गरेका हुन्।
विज्ञप्तिमा सिग्नेचरका निक्षेपकर्ताहरूको रकम सुरक्षित रहको जानकारी नियामकहरुले दिएका छन्। अमेरिकमा साढे २ लाख डलर निक्षेपको बिमा गरिएको हुन्छ।
सन् २००८ पछि अमेरिकी बैंकिङ क्षेत्रमा सिग्नेचर तेस्रो ठूलो असफलता भएको बताइएको छ। शुक्रबार बन्द भएको सिलिकन भ्याली बैंकका ग्राहकहरूले सोमबारदेखिनै निक्षेप फिर्ता पाउने नियामकले जनाएको छ।
सिग्नेचर बैंक बन्द गराएपछि न्यूयोर्कका गभर्नर क्याथी होचुलले सरकारको कदमले बैंकिङ प्रणालीको स्थिरता ल्याउने बताएकी छिन्।
शुक्रबार २ खर्ब ९ अर्ब डलर सम्पत्ति भएको सिलिकन भ्याली बैंक बन्द भयो। सन् २००८ मा ३ खर्ब ७ अर्ब डलर सम्पत्ति भएको वासिङटन म्युचुअल बैंक बन्द भएको थियो।
सो बैंक बन्द भएपछि अमेरिकामा ल्याहमेन ब्रदरलगायत ठूला बैंक टाट पल्टिएर विश्वमा आर्थिक मन्दी आएको थियो। टाटपल्टिएका बैंकहरुलाई पुर्नजीवन दिने संघीय सरकारले ७ खर्ब डलर लगानी गरेको थियो।