बीबीसी। विश्वकै सर्वाधिक धनी इलोन मस्कको कम्पनीले सन् २०२३मा नेपालमा स्याटलाइट (भूउपग्रहहरूको व्यापक सञ्जालबाट) इन्टरनेट सेवा उपलब्ध गराउन चासो देखाएका छन्।
विश्वको सबैभन्दा महंगो टेस्ला विद्युतीय कार उत्पादन गर्दै आएका मस्कले पछिल्लो समयमा सामाजिक सञ्जाल ट्विटर इंकको खरिद गरेका छन्। यस्तै उनको लगानी भएको कम्पनी स्पेस एक्सको वेबसाइटमा स्टारलिङ्कले नेपालमा पनि सेवा दिने सोच बनाएको बुझिएको छ।
स्पेस एक्सका अधिकारीहरूले अनलाइनमार्फत् अनौपचारिक रूपमा नेपालमा कसरी आउन सकिन्छ भन्ने विषयमा छलफल गरेको नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।
उनले नेपालमा आउने विषयमा नेपालको इजाजत पत्र दिने प्रक्रियाका विषमा जिज्ञासा राखेको उनले बताए।
स्पेस एक्सको वेबसाइटमा दक्षिण एसियाली मुलुकहरूमा नेपाल, भुटान, श्रीलङ्का र मालदिभ्समा यो वर्ष इन्टरनेट सेवा सुरु गरिने उल्लेख गरिएको छ।
त्यस्तै भारत अनि पाकिस्तानमा नियामक निकायबाट स्वीकृति प्राप्त गर्न बाँकी रहेको अनि बंंगलादेशमा सन् २०२४मा उक्त सेवा सुरु गर्ने योजना रहेको कम्पनीले सार्वजनिक गरेको नक्सामा उल्लेख छ।
यो सेवा अमेरिका, क्यानडा, ब्रिटेन, फ्रान्स, स्पेन, जर्मनी र इटलीसहित कैयौँ युरोपेली देशमा उपलब्ध छ। अस्ट्रेलियामा पनि यो सेवा उपलब्ध छ भने अफ्रिकाका केही देशमा स्टारलिङ्क इन्टरनेट उपलब्ध रहेको र बाँकी केहीमा सेवा सुरु हुने सम्भावित वर्षबारे जानकारी गराइएको छ। सन् २०२३मा नेपालमा सेवा उपलब्ध गर्ने स्पेस एक्सको वेबसाइटमा उल्लेख छ
नेपालमा सेवा सुरु गर्नका लागि जानकारी लिन चाहेका स्टारलिङ्कका अधिकारीहरूलाई प्रक्रियाबारे जानकारी गराइएको खनालले जानकारी दिए। तर, उक्त कम्पनीले नेपालका लागि पनि स्टारलिङ्क इन्टरनेट सेवाका लागि आवेदन दिन सकिने वेबसाइटमा उल्लेख गरेको छ।
‘‘तपाइको स्टारलिङ्क सुरक्षित गर्न अर्डर गर्नुहोस्। तपाइको क्षेत्रमा सन् २०२३मा स्टारलिङ्कले सेवा सुरु उपलब्ध गराउने लक्ष लिएको छ,’’ स्पेस एक्सको वेबसाइटमा उल्लेख छ।
तर उपलब्धता भने नियामक निकायको स्वीकृतिमा निर्भर रहेको कम्पनीले जनाएको छ। सुरुवाती कुराकानीका अनुसार सेवा सुरु गर्न स्टारलिङ्कका लागि नेपालको कानुनी प्रावधानबाधक बन्न सक्ने सम्भावना देखिएको छ।
स्टारलिङ्कले पूर्ण स्वामित्व आफूले राखेर नेपाली बजारमा प्रवेश गर्न चाहेको प्राधिकरणसँगको छलफलका क्रममा जनाएको बताइएको छ।
यता दूरसञ्चार नीति २०६०ले दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्ने भए पनि त्यस्तो लगानीमा न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ।
