काठमाडौं। कुनै पनि वायुसेवा कम्पनीका जहाजमा ‘बिजनेस क्लास’ सिट भन्नेबित्तिकै ‘लक्जरियस’ र बढी सुविधायुक्त हुने बुझिन्छ। विशेषगरी बढी पैसा खर्च गर्नसक्ने यात्रुले महँगो शुल्क तिरेर बिजनेस क्लासका सिटमा हवाई यात्रा गर्छन्।
सामान्य (इकोनोमी क्लास) सिटभन्दा बिजनेस क्लास सिट महँगो हुने भएकाले धेरैले यस्ता सिटका टिकट खरिद गर्न सक्दैनन्। सेवा सुविधाका हिसाबले पनि यस्ता सिट महँगो हुने गरेको हो।
जहाजमा सबैभन्दा महँगो सिटका रूपमा रहेको बिजनेस क्लासमा यात्रा गर्न रुचाउने धेरै हुन्छन् र व्यावसायिक हिसाबले पनि सम्बन्धित वायुसेवा कम्पनी वा संस्थालाई राम्रो आम्दानी हुने गर्छ।
तर, सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि) सम्भवतः एकमात्र यस्तो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो जसले आफ्ना ‘क्रु मेम्बर’ (चालकदल) लाई आराम गर्न दिन बिजनेस क्लास सिट छुट्ट्याउने गरेको छ।
लामो दुरीका उडानमा चालकदललाई आराम गर्न बिजनेस क्लास सिट दिइनु स्वाभाविक हो तर नेवानिले छोटो दुरीका उडानमा पनि बिजनेस क्लास सिट दिने गरेर आफ्नो आम्दानी आफैं घटाइरहेको छ। नेवानिले बढी आम्दानी हुने बिजनेस क्लास सिटजति सबै क्रु मेम्बरलाई दिएर दैनिक लाखौंको घाटा बेहोरिरहेको छ।
नेवानिसँग रहेका २ सय ७४ सिट क्षमताका दुईथान ‘वाइडबडी’ जहाज ‘ए३३०–२००’ मा १८ वटा र १ सय ५८ सिट क्षमतायुक्त दुईथान ‘न्यारोबडी’ जहाज ‘ए३२०–२००’ मा आठवटा बिजनेस क्लास सिट छन्।
तर, वाइडबडीको एक उडानमा जाने ११ जना र न्यारोबडीमा जाने ६ जना जगेड चालकदल सदस्यले बिजनेस क्लास सिट ओगट्ने गरेका छन्। जसका कारण नेवानिले वाइडबडीमा सात र न्यारोबडीमा दुईवटा मात्र बिजनेस क्लास सिट बेच्न पाउने गरेको छ।
चालकदल सदस्यलाई इकोनोमी क्लास सिट दिन खोजे पनि नमान्ने गरेको र ‘जबर्जस्ती’ बिजनेस क्लासमै बस्न पाउनुपर्ने अडान नछाडेपछि उनीहरूका लागि बिजनेस क्लास सिट छुट्ट्याइएको नेवानि व्यवस्थापनले लाचारी पोख्ने गरेको छ।
नेवानिका अनुसार चालकदल सदस्यका लागि बिजनेस क्लासको सिट न्यूनतम १ लाख ५० हजारका दरले एक उडानमा एकतर्फी वाइडबडी जहाजमा १६ लाख ५० हजार र दुईतर्फी गर्दा ३३ लाख खर्च हुने गरेको छ।
यस्तै न्यारोबडीमा सोही मूल्यमा एकतर्फी उडानमा ९ लाख र दुईतर्फी गर्दा १८ लाख रुपैयाँ खर्च हुने गरेको छ। जुन रकम संस्थाको आम्दानीमा कटौती हुँदै आएको छ।