काठमाडौं। मुलुकका ठूला निर्माण व्यवसायी कम्पनीमध्ये एक ‘शर्मा एन्ड कम्पनी प्रालि’ सँग मात्रै ३१ अर्ब रुपैयाँभन्दा बढीका परियोजना छन्।
‘क’ वर्गको शर्मा एन्ड कम्पनीले विभिन्न सडक, पुल, खानेपानी र भवन निर्माण ठेक्काको काम पूरा गर्न बाँकी छ। यीबाहेक शर्मासँग अझै ३० अर्ब रुपैयाँको परियोजना ठेक्कामा भाग लिने क्षमता छ।
कोभिड महामारीका कारण शर्माले ठेक्का पाएका अधिकांश आयोजना पछाडि धकेलिएका छन्। ती आयोजनाको म्याद असारसम्म छ। कम्पनीले एक वर्षमा २ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबर कारोबार गरेको छ।
सन् २०२१ मा शर्माले १ अर्ब ८९ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको थियो। एक वर्षमा उसको कारोबार ३० प्रतिशत अर्थात ५७ करोड ७७ लाख रुपैयाँ बढेको छ।
यसबीचमा कम्पनीले मेसिन र भवन भाडाबाट पनि आम्दानी गरेको छ। कारोबारको आकार बढे पनि निर्माण सामाग्री भाउ बढेकाले कम्पनीको मार्जिनमा गिरावट आएको छ।
यस्तै २०२० मा कम्पनीले ८८ करोड ३२ लाख र २०१९ मा १ अर्ब ५६ करोड ८१ लाख रुपैयाँको कारोबार गरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको १० अर्ब ७० करोड रुपैयाँबराबर ऋण छ। उक्त ऋणको रेटिङ इक्रा नेपाल लिमिटेडबाट गराएको छ। शर्माले सञ्चालन गरिरहेका अधिकांश आयोजना सार्वजनिक क्षेत्रसँग सम्बन्धित छन्।
रोजगारदाता सरकार, यसका मन्त्रालय वा सम्बन्धित निकाय हुन्। यसबाहेक शर्माले पनि थोरै आयोजनाको जिम्मेवारी लिएको छ। त्यस्ता आयोजना कार्यान्वयनमा हुने ढिलाइले कम्पनीलाई जोखिम बढाउन सक्छ।
बैंक ग्यारेन्टी बाँडफाँट, कालोसूचीमा राख्नेलगायत गैरकार्यसम्पादनले कम्पनीको वित्तीय प्रोफाइललाई खलल पार्न सक्ने तथा संयुक्त उद्यम परियोजनातर्फ ठूलो संख्यामा काम गर्दा अनुगमन क्षमता सीमित हुने इक्राले जनाएको छ।
सन् १९६६ मा राधाकृष्ण शर्माले शर्मा एन्ड कम्पनी स्थापना गरेका थिए। कम्पनीले १९८० मा सरकारबाट ‘क’ वर्गको स्तर पाएको हो। कम्पनीको पुल, सडक, भवन, खानेपानीलगायत आयोजनामा उपस्थिति छ।
पारिवारिक कम्पनी शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेशकुमार शर्मा हुन्। कम्पनीमा उनको ६७ प्रतिशत स्वामित्व छ। बाँकी ३३ प्रतिशत स्वामित्व परिवारका अन्य सदस्यको छ।