काठमाडौं। नेपाली अटोमोबाइल बजारमा हाल विद्युतीय सवारीको प्रभाव दिनहुँ बढिरहेको छ। हाल नेपाली बजारमा उपलब्ध थुप्रै कम्पनीका दुई पांग्रे विद्युतीय सवारीमध्ये निकै लोकप्रियता कमाइरहेको सवारी हो– सेगवे।
नेपालमा सेगवेका स्कुटर भित्रिन थालेको एक वर्ष पूरा भएको छ। ‘सेगवे नाइनबट’ को नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालिले नेपालमा एक वर्षदेखि स्कुटर भित्र्याउन सुरु गरेको थियो।
यो एक वर्षमा सेगवेले दुई पांग्रे विद्युतीय सवारीका रूपमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ।
हाल नेपाली बजारमा सेगवेका तीन मोडल उपलब्ध छन्। जसमा सेगवे ‘ई१००’, ‘ई१००एल’ र ‘ई१२५’ छन्। त्यस्तै लगभग दुई साताअघि ‘एन१००’ मोडल पनि नेपाली बजारमा सार्वजनिक भएको थियो।
किन लोकप्रिय बन्दैछन् सेगवेका ई–स्कुटर?
छिमेकी देशबाट इन्धन आयात गर्नुपर्ने र नेपालको व्यापार घाटा झन् बढ्दै जाने कारण नेपालमा विद्युतीय सवारी प्रयोग बढाउनुपर्ने आवाज उठ्दै आएको छ। वातावरणीय अनुकूलताका हिसाबले पनि विद्युतीय सवारी फाइदाजनक रहनेमा बहस भइरहेको छ। तर, नेपालमा सेगवे ई–स्कुटरको ‘क्रेज’ बढ्नुमा यीबाहेक यसका आकर्षक फिचरको मुख्य भूमिका रहेको कम्पनीको भनाइ छ।
‘हाम्रा ई–स्कुटरले नेपाली बजारमा बिस्तारै पकड जमाउन थालेका छन्,’ सेगवेका बजार प्रमुख मनिष मुरारकाले क्यापिटल नेपालसँग भने, ‘एक वर्षमै बजार हिस्सा आधा ओगटिसकेका छौं।’
सेगवेका स्कुटर आकर्षक, नयाँ शैली र मौलिक डिजाइनमा उपलब्ध छन्। यी कम्पनीका स्कुटरमा चालक सिटमा नबसेसम्म स्टार्ट हुँदैन भने स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म यो चल्दैन। ई–स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्री–आइपिएक्स ५ ब्याट्री (आइपिएक्स ७०) जस्ता सुविधा उपलब्ध छन्।
सेगवेका स्कुटरमा किलेस सिस्टम उपलब्ध छ। साथै, सुन्दर ढंगले डिजाइन गरिएको साँचोको साथमा रिमोट कन्ट्रोलमा दुईवटा बटन छन्। एउटाले स्कुटरलाई अन÷अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ। सजिलो ह्यान्डलिङ फिचरका कारण पनि यसले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
‘सेगवे ई–१००’ ‘वान अफ द बेस्ट सेलिङ मोडल इन नेपाल’ बन्न सफल भएको थियो। सेगवेका स्कुटरमा रमाइलो सवारी अनुभवका लागि सहज र आरामदायी सिट छन्। बलियो इन्जिन र प्रभावशाली ब्याट्रीबाहेक यी स्कुटर आकारमा ठूला छन् भने सिटमुनि पर्याप्त ठाउँ उपलब्ध छ।
सेगवेका ब्याट्री पोर्टेबल छन् जसलाई झिकेर पनि चार्ज गर्न सकिन्छ। सेगवेका स्कुटरमा अटोमेटिक टायरको विशेषता पनि छ। जसमा १० सेकेन्डसम्म प्रयोग नगरेको खण्डमा आफैं टायर लक हुन्छ र ह्यान्डल लक हुन्छ। त्यस्तै कुनै मानिसले प्रयोग गर्न खोज्यो भने अर्लाम बज्ने फिचर यी स्कुटरमा उपलब्ध छ।
एक वर्षमा १०.३० प्रतिशत बजार हिस्सा
सन् २०२१ मा सेगवे नेपालको बजार हिस्सा शून्य दशमलव २० प्रतिशत थियो। तर, एकै वर्ष सेगवेले ठूलो फड्को मारेको छ। २०२२ अन्तिममा आइपुग्दा बजार हिस्सा १०.३० प्रतिशत पुगेको छ। अन्य सबै कम्पनी मिलाएर २० प्रतिशत बजार हिस्सा हुँदा त्यसमा सेगवेको १०.३० प्रतिशत छ।
एक वर्षमा नेपालभरि ३ सय ५० थानभन्दा बढी बिक्री गरेको सेगवेले यो वर्ष २०२३ मा दोब्बर बेच्ने लक्ष्य लक्ष्य राखेको छ। यसका लागि शोरुम थप गर्दै लैजाने कम्पनीको योजना छ। सेगवेका शोरुम हाल काठमाडौं दरबारमार्गस्थित राइजिङ मल, ललितपुर झम्सीखेल तथा पोखरा र हेटौंडामा सञ्चालनमा छन्।
