काठमाडौं। बुटबल पावर कम्पनी लिमिटेड (बिपिसी) ले चिनियाँ साझेदारीमा बनाउन लागेको १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको काम आगामी वैशाखबाट सुरु हुने भएको छ।
आयोजना बनाउन निर्माण व्यवसायी चीनको सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनौट भइसकेको छ। सिनोले ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्ट्र्याक्ट’ (इपिसी) मोडलमा आयोजना बनाउने छ।
आगामी वैशाख (जुन) बाट आयोजना निर्माण सुरु हुने बिपिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तरकुमार श्रेष्ठले बताए।
अहिले स्वपुँजी (इक्विटी) बाट आयोजना निर्माण सुरु गर्ने उनले जानकारी दिए। आगामी ६ महिनाभित्र आयोजनाको लगानी जुट्ने उनको भनाइ छ। गत पुस ३ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मनाङ–मर्स्याङ्दी हाइड्रोपावर प्रालिबीच आयोजना विकास सम्झौता (पिडिए) भएको थियो।
यस्तै नेपाल विद्युत प्राधिकरण र आयोजनाबीच विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ। आयोजना मनाङ–मर्स्याङ्दी हाइड्रोपावरले निर्माण गर्ने छ। सन् २०२३ बाट निर्माण सुरु भई चार वर्षमा सक्ने लक्ष्य छ। आयोजना बनाउन ३३ अर्ब ३७ करोड रुपैयाँ (३२ करोड अमेरिकी डलर) लागत अनुमान गरिएको छ।
प्रस्तावित आयोजनाबाट ७६ करोड ६५ लाख ९३ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजनामा चिनियाँ कम्पनीको ८० र बाँकी २० प्रतिशत बिपिसीको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ।
जसअनुसार ६ अर्ब ६७ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ। बाँकी रकम चिनियाँ कम्पनीले चीनबाट ल्याउने छन्।
जलविद्युतमा लगानी गर्न बिपिसी र तीन चिनियाँ कम्पनीले एससिआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि स्थापना गरेका छन्।
एससिआइजीमा बिपिसीका अतिरिक्त एससिआइजी इन्टरनेसनल लिमिटेड, जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहने छ।
विद्युत प्राधिकरण र कम्पनीबीच सुक्खायामको ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षात ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पिपिए भएको छ। वार्षिक तीन प्रतिशतका दरले आठपटक मूल्यवृद्धि पाउने प्रस्ताव पनि सिफारिस गरिएको छ। आयोजनाको हेड ४ सय ३० मिटर र सुरुङको लम्बाइ ६ किलोमिटर छ।
चिनियाँ कम्पनीका साझेदारीमा बिपिसीले मस्र्याङ्दी बेसिनमै ३ सय २७ मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ र १ सय ३९ मेगावाटको तल्लो मनाङ–मर्स्याङ्दी आयोजना निर्माण गर्ने तयारी गरेको छ। तीनवटा आयोजनाको क्षमता ६ सय १ मेगावाट छ ।
तीनवटै आयोजना शृंखला (क्यासकेड) खाकामा निर्माण हुने छन्। यस्तै निर्माण गर्न (कन्स्ट्रक्सन पावर) का लागि बिपिसीले आठ मेगावाटको चिनोखोला आयोजना बनाउँदै छ।
बिपिसीको ३७ मेगावाटको काबेली ए आयोजनाको निर्माण रोकिएको छ। कम्पनीले १ सय ६० मेगावाटको मुगु कर्णाली आयोजना पनि बनाउने तयारी थालेको छ। अहिले यसको सम्भाव्यता अध्ययन भइरहेको छ।
आयोजना मनाङको नासो र चामे गाउँपालिकामा निर्माण हुने भएको छ। चिनियाँ बैंकले ऋण लगानी गर्ने सैद्धान्तिक सहमति भएको जनाइएको छ।
आयोजनाबाट उत्पादित बिजुली मनाङ धारापानीस्थित प्राधिकरणको २ सय २० केभी धारापानी स्विचिङ स्टेसनमा जोड्ने गरी प्रशारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ।
बिपिसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन चिनियाँसँग सम्झौता गरेको छ। होल्डिङ कम्पनीमार्फत आगामी केही वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ।
बिपिसीले ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिसकेको छ। बिपिसीले १२ मेगावाटको झिम्रुक, नौ मेगावाटको आँधिखोला र तीन मेगावाटको खुदी आयोजना सञ्चालन गरिरहेको छ।