एजेन्सी। आफ्नो प्रभाव संसारभरि फैलाउन विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सन् २०१३ मा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) परियोजना अघि बढायो।
चिनियाँ लगानीमा स्थल र समुद्री मार्गमार्फत जोड्न अघि सारिएको उक्त परियोजनालाई २०१५ बाट परिमार्जन गरी बिआरआई नाम दिइएको थियो। त्यसपछि सडक सञ्जालसाथै पूर्वाधार विकास निर्माण र अन्य क्षेत्र समेटिएका छन्।
बिआरआई परियोजना कार्यान्वयनमा आएको एक दशक भइसकेको छ। उक्त अवधिमा बिआरआईले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशमा ठूला पूर्वाधारमा १० खर्ब अमेरिकी डलरबराबर लगानी गरिसकेको छ। ३ हजारभन्दा बढी नयाँ सहकारी परियोजना स्थापना गरेको छ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशमा अहिले बिआरआई परियोजना सञ्चालनमा छन्। छिमेकी नेपाल पनि २०१७ मा नेपाल बिआरआई ‘फ्रेमवर्क’ मा आबद्ध भएको हो। नेपाल–चीनबीच २०१७ मेमा बिआरआईको साझेदार पक्षमा हस्ताक्षर भएको थियो ।
बिआरआईमार्फत १० खर्ब (१ ट्रिलियन) डलर लगानी गरिसकेको चीनले ती देशबाट व्यापारमा ठूलो लाभ लिइरहेको छ। सन् २०२२ मा बिआरआई बजारहरूसँगको चीनको व्यापारले यसको कूल विदेशी व्यापारको ३२.९ प्रतिशत हिस्सा ओगटेको छ। जुन २०२१ को तुलनामा ३.२ प्रतिशत बढी हो।
२०२३ को पहिलो दुई महिना बिआरआई बजारसँगको चीनको व्यापार १०.१ प्रतिशतले बढेर कूल २१ खर्ब २० अर्ब युआन पुगेको छ। बिआरआईमा आबद्ध देशबाट मात्रै चीनले ३ खर्ब ८० अर्ब ६० करोड युआन भन्दा बढी व्यापार बचत गरेको छ।यति मात्र हैन चीनले बिआरआई परियोजनामा आफ्ना देशका निर्माण व्यवासयीलाई ठेक्का दिलाएर लगानी गरेको रकम देशभित्रै फिर्ता ल्याउने गरेको छ।
२०२३ देखि वा १४औं पञ्चवर्षीय योजना (२०२१–२०२५) को सम्पूर्ण अवधिमा बिआरआई व्यापारले एक तिहाइ हिस्सा ओगट्ने प्रक्षेपण चीनले गरेको छ। चीनको सम्पूर्ण वैदेशिक व्यापार र बिआरआई बजार चीनको वैदेशिक व्यापारका लागि प्रमुख गन्तव्य बन्ने देखिएको छ।
बिआरआईको विशाल सम्भावना कसरी उपयोग गर्ने भन्नेबारे अहिले चीनमा बहस चलिरहेको छ। चीनमा जारी राष्ट्रिय जनकंग्रेस बैठकको दुई सत्रमा प्रतिनिधि र सदस्यहरूले आफ्ना प्रस्ताव ल्याएका छन्।
बिआरआई चीनद्वारा सुरु गरिए पनि सबै साझेदारले संयुक्त रूपमा निर्माण गरेको हुनाले यसको फाइदा विश्वले लिने चीनले बताउँदै आएको छ।
बिआरआई फ्रेमवर्कमा विश्वका तीन चौथाइभन्दा बढी देश र ३२ अन्तर्राष्ट्रिय संस्थाको सहभागिता आकर्षित गरेको चिनियाँ विदेशमन्त्री छिन गाङले बताएका छन्।
चीन–लाओस रेलवेले लाओसलाई भूपरिवेष्ठित देशबाट भूजडित देशमा परिणत गरेको छ। नोरोचोलाई पावर प्लान्टले श्रीलंकाको बिजुली आपूर्तिमा योगदान पु¥याएको छ। मोम्बासा–नैरोबी रेलवेले स्थानीय आर्थिक वृद्धिलाई दुई प्रतिशतभन्दा बढी अंकले बढाएको विदेशमन्त्री गाङको दाबी छ।
बिआरआई बजारको विशेष आवश्यकता पूरा गर्न नयाँ ठाउँ खोल्ने, स्थानीय क्षमता बढाउने प्रस्तावले पूर्वाधार निर्माणदेखि वित्तपोषण र व्यावसायिक तालिमसम्मका विभिन्न मुद्दा समेटेका उनको भनाइ छ।
चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) को राष्ट्रिय समितिका सदस्य तथा अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी तान युहेङले चिनियाँ मुख्य भूमि र हङकङले संयुक्तरूपमा हङकङ स्टक एक्सचेन्जमा बिआरआई वित्तीय बोर्ड निर्माण गर्नुपर्ने सुझाव दिए। बिआरआई बजारहरूको वित्तीय आवश्यकता पूरा गर्ने ठाउँ भएको उनको तर्क छ।
