(एएनआई) । भारत सरकारले राजधानी नयाँ दिल्लीमा सोमबारदेखि यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुवाँ, अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो । दिल्लीमा विगत केही समयदेखि वायुमा निकै प्रदुषण देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचारहरू सम्प्रेषण गरेपछि दिल्ली सरकारले वातावरण प्रदुषण रोक्न पहल थालेको हो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वातावरण प्रदुषणलाई रोक्न सरकारले गरेको पहलमा सहयोग गर्न र यातायातमा जोरविजोर प्रणाली लागू गर्न नागरिकहरूलाई आग्रह गरेका छन् । राष्ट्रिय राजधानीमा प्रदुषण बढेकोले यसमा योगदान पु¥याउन निजी सवारी साधन प्रयोगकर्तालाई पनि ‘कारपुलिङ’ गर्न पनि मुख्यमन्त्रीले अनुरोध गरेका छन् ।
मुख्यमन्त्रीले नागरिकलाई सरकारले गरेको घोषणालाई मान्न आग्रह गर्दै हिन्दी भाषा प्रयोग गर्दै ट्वीटरमार्फत लेखेका छन् , “प्रिय दिल्लीवासीहरू, आजबाट निजी चार पाङ्ग्रे सवारी साधनका लागि जोरविजोर तथा कारपुलिङ प्रणाली कार्यान्वयनमा आएको छ । “आफ्नो, आफ्ना बालबालिका र परिवारको स्वास्थ्यका लागि नियमलाई पालना गरौँ । कार चढ्ने सबैले कारमा आलोपालो गरेर आफ्नो गन्तव्यसम्म पुगौँ । मित्रता, सम्बन्ध बढाऔँ । पेट्रोलको वचत गरौँ र प्रदुषण घटाऔँ ।”
नियमअनुसार पालोमा नपरेका कार प्रयोगकर्तालाई पालोमा परेका सवारी धनीले सहयोग गर्न वा ‘कारपुलिङ’ गर्न सरकारले अनुरोध गरेको हो । दिल्लीमा ‘आम आदमी’ पार्टी नेतृत्वको राज्य सरकारले घोषणा गरेको यो कार्यक्रम आगामी दश दिन ९नोभेम्बर १४० सम्म लागू गरिने छ । तर यो नियम नोभेम्बर १० आइतबारका लागि भने मान्य नहुने बताइएको छ ।
भारतमा आइतबार साप्ताहिक विदा दिइने भएको र विदाका दिन सवारी साधनको चाप कम हुने हुनाले सो दिन यो नियम लागू नहुने बताइएको छ । मुख्यमन्त्री केजरीवालले अक्टोबर १७ गरेको घोषणाअनुसार सोमबारदेखि जोरविजोर प्रणाली लागू भएको हो । यो नियम मोटरसाइकल, सार्वजनिक बस तथा अन्य ढुवानीका साधन तथा आपतकालिन सेवामा भने लागू हुनेछैन । महिलाले चलाउने गाडीलाई पनि नियम लागू नहुने बताइएको छ ।
सोमबार जोरविजोर प्रणाली लागू हुने तयारी भइरहँदा यसको केन्द्र सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी तथा प्रतिपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले भने विरोध जनाएका छन् । बिजेपीका वरिष्ठ नेता तथा राज्य सभाका सदस्य विजय गोयलले दिल्ली सरकारको जोरविजोर प्रणाली आफूहरूलाई मान्य नभएको बताए । उनले प्रदुषण नियन्त्रणका लागि राज्य सरकारले चालेका कदमले नागरिकलाई दुःख हुने र यो प्रदुषण नियन्त्रणका लागि सर्वमान्य आधार नभएको भन्दै साङ्केतिक विरोधका लागि आफूले सोमबार आफ्नो जोर नम्बरको सवारी साधन चलाउने बताए ।
त्यस्तै एएनआईसँग बोल्दै काङ्ग्रेस नेता जेपी अग्रवालले राज्य सरकार राजधानीमा देखिएको प्रदुषणको समस्यालाई सही तवरले सम्बोधन गर्न विफल भएको बताए ।
भारतको दिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालमा पनि देखापरेको भन्दै धुलोका साना कणबाट जोगाउने खालका मास्क लगाउन वातावरण विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।
त्यस्तै, दिल्लीको प्रदूषणले नेपालमा काठमाण्डूभन्दा पनि तराईका जिल्लाहरूमा बढी असर पारेको देखिएको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले बताए। प्रदूषण मापन गर्दा तराईको लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएको विभागले जनाएको हो। राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ।
नेपालको सौराहा, लुम्बिनी, नेपालगञ्ज र काठमाडौंमा मापदण्डभन्दा धेरै विषाक्त कण हावामा पाइएको विभागले जनाएको छ। हावाको गुणस्तर मापन गर्ने रियल टाइम एअर क्वालिटी इन्डेक्सका अनुसार कणको मात्रा लुम्बिनीमा १९८ माइक्रोग्राम प्रति घनमिटर छ भने सौराहामा ११५ माइक्रोग्राम प्रति घनमिटर र नेपालगञ्जमा १९४ माइक्रोग्राम प्रति घनमिटर रहेको छ। राजधानी काठमाण्डूमा भने तराईका जिल्लाभन्दा तुलनात्मक रुपमा कम अर्थात् रत्नपार्कमा १३३ माइक्रोग्राम प्रति घनमिटर देखिएको छ। बीबीसी