काठमाडौं। ज्वाइँ जीवन आचार्यको जोडबलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आइटी’ (सूचना प्रविधि) विज्ञमा सुनील मिश्र नियुक्त भएका छन्।
नेपाल टेलिकममा आठौं तहमा कार्यरत मिश्रलाई आइटी विज्ञ बनाएर प्रधानमन्त्री निवास बालुवाटार लगिएको हो। यसरी टेलिकमबाट आइटी विज्ञ बनाएर बालुवाटार लगिएको पहिलोपटक हो।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा टेलिकमबाट आइटी विज्ञ लैजाने परम्परा थियो। तर, प्रधानमन्त्री निवास बालुवाटार अहिलेसम्म लगिएको थिएन।
प्रधानमन्त्री दाहालकी छोरी गंगाका पति आचार्यको जोडबलमा मिश्रलाई बालुवाटार लगिएको हो। टेलिकमभित्र हुने हरेक ठेक्कापट्टा तथा अन्य स–साना कामको निगरानी गर्न मिश्रलाई यहाँ ल्याइएको हुनसक्ने बालुवाटार स्रोतले दाबी गरेको छ।
स्रोतका अनुसार टेलिकमभित्र कहाँ कसरी काम हुन्छ भन्नेबारे मिश्र राम्रोसँग जानकार छन्। नयाँ–नयाँ परियोजना, त्यसबाट हुने आर्थिक लाभ/नोक्सानबारे बुझ्न मिश्र उपयोगी हुने देखिन्छ।
‘प्रधानमन्त्रीका ज्वाइँ आचार्यले टेलिकमभित्र आफ्नो हालिमुहाली कायम गर्न मिश्रलाई बालुवाटार पुर्याएका हुन्,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो।
मिश्रले भरतपुर महानगरका मेयर रेणु दाहाल (प्रधानमन्त्री दाहालकी अर्की छोरी) लाई पनि प्रत्यक्ष तथा अपत्यक्षरूपमा सहयोग गरेका थिए। त्यसबाहेक मिश्र र आचार्यको सम्बन्ध दरिलो भएको र टेलिकमका हरेक सूचना आफ्नो पहुँचमा राख्न खोजेको देखिन्छ।
उनी बालुवाटारमा हाजिर हुन थालेको ४५ दिनभन्दा बढी भइसकेको छ। टेलिकमबाट सेवा सुविधा लिने गरी उनलाई बालुवाटार पुर्याइएको हो।
प्रधानमन्त्री कार्यालय स्रोतअनुसार प्रधानमन्त्री दाहालका ज्वाइँ आचार्यसँग निकट रहेकै कारण मिश्रलाई बालुवाटारमा सहज पहुँच भएको हो। नेकपा (माओवादी केन्द्र) निकट मिश्र टेलिकमबाट प्रधानमन्त्रीको आइटी विज्ञ नियुक्त हुने पहिलो कर्मचारी हुन्।
यसअघि टेलिकमबाट कुनै पनि कर्मचारी प्रधानमन्त्रीको आइटी विज्ञ नियुक्त भएको पाइँदैन। तर, प्रधानमन्त्रीका ज्वाइँनिकट भएको र पार्टीगतरूपमा पनि नजिक भएका कारण टेलिकमको आठौं तहमा कार्यरत कर्मचारी प्रधानमन्त्रीको विज्ञमा नियुक्त भएको पाइएको हो।
टेलिकम स्रोतले पनि प्रधानमन्त्रीको आइटी विज्ञमा नेपाल टेलिकमको कर्मचारी नियुक्त भएको कुरा जानकारीमा आएको जनाएको छ।
‘मैले पनि केही समयअघि मात्रै हाम्रै कार्यालयमा कार्यरत व्यक्ति प्रधानमन्त्रीको आइटी विज्ञमा नियुक्त भएको जानकारी पाएको हुँ,’ टेलिकमका एक उच्च अधिकारीले भने, ‘सुनील मिश्र नाम गरेको व्यक्ति हाम्रो कार्यालयमा कार्यरत हुनुहुन्छ तर औपचारिक जानकारी नआएकाले हो नै भनेर ठोकुवा गर्न मिलेन।’