काठमाडौं। बैंक तथा वित्तीय संस्थाले ऋण सम्झौता नगर्दा पाँचतारे होटलसहितको ‘गोपिकृष्ण सेन्टर कम्प्लेक्स’ (जिकेसिसी) निर्माण समय अनिश्चित बन्दै गएको छ।
दसैंदेखि कम्प्लेक्स निर्माणका लागि विभिन्न बैंकसँग ऋण लिने विषयमा छलफल भइरहे पनि हालसम्म सम्झौता हुन नसकेको जिकेसिसीका प्रबन्ध निर्देशक निरक पौडेल बताउँछन्।
तरलता अभावका कारण बैंकहरूले ऋण सम्झौता नगरेको उनको भनाइ छ। ‘अरू प्रक्रिया पूरा भइसकेको छ,’ पौडेलले क्यापिटल नेपालसँग भने, ‘फाइनान्सियल कुरामा हामी रोकएका हौं, त्यो पनि वैशाख २० सम्म टुंगो लाग्छ।’
बैंकसँग ऋण सम्झौता भएपछि जिकेसिसीले भवन निर्माणका लागि ठेक्का आह्वान गर्ने छ। तर, कुन–कुन बैंकसँग ऋण लिने विषयमा छलफल भएको विषयमा भने प्रष्ट पारिएको छैन।
काठमाडौं चाबहिलस्थित गोपिकृष्ण चलचित्र हलको भवन भत्काएर व्यक्तिगत लगानीमा पाँचतारे होटलसहितको ‘बिजनेस कम्प्लेक्स’ बनाउन लागिएको हो। फिल्म हलका रूपमा चर्चित गोपिकृष्ण हल भत्काएर नाम परिवर्तन गरी जिकेसिसी निर्माण गर्न लागिएको हो। अहिले भने हल संख्या घटाएर सञ्चालन भइरहेको छ।
जिकेसिसीको भवन डिजाइन चिनियाँ कम्पनीले गरेको हो। ‘पहिला त लगानी जुटाउनुपर्यो, त्यसको प्रक्रिया चलिरहेको छ। त्यसपछि ठेक्का आह्वान हुन्छ,’ प्रबन्ध निर्देशक पौडेलले भने, ‘धेरै लगानीको प्रोजेक्ट भएकाले विदेशी कम्पनी सहभागी हुन मिल्ने गरी नै ठेक्का आह्वान हुनसक्छ।’
पौडेलका अनुसार १० रोपनी जग्गामा जिकेसिसी निर्माण हुनेछ। भवनको समग्र लागत अनुमान ६ अर्ब रुपैयाँ छ। ठेक्का प्रक्रियामा सहभागी कम्पनीबीच प्रतिस्पर्धा भएर थोरै रकममा पनि निर्माण हुने सम्भावना रहन्छ।
उक्त भवन १६ तलाको हुनेछ। जसमध्ये ‘अन्डर ग्राउन्ड’ दुई तला र बाँकी १४ तला व्यावसायिक प्रयोजनका लागि तयार हुन्छन्। निर्माण सुरु भएको दुई वर्षमा होटल तथा अन्य व्यवसाय सञ्चालनमा आउने पौडेल बताउँछन्।
६ अर्ब रुपैयाँबराबर लगानी आवश्यक पर्ने भएकाले जिकेसिसीको आफ्नो पैसाले भवन निर्माण गर्न सम्भव हुँदैन। जसका कारण बैंकसँग ऋण लिनुपर्ने हुन्छ। तर, तरलता संकटका कारण ऋण पाउन सहज नभएको पौडेलले बताए।
कति रकम ऋण लिने भन्ने अहिले भन्न नसकिने पौडेलको भनाइ छ। बैंकअनुसार होटल तथा अन्य व्यवसायमा लगानी गर्ने प्रतिशत छुट्टाछुट्टै हुने भएकाले अहिले नै कूल लगानीको कति प्रतिशत रकम ऋण लिने भन्न सकिँदैन।
फरक–फरक बैंकले होटल व्यवसायमा लगानी गर्ने रकम निर्धारण गर्छन्। सामान्यतयाः कूल लगानीमध्ये ६० देखि ८० प्रतिशतसम्म रकम बैंकले दिने गर्छन्। बाँकी रकम लगानीकर्ता आफैंले व्यवस्थापन गर्नुपर्छ।
१६ तलाको उक्त भवनको छतमा हेलिकोप्टर अवतरणका लागि ‘हेलिप्याड’ बनाइने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ, बौद्ध, ओम अस्पताललगायत क्षेत्र ख्याल गरेर हेलिकोप्टर बस्न मिल्ने बनाउन लागेको जिकेसिसीले जनाएको छ।
कम्प्लेक्समा बन्ने पाँचतारे होटलमा १ सय ५७ कोठा रहनेछन्। साथै ग्रिनरी, चिल्ड्रेन पार्क, फुडपार्क, गेमिङ जोनलगायत रहनेछन्। पाँच तलासम्म सपिङ कम्प्लेक्स र त्यसभन्दा माथि लक्जरी होटल हुनेछ।
गोपिकृष्ण कुनै समय मुलुककै ठूलो र सबैभन्दा बढी चलेको फिल्म हल थियो। एउटै भवनभित्र धेरैवटा हल भएको गोपीकृष्ण मुभिजको भवन भत्काएर पाँचतारे होटलसहितको कम्प्लेक्स बन्न लागेको हो।
कोरोना महामारीका कारण २०७६ चैतदेखि सुरु भएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय हल सञ्चालन हुन सकेन। चलचित्र क्षेत्रमा मन्दी आएसँगै सञ्चालक उद्धव पौडेलले चलचित्र भवन भत्काएर पाँचतारे होटलसहित गोपिकृष्ण कम्प्लेक्स सेन्टर बनाउने तयारी थालेका हुन्।
चलचित्र व्यवसायी पौडेलले २०५३ सालदेखि सञ्चालन गर्दै आएको उक्त फिल्म हलमा यसअघि गोपी, कृष्ण, राधा, मीरा, ओम, नम र शिवाय नामका सातवटा हल सञ्चालनमा थिए। अहिले तीनवटा हलमात्रै सञ्चालनमा छन्। बाँकी तीन हल पनि आधुनिक प्रविधि प्रयोग गरेर परिमार्जनसहित सञ्चालनमा आएका छन्।