काठमाडौं। सिद्धबाबा सुरुङमार्ग निर्माण मिति धकेलिँदै गएको छ। पुस तेस्रो साताबाट भइरहेको सुरुङ डिजाइन अध्ययनको काम हालसम्म पनि नसकिँदा निर्माण सुरु हुने समयपछि धकेलिँदै गएको हो।
गत पुस तेस्रो साता सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले स्वीकृति सुरुङको डिजाइन प्राप्त गरेको थियो। तर, नेपालमा सुरुङसम्बन्धी दक्ष प्राविधिक नहुँदा डिजाइन अध्ययनका लागि स्वीजरल्यान्डबाट प्राविधिक ल्याएर विकास केन्द्रले अध्ययन गरिरहेको छ।
स्वीजरल्यान्डको प्राविधिक टोलीले अध्ययन गरेर डिजाइनमा सुझाव दिँदै आएको सिद्धबाबा सुरुङमार्ग योजना प्रमुख होमबहादुर एसी बताउँछन्। तर, केन्द्रले डिजाइन स्वीकृत गर्ने मिति यकिन नभएको उनको भनाइ छ।
‘चरण–चरणमा सुझाव संकलन भइरहेको छ। सबै अध्ययन गर्न कति समय लाग्छ अहिले भन्न सकिँदैन,’ प्रमुख एसीले क्यापिटल नेपालसँग भने, ‘यसअघि एक सातामै डिजाइन अध्ययनको काम सक्ने भनेका थियौं तर भएन। डिजाइन स्वीकृत भएपछि मात्रै निर्माण सुरु हुने हो। तर, कहिलेबाट सुरु हुन्छ भन्ने यकिन भएको छैन।’
निर्माण कम्पनीले तयार गरेको डिजाइन विकास केन्द्रले भनेअनुसार नभए परिवर्तन हुनसक्छ। सिद्धबाबा सुरुङमार्ग निर्माणको जिम्मेवारी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कपार्नेरेसनले पाएको छ।
१ हजार १ सय २६ मिटर लामो सुरुङमार्गको लागत ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँ छ। ठेक्का सम्झौता भएको मितिबाट पाँच वर्षभित्र निर्माण सक्नुपर्ने सम्झौता छ।
‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा निर्माण गर्न लागिएको उक्त सुरुङमार्गका लागि आवश्यक पर्ने मेसिन, डिजाइन, पहुँचमार्ग निर्माण, कामदारलगायत सम्पूर्ण कामको जिम्मेवारी निर्माण कम्पनीकै हो।
निर्माण सकेको पाँच वर्षसम्म सञ्चालन र मर्मतको जिम्मेवारी पनि निर्माण कम्पनीकै हुने विकास केन्द्रले जनाएको छ।
सोही कम्पनीले नारायणगढ–बुटवल सडकखण्डमा पनि काम गरिरहेको छ। २०७८ फागुनमा केन्द्र र चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोेरेसनबीच निर्माण सम्झौता भएको थियो। सम्झौताको पहिलो वर्ष डिजाइन बनाउन र बाँकी चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने छ।
यस अघि सन् २०२३ अप्रिल अर्थात चैतबाट निर्माण सुरु हुने जनाएको आयोजनाले अहिलेसम्म डिजाइन स्वीकृत वा थप सुधार गर्नुपर्ने विषयमा प्रष्ट पारेको छैन। जसका कारण निर्माण सुरु हुने समय अझै लम्बिने निश्चित छ।
चाइना स्टेट इञ्जिनियरिङ कन्स्ट्रक्सन कपार्नेरेसनले भने डिजाइन सडक विभागलाई बुझाएर फिल्डमा पूर्वतयारीको काम सुरु गरिसकेको छ। कर्पोरेसनले निर्माणस्थलमा तयारीका लागि पर्खाल लगाउने, फाउन्डेसन मिलाउनेलगायत काम गर्दैछ। निर्माणअघि सिद्धबाबाको मन्दिर चढ्ने पहिलो भर्याङ र मन्दिर पछाडिको भवन केही भाग भत्काउनुपर्ने विकास केन्द्रले जनाएको छ।
सडक सीमाभित्रै काम गरिने भएकाले निर्माण क्रममा धेरै समस्या नआउने अनुमान छ। सुरुङ निर्माण सुरु भएपछि कसरी सवारी व्यवस्थापन गर्ने भन्ने कार्ययोजना बनिसकेको छैन। सवारी व्यवस्थापन कार्ययोजना पनि डिजाइन स्वीकृत भएपछि मात्रै तयार हुने जनाइएको छ।
निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासमा महत्वपूर्ण छ। बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने उक्त स्थानमा सुरुङ निर्माण गर्न लागिएको हो।
सुरुङ दुई लेनको हुनेछ। त्यहाँ चल्ने गाडीमध्ये मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना तथा कम क्षमताका सवारीलाई ‘रकसेड’ बाट पठाउने गरी योजना बनाइएको छ। ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरू सवारीसाधन सुरुङबाटै जानेछन्। रकसेड निर्माण भएपछि पहिरो कम भई क्षति कम हुने अपेक्षा गरिएको छ।
सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लाबासीलाई सुविधा पुग्नेछ।