काठमाडौं। नेपाल राष्ट्र बैंकको ‘लेटरहेड’ प्रयोग गरी ठूलो परिमाणको रकम लैजान खोजेको समाचार बाहिरिएपछि अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले झरना पुन भन्ने व्यक्ति नै ठगिएको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ।
झरना पुनको नाममा प्रभु बैंकमा रहेको खातामा ७० हजार बेलायती पाउन्ड हालिदिनू भन्ने राष्ट्र बैंकको नक्कली पत्रले वित्तीय क्षेत्रमा हलचल भएको समाचार क्यापिटल नेपालले प्रकाशन गरेको थियो।
समाचार बाहिरिएपछि सिआइबीले राष्ट्र बैंकको सहयोग लिएर लेटरहेड दुरुपयोग तथा झरना पुनबारे अनुसन्धान थालेको थियो।
सिआइबीले सम्पूर्ण विवरण मगाएर अनुसन्धान गर्दा खातावाल पुन आफैं ठगिएको हुनसक्ने देखिएको हो।
‘बैंकबाट सबै विवरण मगाएर हेर्याैं, पुनसँग पनि आवश्यक सोधपुछ गरियो,’ सिआइबी प्रमुख उत्तम सुवेदीले क्यापिटल नेपालसँग भने, ‘प्राप्त तथ्य र प्रमाण हेर्दा झरना पुनले बैंकिङ फ्रड गर्न खाेजेको भन्दा पनि उनी आफैं ठगिएको जस्तो देखियो। यद्यपि, अनुसन्धान चलिरहेको छ।’
उनका अनुसार विदेश बस्ने ठगले पुनबाट ५ लाख रुपैयाँ लगिसकेको अनुसन्धानबाट देखिएको छ।
‘राष्ट्र बैंकको लेटरहेड प्रयोग गरेर लेखिएको पत्र कुनै ठगले बनाएको हुनसक्छ,’ सुवेदीले भने, ‘विदेशमै बसेर नेपालमा ठगी धन्दा चलाएको अनुमान छ।’
तर, को व्यक्ति कहाँ बसेर गैरकानुनी काम गरिरहेको छ भन्ने पत्ता लगाउने काम भइरहेको सिआइबीले जनाएको छ।
राष्ट्र बैंकको लेटरहेड प्रयोग गरेर झरना पुनको प्रभु बैंकमा रहेको खातामा ७० हजार पाउन्ड हालिदिनू र त्यसवापत लाग्ने शुल्क कटाउनु भन्ने नक्कली पत्र बाहिरिएको थियो।
त्यसपछि केन्द्रीय बैंकले सिआइबीलाई उक्त पत्रसहित थप अनुसन्धान गर्न आग्रह गरेको थियो। सिआइबी टोलीले यसबारे अनुसन्धान गर्दै जाँदा बैंकलाई पनि विदेशमा रहेको ठगले ठग्न खोजेको देखिएको छ भने झरना पुन पनि ठगिएको हुनसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ।
फागुन १६ गते राष्ट्र बैंकबाट लेखिएको उक्त पत्रमा झरना पुनको प्रभु बैंकमा रहेको खाता नम्बर १११००८८७८६१०००११ मा पैसा हालिदिनू भन्ने बेहोरा उल्लेख छ। उक्त खाता नम्बर झरना पुनको सक्कली खाता नम्बर नै हो।
सिआइबीले पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी आफैं ठगिएको देखिएको हो।
‘ठग्न खोज्नेले चिठ्ठा पर्याे, त्यसमा लागि यति पैसा हालिदिनू भन्न खोजेको देखिन्छ,’ सिआइबी प्रमुख सुवेदीले भने, ‘पुनले पनि विश्वास गरेर ५ लाख रुपैयाँ दिएको खुल्न आएको छ। विदेशमै बसेर ठग्न खोजेको अनुसन्धानबाट देखिन्छ।’