दरबारमार्ग संघीय राजधानीको चिरपरिचत र प्रमुख व्यापारिक गन्तव्य हो। स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने दरबारमार्गमा विश्वप्रसिद्ध ‘ब्रान्ड’ हरूका शोरुम जताततै छन्। यहाा ब्रान्डेड कपडा, ब्रान्डेड सामानदेखि ‘लक्जरियस मल’ हरुका कारण थप चर्चित छ। ‘भिभिआइपी’, ‘भिआइपी’ देखि सर्वसाधारणको केन्द्र बनेको दरबारमार्ग अहिले सुनसान बनेको छ।
राणा र राजाका पालादेखिकै भिआइपी क्षेत्रको चहलपहल घट्नुका पछाडि वर्षौंदेखि गरिँदै आएको ‘पार्किङ’ हट्नु प्रमुख कारक हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अहिले जे गरिरहेका छन्, त्यो राम्रैका लागि राम्रै सोचेर गरेका होलान्। त्यसमा हामी पूर्णरूपमा साथमा छौं। तर, दरबारमार्गको पार्किङको विषयमा उहाँले राम्रोसँग बुझ्नुभएन जस्तो लागेको छ। जसले उहाँलाई यो ठाउँबारे बुझाउनुपर्ने हो, त्यसमा उल्टो बुझााएको निष्कर्ष हाम्रो हो।
दरबारमल, अन्नपूर्ण होटलमा पार्किङको वैकल्पिक व्यवस्था गरेको छ भनेरमात्र पर्याप्त हुँदैन। दरबामार्गको व्यापारका लागि त्यति ठाउँको पार्किङले पुग्दैन। अहिले यहाँको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ हो। यसमा महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्छ।
अन्न्पूर्ण होटलले स्विमिङ पुल भाडामा दिएर सञ्चालनमा ल्याइसकेको अवस्थामा त्यहाँको पार्किङ बाहिरका लागि सम्भावना नै हुँदैन। यस्तो बेलामा महानगरले वैकल्पिक व्यवस्था देखाएर उम्किन मिल्दैन।
अहिले ग्राहकको दरबारमार्गप्रतिको धारणा नै नकरात्मक भइसकेको छ। कसैले दरबारमार्गमा जाउँ वा आऊ भने त्यहाँ पार्किङ छैन भनेर अन्य ठाउँ जाने निधो गर्न थालिसकेका छन्। अर्थात, दरबारमार्ग आउने ग्राहकको गन्तव्य नै परिवर्तन हुन थालेको छ। जसका कारण यहाँको व्यापार–व्यवसाय सुस्ताएको छ। केही रेस्टुरेन्ट तथा व्यावसाय दैनिक १५ प्रतिशतमा खुम्चिन थालेका छन्।
पार्किङ नहटाउँदासम्म दरबारमार्ग क्षेत्रबाट मात्र दैनिक १२ देखि १४ करोडसम्मको व्यापार हुन्थ्यो। यो भनेको एक महिनामा करिब ५ अर्बहाराहारीको व्यापार हो। त्यसबाट १३ प्रतिशत भ्याट त सरकारलाई सिधै जान्थ्यो भने अन्य कर पनि सरकारको राजस्वमा जम्मा हुने गरेको थियो।
अहिले व्यापार घटेर दैनिक २/३ करोडको समेत हुन मुस्किल भएको छ। यसबाट हामी व्यावसायीलाई मात्र होइन, सरकारले पाउने राजस्वसमेत कटौती भएको छ। यो राज्यले नै दरबारमार्गका व्यवसायीप्रति गरेको अन्याय हो।
यसलाई तत्कालै समाधान गरी पुरानै लयमा दरबारमार्गलाई नलैजाने हो भने यहाँका धेरै व्यवसाय बन्द हुन्छन्। यसले व्यवसायी त डुब्यो नै, त्यो व्यवसायमा निर्भर रहेका हजारौं श्रमिक बरोजगार हुने अवस्था आउन सक्छ। यस्तो बेला यसको जिम्मेवारी कसले लिने?
