म्याग्दी। कतारकी राजकुमारी आश्मा अलथानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छिन्। ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा छ। इलाइट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन्।
काठमाडौंबाट अलथानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकोप्टरमार्फत अन्नपूर्ण–३ दानामा आएका छन्। ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) ले अलथानीको आरोहण टोलीको नेतृत्व गरेका छन्।
‘हाम्रो आरोहण टोलीका दुई सदस्य पोखराबाट सडकमार्ग भएर आउँदै छन्। राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौं,’ पुर्जाले भने, ‘बन्दोबस्ती सामग्री हेलिकोप्टरमार्फत अन्नपूर्ण आधारशिविर पुगिसकेको छ। त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन्।’
यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ। राजकुमारी अलथानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंघा, ल्होत्से, अमादब्लम, मनास्लु, केटुलगायत हिमाल आरोहण गरिसकेकी छिन्।
कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अलथानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन्।
नागरिक अभिनन्दन र बाजागाजासहित गाउँ परिक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का अध्यक्ष रमेश पुर्जाले बताए।
‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गरेको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौं,’ उनले भने, ‘निर्मल विश्वकै साहसिक युवा हुन्।’
दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताए।
ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधारशिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ।
सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलोपटक पाइला टेकेका थिए। अन्नपूर्ण ८ हजार मिटरभन्दा अग्लो हिमाल पहिलोपटक आरोहण भएको हिमाल हो।
नारच्याङका अगुवाले २०६८ मा अन्नपूर्ण हिमाल र आधारशिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारैकिनार आधारशिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए।
फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधारशिविर पुग्न सकिने उक्त पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ।
समुद्र सतहबाट ४ हजार ५ सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधारशिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ।
पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ। रासस