काठमाडौं। नेपाल आयल निगमले निकालेको तथ्यांकअनुसार पछिल्लो सात महिनामा प्रत्येक महिना डेढ लाखका दरले ग्यास सिलिन्डर खपत घटेको छ।
गत वर्ष सात महिनाको दाँजोमा यो वर्ष ७ लाख २० हजार ग्यास सिलिन्डर खपत घटेको हो। २०७८ साउनदेखि माघसम्म २ करोड १८ लाख २४ हजार ९ सय ३६ सिलिन्डर बिक्री भएकोमा यो वर्ष (२०७९) साउनदेखि माघसम्म २ करोड ७ लाख २० हजारमात्र ग्यास सिलिन्डर बिक्री भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए।
यो संख्या गत वर्षको तुलनामा पछिल्लो सात महिनाभित्र ११ लाख ४ हजार सिलिन्डर कम भएको देखिन्छ। मासिक १ लाख ५० हजार सिलिन्डर प्रयोग कम भएको निगमका प्रवक्ता कार्कीको भनाइ छ।
ग्यास सिलिन्डर खपत घट्नुलाई निगमले भने उपभोक्ताको विद्युतीय चुल्हो प्रयोगमा भएको वृद्धिलाई निष्कर्ष निकालेको छ। भारतले लगाएको नाकाबन्दी र केही समय अघिदेखि चलेको रुस–युक्रेनबीचको लडाइँले बढेको इन्धन मूल्यपछि बिस्तारै विद्युतीय चुल्हो प्रयोग गर्ने क्रम बढेको विश्लेषण निगमले गरिरहेको कार्कीको भनाइ छ।
’ग्यास सिलिन्डर खपत घट्नुलाई निगमले सकारात्मक लिएको छ,’ सहप्रवक्ता कार्कीले क्यापिटल नेपालसँग भने, ‘उपभोक्ताप्रति विद्युतीय चुल्होको लगाब बढेको देखिन्छ।’
बेलाबेला विभिन्न निकायले ग्यास सिलिन्डर खपत घटाएर विद्युतीय चुल्हो प्रयोग बढाउन निःशुल्क वितरणदेखि सहुलियतमा बिक्री गरिरहेका कारण उपभोक्तामा त्यसप्रतिको चासो धेरै बढेको हुनसक्ने अनुमान गर्न सकिन्छ।
यसरी ग्यास सिलिन्डर प्रयोग घट्दा उद्योगी एवं विक्रेताको आम्दानी खुम्चिए पनि निगमलाई भने फाइदा भएको देखिन्छ। किनकि, सरकारले ग्यासमा सहुलियत दिँदै आएको छ। निगमलाई अर्बौ रुपैयाँ घाटा भइरहेका बेला पनि उपभोक्तालाई सहुलियत दिन भन्दै प्रतिसिलिन्डर ३ सय ३९ रुपैयाँ ६ पैसा घाटा खाएर बेचिरहेको छ।
यो घाटा फागुन १७ देखि झनै बढेर ६ सय ३५ रुपैयाँ ५० पैसा पुगेको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि ग्यासको मूल्य भने बढेर आएको छ। मूल्य समायोजन गर्दा प्रतिसिलिन्डर ६ सय ३५ रुपैयाँ ५० पैसा घाटा बेहोरेर निगमले बेचिरहेको हो।
प्रत्येक महिना १ लाख ५० हजार सिलिन्डर खपत घट्दा पनि अघिल्लो महिनासम्मको घाटा हेर्दा (३ सय ३९ रुपैयाा ६ पैसा) का आधारमा प्रतिमहिना ५ करोड ९४ हजार र सात महिनामा ३५ करोड ६५ लाख ८० हजार बचत भएको देखिन्छ।
यता, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले भने ग्यास सिलिन्डर प्रयोग घट्नुमा विद्युतीय चुल्हो प्रयोग बढेको नभई आर्थिक मन्दीको असर परेको बताउँछन्।
कोभिड संक्रमणपछिको अवस्थामा आर्थिक मन्दी आएको र उपभोक्तामा अघिल्लो वर्षजस्तो खर्च गर्नसक्ने क्षमता घटेका कारण ग्यास सिलिन्डर खपत घटेको दाबी अध्यक्ष मल्लीको छ।अहिले नेपाल विद्युत प्राधिकरणले उद्योगमा समेत पर्याप्तमात्रामा विद्युत उपलब्ध गराउन नसकिरहेको अवस्थामा विद्युतीय चुल्हो प्रयोग बढ्न नसकेको उनको निष्कर्ष छ।
बजारमा पैसा अभाव भएपछि होटल तथा रेस्टुरेन्ट पहिलाको तुलनामा चल्न सकेका छैनन्। धेरैभन्दा धेरै सिलिन्डर प्रयोग हुने ठाउँबाटै माग कम आएको संघको भनाइ छ।