काठमाडौं। पितृसत्तात्मक सोचले गाँजिरहेको नेपाली समाजमा पछिल्लो समय महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न थालेका छन्। साना तथा घरेलु व्यवसायमा विगतदेखि नै महिलाको वर्चश्व रहे पनि सूचना र प्रविधि क्षेत्रमा भने अझै महिला नेतृत्व सीमित छ।
त्यस्तै सीमित महिलाभित्र पर्छिन् सुरक्षा अधिकारी। उनी अनलाइन किनबेच थलो ‘ठूलो डटकम’ की प्रमुख सञ्चालन अधिकृत (सिओओ) हुन्। सन् २०१३ बाट अनलाइन व्यवसाय सुरु गरेकी अधिकारीले २०१६ बाट भने ठूलो डटकम सञ्चालनमा ल्याएकी थिइन्।
आममानिसलाई अनलाइन ‘मार्केटप्लेस’ को अवधारणा बुझाउन २०१३ देखि २०१६ सम्म लागेको उनको भनाइ छ। २०१३ मा सुरक्षाले साथीहरूसँगको सहकार्यमा ‘नेपबे कम्पनी’ सञ्चालन गरेकी थिइन्।
आफैं पसल गएर सामान खरिद गर्ने ग्राहक र त्यसरी नै व्यवसाय गर्न बानी परेका व्यवसायीलाई उनको अनलाइनबाट सामान खरिद बिक्री गर्ने प्रविधि निकै नयाँ थियो। नयाँ प्रविधि प्रयोग भएकाले ग्राहक र व्यवसायी दुवैलाई बुझाउन निकै गाह्रो भएको अनुभव सुरक्षासँग छ।
तर, नेपबे कम्पनी सुरु गर्दा पहिला पैसा लिने र पछि सामान दिने चलन थियो। त्यसलाई परिवर्तन गरेर ‘क्यास अन डेलिभरी’ (सामान प्राप्त भएपछि भुक्तानी दिने) सुरु गरेपछि भने व्यवसायमा सुधार भएको उनको भनाइ छ।
त्यसपछि २०१६ बाट ठूलो डटकम सुरु गरेको सुरक्षा बताउँछिन्। ठूलो डटकमले दाल, चामल, फ्रिज, घरायसी सामान, गरगहना बेचेर अनलाइन व्यवसाय सुरु गरेको थियो। त्यसबेला ई–कमर्स सञ्चालन गर्न पूर्वाधार, जनशक्तिदेखि डिजिटल प्रणाली अभाव थियो। सोही कारण प्रविधि र लजिस्टिक कम्पनी निर्माण आफैं गरेको सुरक्षा सुनाउँछिन्।
त्यसबाट सफ्टवेयर, एप्लिकेसन, अनलाइन सिस्टम बनाएर अन्य कम्पनीलाई पनि सेवा दिन थालेको उनको भनाइ छ। हाल ठूलो डटकमले आफ्नो व्यवसायलाई अनलाइनमा आबद्ध गराउन चाहने व्यवसायी वा उद्यमीलाई आवश्यक सहजीकरण गर्छ।
व्यवसाय सञ्चालनका लागि विद्युतीय अकाउन्टिङ सिस्टम, पसलमा चाहिने पिओएस मेसिन, वेबसाइटको डोमेन नेम, मोबाइल एप, भुक्तानी प्रणालीलगायत सबै प्रणाली ठूलो डटकमले बनाउँछ। काठमाडौंबाट आफ्नो सेवा सुरु गरेको ठूलो डटकमले हाल देशभरि सेवा दिँदै आएको छ।
त्यसबाहेक कोशी प्रदेशमा आफ्नो शाखा कार्यालयसमेत खोलेको सिओओ अधिकारी बताउँछिन्। ‘पूर्वमा शाखा खोलेका छौं। बिस्तारै देशका मुख्य सहरमा पनि कार्यालय राख्छौं,’ उनले भनिन्, ‘तर, हामीले सेवा सुविधा देशभरि दिँदै आएका छौं, कार्यालयमात्रै नभएको हो।’
