काठमाडौं। एप्पलले आइफोन १४ सिरिजको ‘आइफोन १४’ र ‘आइफोन १४ प्लस’ पहेंलो रङमा सार्वजनिक गरेको छ।
कम्पनीले मंगलबार यो नयाँ मोडेल सार्वजनिक गरेको हो। नयाँ मोडेलमा आइफोन १४ र १४ प्लसमा टिकाउ सेरेमिक शिल्ड फ्रन्ट कभर दिइएको छ भने दिगो प्रदर्शनी र सहज मर्मतका लागि यसको आन्तरिक डिजाइन अपडेट गरिएको छ। यसबाहेक यी मोडलहरूको ब्याट्री क्षमता पनि अपग्रेड गरिएको छ।
कम्पनीकाले शुक्रबारदेखि अमेरिका, बेलायत र क्यानडालगायत ६० देशका ग्राहकले नयाँ माडेलको आइफोन १४ प्रि–अर्डर गर्न सकिने जनाएको छ। शुक्रबारदेखि प्रि–अर्डर गर्न सकिने यो फोनको अर्को साताको मंगलबारदेखि खरिद–बिक्री सुरु हुनेछ।
बजारमा कालो, रातो, स्टारलाइट, नीलो र बैजनी रङको विकल्पमा आइफोन १४ सिरिजका फोनहरू उपलब्ध भएकोमा अब पहेंलो रङमा पनि उपलब्ध भएको हो।
यसअघि कम्पनीले आइफोन १३ को सिरिज हरियो रङमा सार्वजनिक गरेको थियो। त्यस्तै सन् २०२१ मा पनि कम्पनीले आइफोन १२ सिरिज बैजनी रङमा सार्वजनिक गरेको थियो।
रङमा परिवर्तन गरे पनि कम्पनीले यसको डिजाइनहरूमा कुनै परिवर्तन गरेको छैन। आइफोन १४ मा ६.१ इन्च र आइफोन १४ प्लसमा ६.७ इन्चको डिस्प्ले दिइएको छ। यसबाहेक फोन पानी र धुलो प्रतिरोधक छ भने यसमा स्मार्टफोन ग्लास दिइएको छ। दुवै नयाँ मोडलमा डुअल क्यामेरा दिइएको छ।
आइफोन १४ र आइफोन १४ प्लसको कभर पनि पहेंलो, ओलिभ रङ, निलो र आइरिस रंग विकल्पमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।
पहेंलो रङमा उपलब्ध हुने आइफोन १४ को सुरुवाती मूल्य ७९९ अमेरिकी डलर (करिब १ लाख ४ हजार ४७७ रुपैयाँ) तोकिएको छ भने आइफोन १४ प्लसको मूल्य ८९९ अमेरिकी डलर (करिब एक लाख १७ हजार ५५३ रुपैयाँ) तोकिएको छ।