काठमाडौं। टुर एन्ड ट्राभल क्षेत्रमा क्रियाशील मजदुरहरुको ५० प्रतिशत तलब वृद्धिको माग गर्दै नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स(नाट्टा)को कार्यालयमा तालाबन्दी गरेका छन्।
टुर एन्ड ट्राभल क्षेत्रका व्यवसायीहरुको छाता संगठन नाट्टामा बिहीबार भएको दुई पक्षीय वार्ता नमिलेपछि मजदुर आबद्ध विभिन्न संघ–संगठनहरूले संयुक्त रूपमा शुक्रबार ताला लगाएका हुन्।
टुर एन्ड ट्राभलमा आबद्ध मजदुरहरुले हाल चार वर्ष अघिको सम्झौताअनुसार दैनिक न्यूनतम २ हजार ३ सय ५० देखि अधिकतम ३ हजार ८ सय रुपैयाँसम्म पाउँदै आएका छन्।
पहिलाको सम्झौताअनुसार अहिलेको परिस्थितिमा काम गर्न नसक्ने भएकोले तलबमा पुनर्विचार गर्नका लागि पटक–पटक दबाब दिँदा पनि बेवास्था गरेको कारण तालाबन्दी गरिएको एकीकृत पर्यटन श्रमिक संगठन नेपालका अध्यक्ष प्रशान्त ढुंगानाले जानकारी दिए।
होटल बाहेकको अन्य पर्यटनसँग आबद्ध कम्पनीहरुका श्रमिकहरुको आबद्ध विभिन्न ६ वटा संगठनहरुले अहिले संयुक्त रुपमा आन्दोलन गरिरहेका छन्। तलब वृद्धिको विषयमा चार वर्ष अघि नाट्टाका अध्यक्षको रूपमा सीएन पाण्डे हुँदा मजदुर संघसंगठन बसेर सम्झौता गरेकोले अहिलेको अवस्थामा पनि नाट्टाले समन्वय गर्न अनुरोध गर्दा बेवास्था गरेको उनको आरोप छ।
टुर एण्ड ट्राभलमा ४ हजार ५६० जनाले इजाजत लिएर काम गरिरहेका छन्। मजदुरहरूले श्रम ऐन २०७४ को दफा ५४ र ५५ बमोजिम टुर क्षेत्रका श्रमिकहरूको औषधि उपमचार बिमा, दुर्घटना बिमा गराई ५६ बमोजिम भुक्तानीको व्यवस्था गर्न गराउन, नेपालको सम्पूर्ण टुर क्षेत्रमा गाइड अनिवार्य गर्न/गराउनुपर्ने माग अघि सारेको छ।
यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५ बमोजिम सम्पूर्ण टुर गाइडहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागि गर्न/गराउन साथै टुर र ट्राभल क्षेत्रमा श्रम स्वीकृति नलिई टुर लिडरका रुपमा काम गर्दै आएका विदेशीहरूले काम गर्ने व्यवस्था बन्द गर्न गराउन माग गरेको छ।
यता नाट्टाको अध्यक्ष रमेश थापाले एक विज्ञप्ती जारी गर्दै मजदुरहरुले गरेको तालाबन्दीको विरोध गरेका छन्। कोभिडपछि थलिएको पर्यटन क्षेत्रका बैंकको चर्काे व्याजको चपेटामा परिरहेको बेलामा मजदुरहरूको आन्दोलनले नकारात्मक असर पुग्ने भन्दै विनाशर्त तत्कालै ताला गर्न अनुरोधसमेत गरेका छन्।
आफूहरू रोजगारदाता कम्पनी नभएको कारणले मजदुरहरुको माग नाट्टाले पुरा गर्न नसक्ने समेत घोषणा गरेका छन्। सम्बन्धित कम्पनीले पूरा गर्नुपर्ने माग नाट्टासँग जोड्नु उपयुक्त नभएको पूर्वअध्यक्ष अच्युत गुरागाईंको भनाइ छ।