काठमाडौं। प्रस्तावित ४ सय ८० मेगावाटको फुकोट कर्णाली अर्धजलाशय आयोजना अघि बढाउन विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) र भारतको नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) बीच समझदारी (एमओयु) हुन लागेको छ।
एमओयुका लागि दुई कम्पनीबीच छलफल भइरहेको छ। भियुसियल र एनएचपिसीबीच छिट्टै एमओयु हुने भियुसियलका सञ्चालक तथा विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले बताए। प्रारम्भिक सम्झौता गरेर अघि बढ्ने गरी छलफल भइरहेको चटौतले जानकारी दिए।
उनका अनुसार आयोजनामा भियुसिएलको ४९ र एनएचपिसीको ५१ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पार्न लागिएको छ। यद्यपि यसमा सहमति हुन बाँकी छ। स्वपुँजीबाहेक आवश्यक पर्ने थप लगानी खोज्न एनएचपिसीलाई जिम्मा दिने कुरा भएको छ।
७ सय ५० मेगावाटको पश्चिम सेती र ४ सय ५० मेगावाटको सेती नदी–६ आयोजनाको सर्वेक्षण अनुमति (लाइसेन्स) पाएको एनएचपिसीले सरकार स्वामित्वको भियुसिएल सँगको साझेदारीमा फुकोट कर्णाली अर्धजलाशय आयोजना बनाउन लागेको हो।
नेपालको भियुसिएल र भारतको एनएचपिसी दुवै सरकारी स्वामित्वका कम्पनी हुन्।
आयोजना बनाउन ९२ अर्ब रुपैयाँ लाग्ने भियुसिएलले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ। फुकोट कर्णालीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भियुसिएलले तयार पारिसकेको छ। ऋणको ब्याज ११ प्रतिशत मान्दा बिजुली बेचेर आयोजनाले ६ वर्षमा ऋण चुक्ता गर्न सक्ने भियुसियलले जनाएको छ।
एमओयुमा हस्ताक्षर भए कालिकोटको सानी त्रिवेणी गाउँपालिका–१ मा ४ सय ८० मेगावाट क्षमताको अर्धजलाशययुक्त फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण हुनेछ। आयोजनाको सम्भाव्यता अध्ययन सकिएको छ।
आयोजनाबाट वार्षिक २ अर्ब ४४ करोड ७० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। मूल आयोजनबाट ४७४ मेगावाट र टोइ ड्यामबाट थप ६ मेगावाट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ। आयोजनाको हेड १६८ मिटर हुने छ।
सानी त्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा ५ सय २० मिटरको परीक्षण सुरुङ खनेर १ सय ६० मिटर अग्लो बाँध निर्माण गरी १३.५ किलोमिटर सुरुङबाट सानीको भौतेगाडामा निर्माण हुने विद्युत् आयोजनामा जोड्ने योजना छ। निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा हुने अपेक्षा छ।
सम्झौताको मस्यौदाअनुसार नेपालले आयोजनाबाट २१.९ प्रतिशत निःशुल्क ऊर्जा पाउने छ। नेपालले आयोजनाको बिजुली आफैं उपभोग गर्न चाहे किन्न पाउने हक हुनेछ। आयोजनाका अतिरिक्त विद्युत् भारत निर्यात गरिने छ।
यता भियुसिएलले फुकोट कर्णालीको परीक्षण सुरुङ खन्ने काम जारी राखेको छ। दुवैतर्फ ५ सय २० मिटर सुरुङ खन्नुपर्नेमा ४ सय ८० मिटर खनिसकिएको छ भने अब ४० मिटरमात्र खन्न बाँकी रहेको आयोजना प्रमुख हिरामान वाइबाले बताए।
आयोजनाका लागि सुरुङ निर्माण गर्नुअघि त्यसको सम्भाव्यता अध्ययन स्वरूप परीक्षण सुरुङ खनिने उनले बताए। सुरुङ बनाउने पहाडभित्र त्यसका लागि उपयुक्त छ वा छैन भनेर परीक्षणका लागि सुरुङ खन्ने गरिन्छ ।
सिस्नेगाडामा बनाइने जलाशयबाट १३.५ किलोमिटर सुरुङमार्फत भौतेगडामा पानी खसाएर विद्युत् उत्पादन हुने प्रस्ताव गरिएको छ। प्रस्तावित आयोजना राजधानी काठमाडौंबाट ७८० किलोमिटर दूरीमा छ।