काठमाडौं। मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित आठ दलको समर्थनमा राष्ट्रपति पदको उम्मेदवार बनेका पौडेल नेकपा (एमाले) ले अगाडि सारेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन्।
बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित हुँदा अर्का उम्मेदवार एमालेका नेम्वाङले १५ हजार ५ सय १८ मत भार प्राप्त गरे।
पौडेलले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाएका हुन् भने नेम्वाङले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत प्राप्त गरे।
राष्ट्रपति निर्वाचित पौडेल गत मंसिर ४ मा भएको आमनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए। उनको जन्म २००१ असोजमा तनहुँ रिस्ती गाविसस्थित बाहुनपोखरामा भएको थियो। १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका पौडेलले निकै लामो राजनीतिक आरोहअवरोह पार गरिसकेका छन्।
२०४८ सालमा पहिलोपटक तनहुँ–१ बाट विजयी भएर संसदीय राजनीति सुरु गरेका पौडेल २०४९ सालमा पहिलोपटक स्थानीय विकासमन्त्री बनेका थिए। त्यसपछि दोस्रोपटक २०४९ मा उनी स्थानीय विकास तथा कृषिमन्त्री बने। २०५१ सालमा भएको चुनावमा तनहुँ–२ बाट निर्वाचित भएका उनले प्रतिनिधिसभाको सभामुख बन्ने सौभाग्य पाएका थिए।
नेपाली राजनीतिमा एकाएक छाउँदै गएका पौडेलले २०५६ देखि २०५८ सम्म ज्ञानेन्द्र शाहको शासनकाल र गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीकालमा उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाए। उक्त जिम्मेवारी सम्हाले लगत्तै उनी २०५९ सालमा शान्तिमन्त्री बनेका थिए।
सरकारका थुप्रै पदमा बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेका पौडेलले पार्टीका धेरै पदमा बसेर जिम्मेवारी बहन गरेका छन्।
माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि बनेका थिए। २०६४ सालमा उनी कांग्रेस उपसभापति भएका थिए।
पौडेलले पञ्चायती राजतन्त्रविरुद्ध संघर्षका क्रममा २०१९ देखि २०४६ सम्म पटक–पटक गरी १३ वर्ष जेल जीवन बिताएका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन्। प्रधानमन्त्री पदमा १७ पटक पराजय भोगेको तीतो अनुभवसमेत उनीसँग छ।