उनका अनुसार चितवन भैरहवासहित विदेशमा पनि आफ्नो सेवा विस्तार गर्ने योजनामा ठूलो डटकम छ। तर, कुन देशमा कहिलेबाट सेवा विस्तार गर्ने विषयमा भने सुरक्षाले प्रष्ट पारेकी छैनन्।
‘हाम्रो देशको उत्पादन बजारीकरण गर्न विदेशमा पनि सेवा विस्तार गर्ने योजनामा छौं, अहिले त भन्न सकिँदैन, काम गर्दै जाँदा कहिले उपयुक्त हुन्छ,’ उनले भनिन्, ‘तर हामी डेलिभरी शुल्क लिएर सामान अर्डर गर्ने ग्राहकलाई अहिले पनि विदेशमा समेत सामान पुर्याउँदै आएका छौं।
तीनजना मिलेर सञ्चालनमा ल्याएको ठूलो डटकममा हाल ५० भन्दा बढी व्यक्ति आबद्ध भइसकेका छन्। त्यस्तै सेवा प्रयोगकर्ताको संख्या ५ हजारभन्दा बढी पुगेको छ।
महिला उद्यमीलाई बढी प्राथमिकता
ठूलो डटकम सिओओ सुरक्षाले व्यवसायमा प्रविधि प्रयोग र पहुँच बढाउन महिलालाई प्राथमिकता दिने गरेकी छिन्। सामान्य लेखपढ गर्न सक्नेदेखि अंग्रेजी भाषामा राम्रो ज्ञान नभएकाहरू उनको प्राथमिकतामा पर्छन्।
‘अचार बनाउने, हस्तकला व्यवसाय गर्ने, सिलाइबुनाइ गर्ने र सामान्य लेखपढ गर्ने महिला हामीसँग जोडिनुभएको छ। उहाँहरूको व्यवसायलाई प्रविधिसँग जोड्ने काम हामीले गर्दै आएका छौं,’ उनले भनिन्, ‘कोरोना संक्रमणपछि आफ्ना उत्पादन बजारसम्म पु¥याउन नसकेकालाई अनलाइनमार्फत जोड्न सफल भएका छौं।’
७ करोडबराबर कारोबार
२०१६ मा ठूलो डटकम सुरु गर्दाको रकम भने सुरक्षाले खुलाउन चाहिनन्। तर, थोरै लगानीबाट अहिले वार्षिक ७ करोड रुपैयाँ बढीको कारोबार भइरहेको उनको भनाइ छ।
‘सूचना प्रविधिको काम भएकाले अलिअलि खर्च त भइहाल्छ तर सुरुवात हामीले थोरैमा गरेको भन्न सकिन्छ। अहिलेको कारोबार राम्रो छ, वार्षिक ७ करोड रुपैयाँ बढीकै काम हुन्छ,’ उनले भनिन्।
५० बढी कर्मचारी रहेको ठूलो डटकममा ५० प्रतिशत अर्थात आधाभन्दा बढी महिला नै छन्। सामान्य घरायसी काममा महिला सहभागिता उल्लेख्य रहे पनि सूचना र प्रविधि क्षेत्रमा अझै महिला जनशक्ति पाउन सहज छैन। ठूलो डटकम सुरु गरेको समयतिर आफ्नो व्यवसायबारे बोल्दा कसैले नपत्याइदिएको तीतो अनुभव सुरक्षासँग छ।
‘मैले व्यवसायबारे बोलिसकेपछि पनि थप कुरा राख्न कोही पुरुष साथी छैनन् र? भनेको जस्तो व्यवहार भेट्थेँ,’ विगत सम्झिँदै उनले भनिन्, ‘तर, मैले त्यसबाट हार मानिनँ र आफ्नो काम गरिरहेँ। अहिले कसैले केही भन्नुहुन्न, विषयवस्तु राम्रोसँग बुझेर प्रस्तुत गर्न सकियो भने महिला/पुरुष भन्ने हुँदैन।’
आफूले ठूलो डटकम सञ्चालन गर्दाजस्तो अहिलेको समय नरहेको र कलेजहरूमा पनि सूचना प्रविधि विषय पढ्ने महिला संख्या बढेकाले अब प्रविधि क्षेत्रमा काम गर्न सहज हुने विश्वास सुरक्षाको छ। उनी आफूले भने एमबिए पूरा गरेकी छिन्।