बिर्तामोड र इटहरीमा समेत शोरुम सञ्चालनमा ल्याएको सेगवेले भक्तपुर, बुटवल र नेपालगन्जलगायत सहरमा शोरुम विस्तारको तयारी गरिरहेको छ। बुटवल र नेपालगन्जमा तत्काल शोरुम सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
यसका साथै सेगवे नेपालले फास्ट चार्जिङ स्टेसनको तयारी पनि गरिरहेको छ। हाल नक्साल सर्भिस सेन्टर र झम्सीखेल शोरुममा फास्ट चार्जिङ स्टेसन रहेको सेगवेले उपत्यका भ्याउने गरी स्टेसन विस्तार गर्ने तयारी गरिरहेको छ। उपत्यकाका विभिन्न १२ ठाउँमा फास्ट चार्जिङ स्टेसन खोल्ने तयारी कम्पनीको छ।
सरल मूल्य र आकर्षक रङ
नेपालमा उपलब्ध सेगवेका स्कुटरको मूल्य हेर्दा मोडेलका आधारमा २ लाख ९१ हजारदेखि ३ लाख ९१ हजार रुपैयाँसम्मका छन्। सेगवे ई१०० को मूल्य २ लाख ९१ हजार, ई११०एलको ३ लाख ६५ हजार, ई१२५ को ३ लाख ९१ हजार र नयाँ मोडल एन१०० को २ लाख ६० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
सेगवे ई११०एल नेपालमा गत सेप्टेम्बरमा लन्च भएको थियो। एन१०० भने दुई साता अघिमात्र भित्रिएको हो। त्यस्तै सेगवेले नेपाली बजारमा ‘डर्ट बाइक’ पनि बिक्री गर्दै आएको छ। सेगवेको डर्ट बाइकको मूल्य भने ६ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
सेगवेका सबै स्कुटर आकर्षक रङमा पाउन सकिन्छ। ई१०० रातो, कालो, सेतो, निलो र सिल्भर, ई११०एल सेतो, मरुन र नेभी ब्लु, ई१२५ सेतो र सिल्भर, एन१०० रातो, सेतो र कालो तथा इेलेक्ट्रिक डर्ट बाइक हरियो, कालो, निलो, रातोलगायत रङमा उपलब्ध छ।
यी सबै मोडलका स्कुटर तथा बाइकमा सेगवेले होली अफर दिइरहेको छ। जसअन्तर्गत स्कुटरमा अधिकतम २० हजार र डर्ट बाइकमा ३० हजार छुट दिइएको छ। इलेक्ट्रिक डर्ट बाइक निकै आकर्षक र पावरफुल रहेको कम्पनीको दाबी छ। त्यस्तै यो बाइकमा आवाज हुँदैन, जसले गर्दा यसले वातावरण प्रदुषणको साथमा ध्वनि प्रदुषण कम गर्न अहत्वपूर्ण भूमिका खेल्नसक्छ।
खर्चका हिसाबले पनि सेगवेका स्कुटर निकै सहज छन्। प्रत्येक दिन ५० देखि ६० किलोमिटर प्रयोग गर्ने व्यक्तिले सेगवे प्रयोग गरे पेट्रोलको तुलनामा उसको वार्षिक लगभग ९० देखि ९५ हजार रुपैयाँसम्म बचत हुने कम्पनीको दाबी छ। सेगवेको टप मोडललाई चार्ज गर्न २.० युनिट बिजुली लाग्छ। यो भनेको २० रुपैयाँबराबर हो।
सेगवेका स्कुटरले प्रकाश कम्पन कम गर्दै सवारीको कडापना र चिसोपनाको सही समायोजन गर्दछ जसले सवारी थर्किएको अनुभव कम हुन्छ। सेगवेका स्कुटर एकपटक फुलचार्ज गर्दा ६० देखि २ सय २० किलोटरसम्म कुद्न सक्छ। ई१०० एकपटक फुलचार्ज गर्दा ६० देखि १ सय किलोमिटरसम्म कुद्न सक्छ।
ठाउँअनुसार यसको गति निर्धारण हुन्छ। त्यस्तै ई१२५ को २ सय २० किलोमिटर छ। यसको मोटरमा दुई वर्ष र ब्याट्रीमा तीन वर्ष तथा स्कुटरमा २० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ।
सेगवे नाइनबट कम्पनी १९९९ मा अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो। यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारीसाधन बनाउने विश्वकै उत्कृष्ट कम्पनीमध्ये पर्छ।
नाइनबट चीनको बेइजिङमा २०१२ मा स्थापना भएको अध्ययन तथा विकास, उत्पादन, बिक्री र सेवा एकीकृत गर्ने एक अत्याधुनिक छोटो दुरीको यातायात उपकरण सञ्चालक हो। २०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे–नाइनबट अस्तित्वमा आएको थियो।
विश्वका ८० देश तथा क्षेत्रमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनी बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, आम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र तियानजिनमा छन्।