काठमाडौं। पेट्रोलियम पदार्थ बिक्री–वितरणमा एकाधिकार प्राप्त सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धन ढुवानी भाडामा मनमौजी गरिरहेको छ।
अमलेखन्गजबाट तेल बोकेर वीरगन्ज र पोखरा डिपो जाने ट्यांकरको भाडा नतिर्ने निगमले काठमाडौं, विराटनगर र जनकपुरको भाडा भने आफैं तिर्दै आएको छ।
जसका कारण काठमाडौंभन्दा वीरगन्ज र पोखरामा इन्धनको मूल्य बढी पर्छ। निगमले हाल अमलेखगन्जदेखि वीरगन्ज र अमलेखगन्जदेखि पोखरासम्मको ढुवानी भाडा तिर्दैन।
निगमकै तथ्यांकअनुसार अमलेखगन्जदेखि वीरगन्ज २० हजार लिटर ढुवानी गर्दा भाडा १७ हजार १ सय ३३ रुपैयाँ ३३ पैसा लाग्छ भने सोही ठाउँबाट पोखरासम्म ५४ हजार २ सय १४ रुपैयाँ लाग्छ।
ती दुई ठाउँबाहेक काठमाडौं, जनकपुर र विराटनगरको भाडा भने निगमले नै बेहोर्दै आएको छ। निगमले काठमाडौंका लागि सोही परिमाणको ढुवानी गर्दा भाडा ५६ हजार ७ सय ४८ रुपैयाँ ६० पैसा, जनकपुरसम्मको ३९ हजार २ सय ७४ रुपैयाँ २० पैसा र विराटनगरको ६६ हजार ४ सय ५ रुपैयाँ ४० पैसा तिर्दै आएको छ।
एउटै डिपोबाट जाने तीन ठाउँको भाडा तिरे पनि दुई ठाउँको भाडा नतिर्दा अन्यको तुलनामा इन्धनको मूल्य केही बढी छ।
बारा–पर्साका उपभोक्ताले अहिले प्रतिलिटर शून्य दशमलव ७५ पैसा बढी तिरिरहेको भन्दै सबै ठाउँको भाडा निगमले बेहोर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दासको भनाइ छ।
निगमले वीरगन्जमा २०७७ माघ ७ देखि ढुवानी भाडा तिर्न छाडेको हो। उसले काठमाडौंका उपभोक्तालाई मात्र ध्यानमा राखेर वीरगन्जको भाडा कटौती गरी सस्तोमा इन्धन दिँदै आएको भन्दै अध्यक्ष दासले यस्तो गतिविधि तत्काल बन्द गर्नु माग गरे।
अमलेखगन्जदेखिको भाडा जोडेर पेट्रोलियम पदार्थ बिक्री गर्दा वीरगन्ज क्षेत्रका विक्रेताको बिक्री मूल्य अमलेखगन्ज क्षेत्र तथा हाल आएर निगमको काठमाडौं उपत्यकाका डिलरका बिक्री मूल्यभन्दा शून्य दशमलव ७५ पैसा बढी कायम भएको छ। यसले उपभोक्तामाथि अनावश्यक ज्यादती भइरहेको र किसानमाथि थप व्ययभार सिर्जना भएको एसोसिएसनको भनाइ छ।
अमलेखगन्जबाट काठमाडौं २० हजार लिटर डिजेल लैजान निगमलाई ५६ हजार ७ सय ४८ रुपैयाँ ६० पैसा अर्थात २ रुपैयाँ ८४ पैसा प्रतिलिटर भाडा पर्दछ। तै पनि निगमले काठमाडौका उपभोक्तालाई अमलेखगन्जकै दरमा डिजेल उपलब्ध गराउँदै आएको छ।
पोखरा क्षेत्रका उपभोक्ताले पनि अन्य क्षेत्रभन्दा केही रकम बढी तिर्दै आएका छन्। पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले यसबारे निगमसँग पटक–पटक वार्ता र छलफल हुँदासमेत बेवास्ता गरिएको बताए।
निगमले हेर्ने दृष्टिकोण सबै क्षेत्रका उपभोक्तालाई एकै हुनुपर्ने तथा तिर्दा सबै ठाउँको तिर्ने र नतिर्दा कतैको नतिर्ने नीति ल्याउनुपर्ने उनको भनाइ छ।
खासगरी निगम सञ्चालक समितिका सदस्यले आफूअनुकूल निर्णय गर्दा पोखरा र वीरगन्जका उपभोक्ताले अन्य ठाउँको तुलनामा महँगो तिर्नुपर्ने बाध्यता रहेको व्यवसायीको भनाइ छ।
यता निगमका सहप्रवक्ता पुष्कर कार्कीले भने वीरगन्ज र पोखरामा डिपो नभएका कारण भाडा नबेहोरेको बताए।
’जहाँ–जहाँ डिपो छ, त्यहाँसम्म निगमले नै इन्धन पु¥याउँदै आएको छ,‘ कार्कीले क्यापिटल नेपालसँग भने, ’कुनै क्षेत्रलाई काखापाखा गर्ने नियत छैन। डिपोबाट छुट्ने ट्यांकर भाडा भने सम्बन्धित पम्पले बेहोर्दै आएका छन्।’