‘‘हजारौँ स्याटलाइट अन्तरिक्षमा पठाएका छौँ। त्यसलाई व्यवस्थापन गर्नुपर्यो भने २० प्रतिशत स्वामित्व भएकाको बोर्डमा स्वीकृति कुरुन्जेल त ‘ त्यहाँ त हामीले मिनेटमा निर्णय लिनुपर्ने हुन्छ ‘ (स्टारलिङ्कका अधिकारीहरूले) सक्दैनौँ अप्ठ्यारो हुन्छ भन्नुभएको थियो,’’ खनालले भने।
विद्यमान कानुनले त्यस्तो गर्न नदिने भए पनि कम्पनीको चासो के हो त्यो ल्याएपछि सरकारसँग समन्वय गरेर उनीहरूको माग बमोजिम गर्न सकिने रहेछ भने आफूहरूले प्रक्रिया अघि बढाउने जवाफ प्राधिकरणले दिएको छ।
इन्टरनेटमा कतिपय देशहरूले सत प्रतिशत विदेशी स्वामित्व स्वीकार गरिसकेको अवस्थामा सरकारले पनि त्यस्तो गर्न आवश्यक ठाने स्वीकृति दिन सकिने खनाल बताउँछन्।
सन् २०२२ को फेब्रुअरीमा स्पेस एक्सले एउटै रकेटबाट ४९ वटा स्टारलिङ्कका भूउपग्रहहरू पठाएको थियो। स्टारलिङ्कले भूउपग्रहहरूको व्यापक सञ्जालबाट इन्टरनेट सेवा उपलब्ध गराउँछ। यो दुर्गम क्षेत्रमा बस्ने र द्रुत गतिको इन्टरनेटमा पहुँच नहुने मानिसहरूका लागि लक्षित छ।
स्टारलिङ्कका भूउपग्रहहरू एक अर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेटको गति तीव्र बनाउने उद्देश्यले कक्षको तल्लो तहमा पृथ्वीको वरिपरि राखिएका छन्। विश्वभरि पहुँचका लागि तल्लो तहमा रहने भूउपग्रहहरूको आवश्यकता पर्छ।
स्टारलिङ्कले सन् २०१८ देखि २०२२को अगस्ट महिनासम्म मा करिब ३ हजार भूउपग्रहहरू अन्तरिक्षमा राखेको ठानिएको छ।
प्राधिकरणका अनुसार स्टारलिङ्कको स्याटलाइट कक्षको तल्लो तहमा राखिएको छ। अन्य स्याटलाइट जियोस्टेशनमा माथि छन्।
दूरीका हिसाबले धेरै तल भएकाले स्टारलिङ्क इन्टरनेटले उच्च गतिमा सेवा दिन सक्छ। यो प्रविधिमा स्याटलाइटबाट सिधा सम्पर्क स्थापित हुन्छ।
तार वा फाइबर लान नसकिने क्षेत्रमा समेत मोबाइल सेवा सञ्चालन गर्न सकिने गरी आफूहरूले सेवा दिन सक्ने उक्त कम्पनीले जनाएको हो।
हिमाली क्षेत्रमा पर्वतारोहणका लागि गएका मानिसहरू हराउने, हिम पहिरो लगायतका गतिविधिबारे पूर्वानुमान गर्न नसकिएको अवस्थामा उक्त सेवाले ग्रामीण भेगमा सर्वसाधारणहरूले ब्रोडब्यान्ड इन्टरनेट चलाउन सहज पारिदिने हुँदा आफूहरू उत्साहित भएको प्राधिकरणले जनाएको छ।
तर, नेपालका लागि यो प्रविधि नयाँ भने होइन। विगत देखिनै मर्कन्टाइलले भीस्याट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।
त्यस्तै कसेफीक ब्रोडब्यान्ड स्याटलाइट ग्रुपले सन् २०२२बाट नेपालमा स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।