यस्तो बोर्डले इक्विटी र बन्ड फाइनान्सिङ र अन्य अद्वितीय प्रकारका लगानी र वित्तपोषणलाई ‘ट्याप’ गर्न सक्छ। लामो निर्माण अवधि र अपेक्षाकृत स्थिर प्रतिफल सम्भावना भएका ठूला बिआरआई परियोजनाले हङकङमा बन्ड जारी गर्नसक्ने सुझाव दिइएको छ।बिआरआईले चिनियाँ कम्पनीलाई विदेश जान ठूलो अवसर सिर्जना गरेको छ।
बिआरआईको एक दशक
चीनले तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’ को सफल आयोजनाका लागि ठूलो प्रयास गर्ने भएको छ। यसको जानकारी परराष्ट्रमन्त्री छिन गाङले गराइसकेका छन्।
२०१३ मा प्रस्तावित भएदेखि बिआरआईले साझा विकासको फराकिलो बाटो निर्माण गर्दै संलग्न देश र क्षेत्रका लागि भौतिक फाइदा ल्याएको दाबी उनको छ।
विदेशमन्त्री गाङले एक दशकमा बिआरआईले करिब १० खर्ब डलर लगानी जुटाएको र ३ हजारभन्दा बढी नयाँ सहकारी परियोजना स्थापना गरेको जानकारी दिए।
त्यस्तै यसमा संलग्न देश र क्षेत्रका लागि ४ लाख २० हजार रोजगारी सिर्जना भएको, करिब ४ करोड मानिसलाई गरिबीबाट बाहिर निकालिएको उनले बताए।
बिआरआईले विकासको फराकिलो मार्ग निर्माण गर्छ
१० वर्षमा बिआरआईको निर्माणले उल्लेखनीय नतिजा हासिल गरेको छ। तर, अन्तर्राष्ट्रिय वातावरण परिवर्तनसँगै नयाँ चुनौती सामना गर्दै नयाँ अवसर सदुपयोग गर्न आवश्यक भएको विदेशमन्त्री गाङको भनाइ छ। बिआरआईले विश्वलाई आर्थिक मन्दीबाट बाहिर निकाल्ने उनको दाबी छ।
बिआरआईलाई विश्वव्यापी रूपमा उच्च गुणस्तरीय सहयोग मञ्चका रूपमा निर्माण गर्न, चिनियाँ आधुनिकीकरण र बीचको सम्बन्धलाई बढावा दिने प्रयाससहित माथिदेखि तलको डिजाइनलाई सञ्चालनका लागि थप उपयुक्त र लोकप्रिय बनाउन पाँच वर्षे मार्गचित्र र समयतालिका बनाइनुपर्ने सुझाव सम्मेलनमा आएका छन्।
बिआरआईका फलदायी उपलब्धी बेवास्ता गर्दै पश्चिमा सञ्चारमाध्यमहरूले सम्बन्धित देशलाई ऋणको पासोमा पारेको भनाइ राखिरहेका छन्।
तथाकथित ऋणजाल सिर्जना गरेको आरोप चीनले अस्विकार गर्दै आएको छ। तथ्यांकअनुसार बहुपक्षीय संस्था र व्यावसायिक ऋणदाताले उनीहरूको ऋणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्। जुन उनीहरूको ऋण बोझको सबैभन्दा ठूलो स्रोत हो।
गत वर्ष अमेरिकाको अभूतपूर्व ब्याजदर वृद्धिले ठूलो पुँजी बहिर्गमन निम्त्यायो र उनीहरूको ऋण स्तरमा नकारात्मक असर पारेको भनाइ चीनको छ।
चीनले ती देशको ऋण बोझ कम गर्न निरन्तर प्रयास गरिरहेको छ र ‘जि२०’ सदस्य देशमा ऋण सेवा निलम्बन पहलमा सबैभन्दा ठूलो योगदान गरेको छ।
‘चीनले रचनात्मक मनोवृत्तिका साथ अन्तर्राष्ट्रिय ऋण समस्या समाधानमा भाग लिने छ,’ चीनका लागि पाकिस्तानका राजदूत मोइन उल हकले ग्लोबल टाइम्सलाई भनेका छन्, ‘पश्चिमा मिडिया रिपोर्टहरू नक्कली समाचार हुन्।’
उनले बिआरआई र चीन–पाकिस्तान आर्थिक करिडोर परियोजनाले पूर्वाधार विकास र औद्योगिकीकरणमा पाकिस्तानको आर्थिक परिदृश्य परिवर्तन गर्न ठूलो योगदान गरेको बताए।
बिआरआईमार्फत चीनबाट ठूलो ऋण लिएको पाकिस्तान अहिले आर्थिक संकटको पासोमा परेको छ।
बिआरआई व्यावहारिक र खुला छ तथा बिआरआई देशमा ऋण समस्याका लागि चीनलाई दोषी ठहराउने गलत काम भइरहेको चिनियाँ विदेशमन्त्री गाङले १४औं राष्ट्रिय सम्मेलनको पहिलो सत्रमा बताएका थिए।
चीनले यस वर्ष अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बिआरआई फोरम आयोजना गर्ने छ र सम्बन्धित पक्षसँग मिलेर थप नयाँ उपलब्धी हासिल गर्न काम गर्ने आसा जगाउने चिनियाँ अधिकारीहरूको भनाइ छ।
(ग्लोबल टाइम्सको सहयोगमा)