यसकारण चाहिन्छ दरबारमार्गमै पार्किङ
महानगरले अहिले वैकल्पिक पार्किङका रूपमा अन्नपूर्ण होटल, दरबारमल र विश्वज्योति हल अगाडि सारेको छ। तर, ती ठाउँले मात्र दरबारमार्गको फ्लो (आवातजावत) का लागि पर्याप्त हुन सक्दैन।
यसअघि गरेको पार्किङमा ४६ भन्दा बढी गाडी एकसाथ राख्न सकिन्थ्यो भने २/३ सय मोटरसाइकल आवतजावत गरिरहेका हुन्थे। योसँगै ट्याक्सी स्ट्यान्ड पनि थियो।
पार्किङ गर्नेले दिनभरि नै राख्छन् भन्ने त हुँदैन। निश्चित समय आधा घन्टादेखि बढीमा दुई घन्टासम्म गाडी र मोटरसाइकल पार्किङ गर्ने हुन्। जसले ३०/३० मिनेटमात्र मोटरसाइल र गाडी पार्किङ गर्दै जाँदै गर्दा दिनभरिमा हजारौं सवारीसाधन आवतजावत गर्न पाउँथे।
४६ वटा गाडी १/१ घन्टामात्र पार्किङ गर्दा पनि दैनिक ८ घन्टामा ३ सय ६८ वटाले पार्किङ गर्न पाउँछन्। यहाँ यति धेरै बैंक, विभिन्न ब्रान्डका शोरुम, ब्रान्डेड रेस्टुरेन्ट, लाउन्ज, बार, पबसहित होटल सञ्चालन भएको ठाउँमा हजारौं कर्मचारी छन्। तिनीहरूले समेत आफ्नो सवारीसाधन पार्किङ गर्न पाइरहेका छैनन्।
फेरि, दरबामार्गमा अहिले आएर पार्किङ राखिएको पनि होइन। यो सञ्चालनमा आएदेखि नै एक क्षेत्रमा पार्किङको व्यवस्था भएको हो। पाँच लेनको सडकमा एक लेन पार्किङका रूपमा वर्षौंदेखि प्रयोग भइरहेको छ।
विकल्प दिई हटाए मान्छौं
यसो भनिरहँदा हामी महानगरपालिकाले हटाएको पार्किङको विरोधी भएका होइनौं। तर, हामीलाई हाम्रोमा आउने ग्राहकका लागि वैकल्पिक ठाउँ त देखाइदिनुप¥यो नि! जहाँ निर्धक्कसाथ पार्किङ गर्ने व्यवस्था मिल्छ, त्यहाँ हामी सवारीसाधान पठाउन सक्छौं।
अहिले महानगरले दरबारभित्र पार्किङको व्यवस्था गराउने भन्ने सुनिएको छ। जुन हाम्रो लागि निकै उपयुक्त ठाउँ हो। पहिला त्यहाँ दीर्घकालीनरूपमा पार्किङको व्यवस्थापन गरेपछि मात्र यहाँ खाली गराउनुपर्छ।
यसका लागि मेयर साहसँग हामी व्यवसायी छलफल गर्न तयार छौं। तर, उहाँले हाम्रो कुरा सुन्न नै चाहनुभएको छैन। जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि सँगै हुन्छ। त्यसैले एकपटक उहाँसँग छलफल गर्ने वातावरण उहाँनिकटले गरिदिए अहिले चलिरहेको दरबारमार्ग क्षेत्रको आन्दोलन तत्कालै अन्त्य हुन्छ।
‘होराइजोन्टल पार्किङ’ हुनसक्छ विकल्प
पार्किङ हटाउनुमात्र समस्याको समाधान होइन। अहिले भएकालाई नै व्यवस्थित गर्ने उपायमा पनि जानेतर्फ विकल्प ल्याउन आवश्यक छ। संसारका विकसित र व्यस्त सहरभित्र पनि पार्किङको अनिवार्य व्यवस्था गरिएको हुन्छ। काठमाडौं महानगरले पनि त्यसको सिको गर्न आवश्यक देखिन्छ।
दरबामार्गकै कुरा गर्दा अहिले भर्टिकल (ठाडो) गरेर गाडी र मोटरसाइकल पार्किङ गरिँदै आएको छ। बिस्तारै यहाँबाट अन्य ठाउँमा पार्किङ सार्नका लागि अहिलेको व्यवस्थाबाट अर्को सुरु गर्न ‘होराइजोन्टल’ (तेर्सो) पारेर राख्न सकिन्छ।
यसो हुँदा एकचोटिमा ४६ वटा गाडी अट्ने ठाउँमा २०÷२२ वटा गाडी त अट्न सक्छ। यसो हुँदा पनि पहिलो चरणको महानगरको योजनाअनुसार सफल हुँदै पनि जान्छ र व्यापार–व्यवसायमा कुनै असर पनि पर्दैन।
महानगरको हरेक योजनामा दरबारमार्गलाई राम्रो र व्यवस्थित बनाउनुपर्छ भन्ने नै छ। जुन स्वागतयोग्य हो। यसका लागि यहाँका व्यवसायीले कस्तो खालको सहयोग गर्नुपर्छ, त्यसका लागि पूर्णरुपमा तयार छौं। तर, यसरी एकैपटक पार्किङ हटाउँदा हाम्रो भावना र मनसाय बुझ्नै नचाहेको देखियो।
कोभिडले थलापारेको व्यवसाय महानगरको अभियानबाट झनै निराश
कोभिड महामारीपछि जारी रुस–युक्रेन युद्ध र आर्थिकमन्दीले धराशयी बनेको व्यवसायमा काठमाडौं महानगरपालिकाको पार्किङ हटाउने अभियानले झनै थला पारेको छ। बैंकको ब्याज बढेर किस्ता र ब्याज तिर्नै मुस्किल भइरहेका बेला पार्किङ हटाएर व्यवसाय खुम्चिँदा सरकारकाा तर्फबाट कुनै पनि साथ र सहयोग पाउन सकिएको छैन। यस्तो बेला व्यवसाय बचाउन विभिन्न योजना (स्किम) ल्याउनुपर्ने समयमा उल्टै महानगरले पार्किङ हटाएर चलिरहेको व्यवसायसमेत चौपट बनाएको छ। यसले दरबामार्गमात्र होइन, सिंगो काठमाडौंको व्यापार–व्यवसाय नै संकटमा परेको छ। यस्तो बेला बेलैमा सोचेर पलायन हुने स्थितिबाट जोगाउनु राज्यको प्रमुख दायित्व हो।
महानगरले पार्किङ हटाउने अभियान केही ठाउँका लागि राम्रो पनि हो। जहाँ एम्बुलेन्स र दमकलसमेत जान नसक्ने गरी गरिएका पार्किङ हटाएर राम्रो गरेको छ। तर, जहाँ विकल्प हुँदाहुँदै हटाउनु दुर्भाग्य हो। अर्कातर्फ, प्राकृतिक विपत्तिले त्रासमय भएर व्यवसाय नै चौपट भएको अवस्थामा पार्किङ हटाउने निर्णय गलत समयमा भयो कि भन्ने विषयमा पनि महानगरले आत्मासमीक्षा गर्नुपर्ने बेला आएको छ।
(तुलाधर दरबारमार्ग विकास बोर्डका अध्यक्ष हुन्।)