काठमाडौं। आज ११३औं अन्तर्राष्ट्रिय नारी दिवस। नारीका लागि ऐतिहासिक दिनको अवसरमा महिलाले विभिन्न कार्यक्रम गरेर मनाइरहेका बेला सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि) का महिला क्रु मेम्बरले भने आफ्नै नेतृत्वमा अन्तर्राष्ट्रिय उडान गरेर इतिहास रचेका छन्।
पहिलोपटक पाइलट, कोपाइलट र एयरहोस्टेस सबै महिलाले अन्तर्राष्ट्रिय हवाई सेवा दिएर इतिहास रचेका हुन्। यूएईबाट काठमाडौंका लागि बुधबार बिहान उडान भरेको नेवानिकाे एयरबस ३२० जहाजका सबै क्रु मेम्बर महिलामात्रै छन्।
'९एन एकेएक्स' जहाजको कमान्ड पाइलट भावना गिरी पन्त, कोपाइलट सृजना राउतले गरेका थिए भने एयरहोस्टेसमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति थिए।
नेवानिले महिला दिवसमा एउटा उडान सबै महिला क्रु मेम्बरबाट गराएको हो। नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रु मेम्बर महिला भएको पहिलो उडान हो।
जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जहाज अवतरणपछि महिला क्रु मेम्बरलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत गरेका थिए। महिला क्रु मेम्बरलाई स्वागतपछि मन्त्री किराँतीले संयोगमात्र होइन, महिलाले अवसर पाउँदा गर्न सक्छन् भन्ने प्रमाण पनि भएको बताएका छन्।
मन्त्री किराँतीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, 'बधाइ छ दिदीबहिनी पाइलटहरू भावना पन्त गिरी र सृजना रावतलाई। नारी दिवसका अवसरमा विश्वभरिका महिलामा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेवानिमा अरू नाैजना महिला पाइलट पनि रहेको सगौरव जानकारी गराउन चाहन्छु।'